प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता शुरु, १० टिम सहभागि


काठमाडौं । ६४ औं प्रहरी दिवस २०७६ को अवसरमा प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सुरु भएको छ । नेपाल प्रहरी खेलकूद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रतिष्ठानमा आइतबारबाट आयोजित एक कार्यक्रमबीच रेफ्रीलाई बल हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले नेपाल प्रहरीले विगतदेखि नै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्दै सफलता हासिल गरिरहेको चर्चा गर्दै खेलकुदको दिगो विकासका लागि खेलाडीको जीवन निर्वाह र व्यवसायिकतातर्फ ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रतियोगिता संचालक समितिका सदस्य प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले खेलकुद प्रतियोगिता सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो ।
    असोज ९ गते समापन हुने प्रतियोगितामा प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, महानगरीय प्रहरी कार्यालय रानीपोखरी र ७ वटै प्रदेश प्रहरी कार्यालय गरी १० टिमको सहभागिता रहेको छ । लिग कम नकआउट चरणको आधारमा खेलाइने प्रतियोगितामा लिग चरणमा ८ खेल, ४ वटा क्वाटर फाइनल, सेमीफाइनलमा २ खेल र फाइनलमा १ खेल गरी जम्मा १५ खेल हुनेछन् ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु