विश्व च्याम्पियन पाउलो रोस्सीको निधन

काठमाडौं । इटलीका फुटबल लिजेन्ड पाउलो रोस्सीको ६४ वर्षको उमेरमा निधन भएको छ । १९८२ मा इटलीले विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए, उनले यस विश्वकपमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट पनि जितेका थिए । इटालियन टिभी च्यानल राई स्पोर्टस्ले बिहीबार बिहानै रोस्सीको निधनको समाचार सार्वजनिक गरेको हो । यस टेलिभिजनमा उनी विज्ञका रुपमा काम गर्दै आएका थिए । टेलिभिजन प्रस्तोता इन्निरको भारियलीले भने, ‘निकै भयावह र दुखद् समाचार, पाउलो रोस्सीले हामीलाई छाडेका छन् ।’ यस समाचारलाई सामाजिक सञ्जालमार्फत रोस्सीकी पत्नी फेडेरिका केपिलेट्टीले पुष्टि गरेकी छिन् । यद्यपी रोस्सीको निधनको कारण भने अझै खुलेको छैन ।  १९८२ को विश्वकपमा इटलीले ब्राजिललाई ३–२ ले हराएको खेलमा उनले निर्णायक ह्याट्रिक गरेका थिए । त्यसपछि सेमिफाइनलमा पोल्यान्डविरुद्ध इटली २–० ले विजयी हुँदा दुुबै गोल उनको नाममा थियो । फाइनलमा पश्चिम जर्मनीलाई इटलीले ३–१ ले हराउँदा उनले एक गोल गरेका थिए । आफ्नो उत्कृष्ट प्रदर्शनका कारण उनले विश्वकपमा गोल्डेन बुट तथा १९८२ को बेलोन डि अर र युरोपेली वर्ष खेलाडीको अवार्ड जिते । मंसिर २५ 



प्रतिक्रियाहरु