चिनियाँ विदेशमन्त्री आईतवार नेपाल आउँदै


भक्तपुर । राष्ट्रपतिको सम्भावित नेपाल भ्रमणको तयारीका लागि चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आइतबार नेपाल आउँदैछन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आउन लागेका हुन् । लामो समयपछि उत्तरबाट हुन लागेको यो उच्च स्तरीय भ्रमण हो । वाङको भ्रमण नेकपा सरकार गठन भएपछिको १८ महिनामा चीनको तर्फबाट भएको उच्चस्तरीय भ्रमण हो । चिनियाँ राष्ट्रपति सीको अघिल्लो कार्यकालमा पनि विदेशमन्त्री रहेका वाङ सन् २०१४ मा नेपाल आएका थिए ।
वाङ यी को भ्रमणलाई नेपालमा चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ । पाकिस्तान हुँदै नेपाल आउने आउने वाङलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने बताइएको छ । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण उपयुक्त समयमा हुने भनिए पनि मिति निश्चित भइसकेको छैन । परराष्ट्रमन्त्रालयका अधिकारीहरुका अनुसार असोज अन्तिम साता भारत भ्रमणमा आएका बेला सी नेपाल आउने सम्भावना बढेर गएको छ । ‘विदेशमन्त्री वाङको भ्रमणले राष्ट्रपति सीको भ्रमणको वातावरण बनाउन सघाउ पुग्नेमा रराष्ट्र मन्त्रालयका अधिकारीहरु विश्वास छन् ।
विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेट गर्ने छन् । ती भेटहरुमा चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई), चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे छलफल हुने जनाएको छ । नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग भने चिनियाँ विदेशमन्त्री वाङको भेटवार्ता सोमबार हुनेछ । परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा तातोपानी र केरुङ नाकाका अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्टलगायतका भौतिक संरचना, केरुङ–काठमाडौं रेलमार्ग निर्माण लगायतका विषयमा छलफल हुने परराष्ट्र स्रोतले जनाएको छ ।
 



प्रतिक्रियाहरु