मेस्सीको ह्याट्रिकले बार्सिलोना शीर्ष स्थानमा

कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई १–१ ले हरायो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन मेस्सीले ह्याट्रिक गरे भने सर्जियो बुस्केट्सले एक गोल थपे । सेल्टा डी भिगोका लागि ओलाजाले एक गोल गरेका हुन् ।

मेस्सीले खेलको २३ औं मिनेटमा पेनाल्टीबाट गोल गरे भने ४५ औं र ४८ औं मिनेटमा थप गोल गर्दैं ह्याट्रिक पूरा गरे ।

खेलको ४२ औं मिनेटमा ओलाजाले सेल्टाका लागि एक गोल फर्काएका थिए । त्यसपछि बार्सिलोना लगातार खेलमा हाबी भयो ।
जितपछि शीर्ष स्थानमा पुगेको बार्सिलोनाको १२ खेलबाट २५ अंक भएको छ भने समान २५ अंक जोडेको रियल मड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा रियल म्याड्रिडले आइबरमाथि ४–० को जित निकाल्यो । पहिलो हाफमा तीन गोल गरेको रियलले दोस्रो हाफमा थप एक गोल गरेको हो । रियलका लागि करिम बेन्जिमाले १७ र २९ औँ मिनेटमा गोल गरे भने सर्जियो रामोसले २० औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

रियल मड्रिडका लागि ६१ औं मिनेटमा फेदेरिको भाल्भेर्दीले गोल गर्दै ४–० को जित दिलाए । जितपछि १२ खेलबाट २५ अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमा छ ।

लिग अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा भ्यालेन्सियाले शीर्ष स्थानको होडमा रहेको ग्रानाडालाई २–० तथा एलाभेसले रियल भालाडोलिडलाई ३–० ले पराजित गरेको छ ।



प्रतिक्रियाहरु