छ जिल्लाका ४ सय सामुदायीक बिद्यालयमा दृष्टि जाँच कार्यक्रम


पुष्कर बुढाथोकी
भक्तपुर । बीपी नेत्र प्रतिष्ठानले नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा प्रदेश ३ अन्तर्गतका ६ जिल्लाका सामुदायिक बिद्यालयमा दृष्टि जाँच कार्यक्रम संचालन गर्ने भएको छ । कार्यक्रम भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेपलान्चोक, धादिङ र मकवानपुरमा सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ । भक्तपुरमा सरोकारवालालाई अभिमुखीकरण गरी सुरु भएको अभियान अन्तर्गत बिद्यार्थीहरुलाई दृष्टि जाँच सम्बन्धि तालिम दिई उनीहरुद्धारा नै आफ्ना सहपाठीको दृष्टि जाँच गरिने तालिम संयोजक राम केसीले बताउनुभयो ।
आँखाको समस्याका कारण बिद्यार्थीको पढाई समेत कमजोर हुने गरेको तथ्य उल्लेख गर्दै केसीले बाँके, बर्दिया, सुर्खेत र जाजरकोटमा यो कार्यक्रम संचालन गरिसकिएको छ । केसीका अनुसार, नमुना परीक्षणका क्रममा बिद्यालय पढ्ने २० देखि २५ प्रतिशत बिद्यार्थीमा दृष्टिदोष पाईए पछि यो कार्यक्रम बिस्तार गर्न लागिएको हो । कार्यक्रम देशभर लान सके बिश्वमै उदाहरणीय हुने र त्यो पहल भैरहेको बताउँदै संयोजक केसीले अन्धोपन निवारणमा बिद्यार्थीको प्रयोगबाट प्रभावकारी देखिएको उल्लेख गर्नुभयो ।
प्रत्येक जिल्लाका जुनियर तथा युवा रेडक्रस सर्कल गठन भएका २० वटा बिद्यालयका दरले जम्मा १२० बिद्यालयका गरीब करिब २४ हजार बिद्यार्थीको आँखा परीक्षण गरी निशुल्क आँखा जाँच तथा चश्मा बितरण गरिने भएको छ ।यस हिसाबले एक जिल्लामा २० बिद्यालयका जम्मा ४ हजार बिद्यार्थी समेटिने तर बिद्यालय छनौट गर्दा छात्रा बढी भएका कम्तिमा २ सय बिद्यार्थी भएका सामुदायीक माबिलाई प्राथमिकता दिने परियोजनाले जनाएको छ । परियोजनालाई प्रभावकारी बनाउन प्रत्येक जिल्ला र स्थानीय तहमा अभिमुखिकरण कार्यक्रम संचालन गरी प्राथमिकताको आधारमा बिद्यालय ,स्वास्थ्यकर्मी,शिक्षक बिद्यालय ब्यबस्थापन प्रतिनिधि र बिद्यार्थी छनौट गरी तालिम संचालन गरिने बताईएको छ ।
परियोजन अन्तर्गत बिद्यार्थीद्धारा सहपाठीको दृष्टि जाँच गरी थप उपचार आवश्यक पर्नेको नजिकैको चश्मा पसल र अाँखा उपचार केन्द्रमा थप जाँच गरी दृष्टि कमजोर भएका बिद्यार्थीलाई चश्मा बितरण गरिने केसीले बताउनुभयो । बिद्यालयलाई आँखा जाच्नका लागि बिभिन्न ८ सामग्री पनि उपलब्ध गराईने उहाँले बताउनुभयो । नेपाल रेडक्रसका केन्द्रीय सदस्य तथा भक्तपुर शाखा सभापति मनोज थापाले परियोजना अन्तर्गत नेत्र बिशेषज्ञद्धारा आँखा जाँच तथा निशुल्क चश्मा बितरण गरिने छ ।नेपालमा चेतनाको कमी, उपचार सेवामा पहुँच नपुग्दा, स्वास्थ्यकर्मीको अभाव, चश्मा नलाउने बिभिन्न कारणले बालबालिकामा आँखाको समस्या देखा परी पढाई समेत अबरुद्ध हुने गरेको र जीवन नै जोखिममा पर्ने गरेको उहाँले बताउनुभयो ।समयमै आँखा जाँच नगर्दा र चश्मा नलगाउँदा आँखा अल्छी हुने र पछि उपचार हुन नसक्ने सम्मको जोखिम बढ्ने गर्दछ ।
कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, सुर्यबिनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अन्जनादेवी मधिकर्मी, जिल्ला स्वास्थ्य कार्यालयका पार्थमणी न्यौपाने, नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकी लगायतले परियोजनाको प्रभावकारितामा जोड दिनुभएको थियो । प्रतिष्ठानले सामुदायिक स्वास्थ्य कार्यक्रमको बिद्यालय स्वास्थ्य अन्तर्गत यस कार्यक्रमका लागि अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यु एसए आई डी)को सहयोग प्राप्त गरेको छ । प्रतिष्ठानले लोकन्थलीमा बिगत ७ बर्षदेखि बाल,आँखा,कान,नाक र घाँटी अस्पताल एवं पुनस्थापना सेवा संचालन गरि सम्पूर्ण उमेर समुहका ब्यक्तिका लागि समेत यी सेवा प्रदान गरिरहेको छ ।
प्रतिष्ठानले गाऊँ गाउँमा समेत पुगेर पहुँच नपुगेका नागरिकलाई बाह्य सामुदायिक स्वास्थ्य सेवा मार्फत पनि आँखा तथा नाक, कान घाँटीको स्वास्थ्य सेवा दिईरहेको परियोजना संयोजक बिजय खत्रीले बताउनुभयो । देशभरीबाट स्नायुजन्य अपाङ्गता (दृष्टि,श्रवण अपाङ्गता) भएका ३ देखि ८ बर्षका बालबालिकाको बिभिन्न संजाल र माध्यमबाट खोज गरी छात्रावास सहितको पुर्व बालबिकास सबलीकरण केन्द्रमा निशुल्क जीवन उपयोगी तालिम दिई तथा पुनस्थापना गरी बालबालिकालाई बिद्यालय समेत भर्ना गरेर शिक्षाको ढोका खोल्ने काम पनि गर्दै आएको जनाएको छ ।




 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु