भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन


नयाँदिल्ली । भारतकी निवर्तमान विदेशमन्त्री सुश्मा स्वराजको निधन भएको छ ।  ६७ वर्षीय स्वराजको मंगलबार राती एम्स अस्पतालमा निधन भएको हो । केही वर्ष अघि किड्नी परिवर्तन गरेकी स्वराजको स्वास्थ्यम समस्या देखिएपछि एम्स लगिएको थियो । राती उनको निधन भएलगत्तै एम्स अस्पतालमा भारतीय नेता र कार्यकर्ताहरुको भीड बढेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री एवं भारतीय जनता दलका अध्यक्ष राजनाथ सिंह, स्वास्थ्यमन्त्री हर्षबर्धन लगायतका नेताहरु रातीनै अस्पताल पुगेका थिए । स्वराज २५ वर्षको उमेरमा सन् १९७७ मा पहिलो चुनाव लडेकी थिइन् । हरियाणबाट चुनाव लडेकी उनी त्यसबेला सबैभन्दा कलिलो विधायक बनेकी थिइन् । त्यसलगत्तै मन्त्री बनेकी स्वराज सन् १९९८ मा दिल्लीको पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् ।
१९९६ मा दक्षिणी दिल्लीबाट सांसद बनेकी स्वराज अटलबिहारी बाजपेयीको सरकारमा १३ दिन सञ्चारमन्त्री समेत बनेकी थिइन् । सन् २००९ र २०१४ मा लगातार भाजपाको तर्फबाट लोकसभा चुनाव जितेकी उनी सन् २०१४ देखि सन् २०१९ सम्म विदेशमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि स्वराजले २०१९ को लोकसभा निर्वाचनमा भाग लिएकी थिइनन् । एजेन्सीको सहयोगमा
 



प्रतिक्रियाहरु