लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै नागरिक अस्पतालमा दिनभर तनाव, राती ११ वजे पाँच लाख आर्थिक सहयोग दिने सहमति


भक्तपुर । लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै शनिवार दिनभर तनावग्रस्त बनेको नागरिक कम्युनिटी अस्पतालको तनाव मत्थर भएको छ । राती ११ वजे अस्पताल व्यवस्थापन पाँच लाख आर्थिक सहयोग दिन सहमत भएपछि अस्पतालको तनाव मत्थर भएको थियो । मध्यपुरथिमि नगरपालिका–३, गठ्ठाघरस्थित अस्पतालमा  बिहीबार भर्ना भएर शुक्रबार शल्यक्रिया गरेर मिर्गौला झिकेका विरामी सिन्धुपाल्चोक ईन्द्रावती नगरपालिका ६ का ५२ वर्षीय रामचन्द्र कोइरालाको उपचारको क्रममा शनिबार मृत्यु भएपछि विरामीका आफन्त र स्थानीयले अस्पताल घेराउ गरेर नारावाजी गरेका थिए ।
विरामीका आफन्तले अस्पतालको आईसीयूमा कार्यरत नर्सहरुको लापर्वाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै अस्पताल घेराउ गरेर नाराबाजी गरेपछि अस्पतालमा दिनभर प्रहरीले सुरक्षा प्रदान गरेका थिए । नाराबाजी, घेराउ गर्ने क्रममा पीडित पक्षले अस्पताल तोडफोड गर्न खोजेपछि बेलुका ७ बजे पीडित पक्ष र प्रहरी बिच घम्साघम्सी भएको थियो । अस्पताल भित्रै पीडित पक्षले नाराबाजी गरेर तोडफोड गर्न खोजेपछि सामान्य बल प्रयोग गर्नु परेको महानगरीय प्रहरी बृत्त थिमिले जनाएको छ ।
मृतक कोइरालाका छोरा सागरले शुक्रबार सफल शल्यक्रिया भएर स्वास्थ्य अवस्था सुधार भइसकेको अवस्थामा नर्सहरुको लापर्वाहीले बाबुको ज्यान गएको आरोप लगाए । उनले गल्ती गर्ने नर्समाथि छानबिन गरी कारबाही गर्नुपर्ने, आउँदा दिनमा यस्ता गल्ती नदोहो¥याउने प्रतिबद्धता गर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै माग पुरा नभएसम्म बाबुको शव नउठाउने बताए । अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. राकेश बर्माले कोईरालाको मृत्युमा अस्पताल र नर्सको कुनै कमजोरी नभएको दावी गर्दै शौचालय गएका बिरामी वेला एक्कासी हदयाघात भएर कोईरालाको ज्यान गएको बताउनुभयो ।
अस्पताल र मृतक पक्षबीच शनिबार अबेररातीसम्म भएको वार्ता असफल भएपछि आफन्तले अस्पताल घेराऊ गरेर नाराबाजी गर्दा अस्पतालका अन्य काममा असर पुगेको थियो । राती अवेर भएको वार्तामा पाँच लाख क्षतिपूर्ति दिने सहमति भएपछि आफन्तले शव उठाएर घेराउ तोडेका थिए । वार्तास्थालमै मृतकका आफन्तले अस्पतालको सिसासमेत तोडफोड गरेका थिए । अस्पताल व्यवस्थापनले भने अस्पतालको तर्फबाट कुनै गल्ती नभएपनि मानवीय हिसावले केहि रकम सहयोग गर्ने सहमति भएको जनाएको छ ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु