गरगहना सहितको रकम चोरी गरी भाग्दै गरेका दुई जना पक्राउ


भक्तपुर । भक्तपुरबाट चोरी गरेर भाग्दै गर्दा दुई जना पक्राउ परेका छन् । जिल्लाको चागुँनारायण नगरपालिका वडा नं. ८ सुडालको रानीबारीबाट बिभिन्न्न गरगहना सहित रकम चोरी गरी भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक ईन्दावती गाउँपालिका वडा नं. १ घर भई हाल भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक बस्ने २३ वर्षीय दिपक गिरी र चाँगुनारायण नगपालिका वडा नं. ६ का बुद्ध तामाङ रहेका छन् ।
महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरीक्षक(डिएसपी) चक्रराज जोशीका अनुसार, चागुँनारायण नगरपालिका वडा नं. ८ सुडालको रानीबारीमा रहेको सुमन खत्रीको घरबाट करिब ५ तोला सुनका बिभिन्न्न गरगहना, ५ थान मोबाइल, एक थान घडी, २ थान पेन ड्राइभ र ७ हजार ७ सय ९० रुपैयाँ नगद बराबरको धनमाल चोरी गरी भाग्दै गरेका गिरीलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो । यस्तै अर्को एक जनालाई भक्तपुरको कमलविनायकबाट पक्राउ गरिएको हो । घट्नाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यसैगरी, भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नं. ९ नंखेलस्थित श्रीराम श्यामाजुले खेतमा काम गर्ने क्रममा खेतको आलीमा राखेको नगदसहित विभिन्न कागजातको झोला चोरी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु मोतिपुर नगरपालिका वडा नं.७ कोइलिबनगाईका २० वर्षीय शुुशिल कुसुवार रहेका छन् । उनीबाट बरामद भएका सामानहरु एउटा कालो रंगको ल्यापटपको झोला, एउटा घडी, २ थान एटिएम कार्ड, एक थान पर्स, २ थान पेनड्राइभ, जलेका विभिन्न कागजातका टुक्राहरु, नेपाली रुपैयाँ २ सय, अमेरिकी डलर एक थानलगायतका विभिन्न सामान रहेका छन् । पक्राउ परेका अभियुक्त शुशिल कुसुवारलाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइएको छ ।
 



प्रतिक्रियाहरु