भक्तपुरको सुडालमा सुविधा सम्पन्न स्वास्थ्य चौकी, एक करोड ५६ लाखमा नयाँ भवन बनेपछि बर्थिङ सेन्टर सञ्चालन


भक्तपुर । नेपाल रेडक्रस सोसाईटीले भक्तपुरको चाँगुनारायणमा निर्माण गरेको स्वास्थ्य चौकी भवन नगरपालिकालाई हस्तान्तरण गरेको छ । नगरपालिका वडा नं. ८ सुडाल, भक्तपुरमा नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रतिकार्य कार्यक्रको आर्थिक सहयोगमा निर्माण गरेको स्वास्थ्य चौकी भवन सोमवार उद्घाटन र हस्तान्तरण गरेको हो । ब्रिटिस रेडक्रसको एक करोड ५६ लाख ७१ हजार एकसय ९ रुपैयाँको आर्थिक सहयोगमा सुडाल स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको हो ।
प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले भवनको उद्घाटन गर्नुभएको थियो । भवनको उद्घाटनपश्चात् नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोजकुमार थापाले निर्माण सम्पन्न भवनको साँचो चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रलाई हस्तान्तरण गर्नुभयो । नगर प्रमुख मिश्रले वडा नं. ८ का वडाअध्यक्ष परासर सापकोटालाई सो साँचो हस्तान्तरण गर्नुभएको थियो । भवन उद्घाटन समारोहमा बोल्दै मन्त्री दुलालले राम्रो काम गर्नेको प्रशंसा गर्नुपर्ने बताउँदै नेपाल रेडक्रसका कामहरु प्रशंसनीय रहेको बताउनुभयो ।


प्रदेशभर मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको जानकारी दिदै मन्त्री दुलालले चालू आर्थिक वर्षमा अति विपन्न तथा गरिब एक लाख जनताको निःशुल्क स्वास्थ्य परीक्षण गरिने बताउनुभयो । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले स्वास्थ्य चौकीको भवनसँगै गुणस्तरीय सेवामा ध्यान दिनुपर्ने र त्यसका लागि जनप्रतिनिधिले पनि सहयोग पु¥याउनु पर्ने बताउनुभयो । रेडक्रसले जिम्मा लिएर निर्माण गरेको स्वास्थ्य चौकी भवन समय अगवै निर्माण सम्पन्न हुनु ज्यादै खुशीको विषय भएको बताउँदै चाँगुनारायण नगरपालिका प्रमुख सोम मिश्रले समुदाय र सरोकारवालाको अनुगमन र सहभागिताले समयमै गुणस्तरीय काम भएको बताउँनु भयो ।
नगरप्रमुख मिश्रले यसबाट पाठ सिकेर समयमै सञ्चालित योजनाहरु सक्नका लागि सरोकारवाला अग्रसर हुनुपर्ने बताउनुभयो । चाँगुनारायण नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष परासर सापकोटाले स्वास्थ्य चौकीको भवन निर्माणले वडामै पहिलोपल्ट बर्थिङ सेन्टर सञ्चालन गर्न सहज भएको बताउनुहुदै नेपाल रेडक्रसलाई धन्यवाद व्यक्त गर्नुभयो । नेपाल रेडक्रस सोसाइटीले २०७२ सालको भूकम्पपश्चात् अति प्रभावित १४ जिल्लामा एकिकृत पुर्नलाभ कार्यक्रम सञ्चालन गरेको थियो । रेडक्रसले आवास, खानेपानी तथा सरसफाई, स्वास्थ्य, जिविकोपार्जन, संस्थागत विकासका क्षेत्रमा काम गरेको थियो ।


अति प्रभावित जिल्लामा २७ वटा कर्मचारी बस्ने आवास, बर्थिङ सेन्टर सहितको भवन निर्माण र स्वास्थ्य चौकीको लागि आवश्यक सामाग्री सहयोग गरिसकिएको नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले जानकारी दिनुभयो । रेडक्रसले स्वास्थ्य संस्था निर्माणको लागि फरक–फरक निर्माण कम्पनीलाई जिम्मेवारी दिएकोले समयमै निर्माण सकिएको कार्यकारी निर्देशक ढकालले बताउनुभयो । बर्थिङ सेन्टरका उपकरण तथा फर्निचर खरिदको लागि टेन्डर भएको र टेन्डर प्रक्रिया पूरा भई स्वास्थ्य चौकीमा उपकरण जडान हुन दुईतीन महिना लाग्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोज कुमार थापाले बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका मन्त्री परशुराम पाण्डे, सुडाल उपशाखाका सभापति विदुर नेपाललगायतले बोल्नु भएको थियो । स्वास्थ्य चौकीको भवन उद्घाटन कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि र स्थानीय वासिन्दाहरुको उपस्थिति रहेको थियो । सांग दोर्जे निर्माण सेवा प्रालिले स्वास्थ्य चौकी निर्माणको जिम्मेवारी लिएको थियो ।





 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु