पर्यटकीय गन्तव्यको विकासमा हेलम्बु गाउँपालिका सक्रिय

सिन्धुपाल्चोक । आन्तरिक तथा बाह्य पर्यटकको लागि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात हेलम्बुमा थप पर्यटकीय गन्तव्यको विकास गरिएको छ । यही मङ्सिर १८ गते नेरिका एडभेन्चरर्सका आरोहीसतिस मान पतिको नेतृत्वमा तीन सदस्यीय आरोही टोलीले हेलम्बु क्षेत्रको पाँच हजार ६०५ मिटर अग्लो नयाँ बेमेथाङ पिकको सफलतापूर्वक आरोहण गरेको हो । हेलम्बु गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि हेलम्बु हाइसर्किट ट्रेकिङ रुटको विकास गर्ने उद्देश्यअनुरुप उक्त क्षेत्रमा रहेको पाँच हजारदेखि छ हजार मिटर उचाइसम्मका हिमालको आरोहण खुल्ला गर्ने प्रक्रियाको प्रारम्भ गरेको जनाइएको छ । हेलम्बु र लाङटाङ क्षेत्र बीचको नयाँ गङ्गा र पावेल पिक आरोहण बाटो पनि हेलम्बुबाटै चढ्न सक्ने गरी तयार गर्ने क्रममा रहेको जनाइएको छ ।
 
 
हेलम्बु क्षेत्रमा पाँच हजारभन्दा माथिका नौवटा पिक रहेको र उक्त ठाउँमा जाने दोहोरो बाटो निर्माण गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । सेमिसिदाङ, लाङटाङ र हेलम्बु घाङजलापास हुँदै आरोहण गर्न सकिने बाटोको विकास भइरहेको उहाँको भनाइ छ । यसले हेलम्बुलगायत सिन्धुपाल्चोकको पर्यटन विकासमा ठूलो योगदान पुर्‍याउने गाउँपालिकाको विश्वास छ । सिन्धुपाल्चोकमा पर्यटकलाई तान्न सक्ने धेरै रमरणीय क्षेत्र छन् । दूरीको हिसाबले राजधानीबाट नजिकै रहेको हेलम्बु क्षेत्रमा विभिन्न पर्यटकीय आकर्षक गन्तव्य रहेको छ । पुस १६



प्रतिक्रियाहरु