घामको झुल्कोसंगै पर्यटकीयस्थल नगरकोटबाट भ्रमणवर्षको शुभारम्भ


भक्तपुर । पहिलो घामको झुल्कोसंगै पर्यटकीयस्थल नगरकोटबाट नेपाल भ्रमणवर्ष २०२० को भव्य शुभारम्भ गरिएको छ । नयाँ वर्षको स्वागत र भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा सहभागिहुन सर्वसाधारण देखि स्थानीय तहका प्रमुख, उप प्रमुखहरु, जिल्ला समन्वय समितिका पदाधिकारी, प्रदेश सांसद, संघीय सांसद र नेपाल सरकारका मन्त्रीसम्म अघिल्लै साँझ नगरकोट पुगेका थिए ।


त्यसका अलवा बिभिन्न तहका कर्मचारी, सुरक्षा निकायका प्रमुख देखि प्रमुख जिल्ला अधिकारीसम्मको उपस्थितिले कार्यक्रमको रौनक थपेको थियो । कार्यक्रमको प्रतिक्षामा बसेकाहरु विहान ५ बजेदेखि नै नगरकोटको बतासे डाँडा पुगेका थिए । कार्यक्रममा आन्तरिक र बाह्य पर्यटकको समेम बाक्लै उपस्थिति रहेको थियो । नगरकोट नाल्दुम पर्यटन बिकास समितिका अगुवा धनबहादुर लामाले झिसमिसैमा उधघोषण गर्दै कार्यक्रम अघि बढाएसंगै विशिष्ठ अतिथिहरु कार्यक्रम स्थल पुगेका थिए ।


नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्रयाउने लक्ष्यका साथ सुरु गरेको नेपाल भ्रमणवर्ष सफल पार्न जिल्ला समन्वय समिति भक्तपुर र नगरकोट नाल्दुम पर्यटन विकास समितिको आयोजनामा कार्यक्रमको आयोजना गरेको हो । भ्रमण वर्षको उद्घाटन कार्यक्रमका सहागिले झिसमिसेमै नगरकोटको बतासे डाँडा भरिएको थियो ।


कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहदुर विश्वकर्मा, प्रतिनिधीसभाको सांसद एवं पूर्वमन्त्री महेश बस्नेत, प्रदेश नं. ३ का सांसद सरस्वती बाटी, प्रतिमा श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको सहभागिता रहेको थियो । त्यसैगरी जिसस उपप्रमुख सरिता कुँवर, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, काभ्रेको मण्डन देउपुर नगरपालिकाका प्रमुख टोप बहादुर वाईवा, चाँगुनारायणकी उपप्रमुख विना बास्तोला, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायत नेपाली सेनाको टुकडी र बिभिन्न निकायबाट आएका व्यक्तिहरुले भ्रमण वर्षको भव्य स्वागत गरेका थिए ।


कार्यक्रममा मन्त्री विश्वकर्माले नेपालको झण्डा झण्डोत्तोलन गर्दै सरकारले सुरु गरेको नेपाल भ्रमण वर्षको पहिलो स्वागत नगरकोटबाट गर्न पाउदा खुसी लागेको बताउनुभयो । उहाँले आज नगरकोटको पहिलो घामको झुल्कोसंगै भ्रमण वर्षको स्वागत र सुरु गरेको बताउदै यो भ्रमण वर्षलाई भव्य रुपमा सफल पार्नु पर्ने बताउनुभयो । नयाँनयाँ पर्यटकको गन्तव्यहरु पहिचान गर्दै त्यसको विकास गरि पर्यटकलाई नेपालको सुन्दरता देखाउन सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उहाँको भनाई थियो ।


कार्यक्रममा सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले भक्तपुर अथाह पर्यटकीय संभावना बोकेको जिल्ला भएको बताउदै उहाँले नगरकोट, चाँगुनारायण, मूलाकोटगढी, सूर्यविनायक, रानीकोट, घ्याम्पेडाँडा लगायतका क्षेत्र पर्यटकका लागि आकर्षणको क्षेत्र भएको बताउनुभयो । भक्तपुरको भ्रमणमा आउने पर्यटकलाई चारवटै नगरपालिकाको पर्यटकीय क्षेत्रको भ्रमण गराउने गरि रुट तयार पारेर प्योकजमा पर्यटकको बसाई लम्ब्याउने कार्यक्रम अगाडि सार्नु आवश्यक रहेको बस्नेतको भनाई थियो । 

 
नयाँवर्षसंगै भ्रमण वर्षको अवसरमा भएको कार्यक्रममा हिमाली दृश्यावलोकन गर्ने र सूर्योदय हेर्नेहरुको भीड लागेको थियो । कार्यक्रममा नेपाली सेनाले विगुल फुक्नुको साथै हेलिकप्टरबाट पुष्पबृष्टि समेत गरिएको थियो । त्यसैगरि कार्यक्रममा बिभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै झण्डोत्तोलन समेत गरिएको थियो ।



 



प्रतिक्रियाहरु