भक्तपुरमा दुई ‘स्याटेलाइट सिटी’ निमार्ण हुंदै, डिपिआर तयार


भक्तपुर । भक्तपुरका दुई स्थानमा स्याटेलाइट सिटी निर्माण हुने भएको छ । सरकारले काठमाडौं उपत्यकाका भित्र निर्माण गर्न लागेका चार  ‘स्याटेलाइट सिटी’ मध्ये भक्तपुरमा दुई वटा निर्माण हुने भएको हो । काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार, भक्तपुरमा निर्माण हुने स्याटेलाइट सिटीको बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सम्पन्न भइसकेको छ ।
काठमाण्र्डौ उपत्यकाको पूर्वतर्फ करिब एक लाख रोपनीमा फैलिने गरि सबैभन्दा ठूलो अत्याधुनिक शहर निर्माण हुने भएको हो । संघीय सांसद महेश बस्नेतका अनुसार,  काठमाण्डौं उपत्यकाबाट ‘इशान’ कोणको रुपमा लिइएको यो स्याटेलाईट सिटी भक्तपुरको नगरकोट जाने सडक, तेलकोट सडक, पश्चिमतर्फ जोरपाटी, क्रिकेट मैदान, मूलपानी, गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिने छ । यो कोणस्थित सिटी उत्तरमा साँखु बजार र साँखु जाने मूल सडकसम्म विस्तार हुने छ ।
बस्नेतका अनुसार, यो शहर भक्तपुरको पुरानो थिमिको बाटो, सैनिक प्रतिष्ठान खरिपाटी, भक्तपुर नगरपालिकाको इतापाके जग्गा एकीकरण आयोजनासहितको क्षेत्रमा फैलिने छ । हालै निर्माण सम्पन्न डीपीआर अनुसार यो शहर निर्माणका लागि एक खर्ब खर्च हुने छ । चाँगुनारायण नगरपालिकाको करिब ६० हजार रोपनी तथा भक्तपुर, मध्यपुरथिमि, कागेश्वरी मनोहरा, शंखरापुर नगरपालिका गरि यो सिटी पाँचवटा नगरपालिकामा फैलिनेछ ।  
    सरकारले विकास गर्ने भएको स्याटेलाइट सिटी मध्ये ‘आग्नेय’ कोणको शहर भने करिब १८ हजार रोपनीमा फैलिने छ । यो शहर पूर्वतर्फ भक्तपुरको सूर्यविनायक चोकदेखि सूर्यविनायक गणेश मन्दिर अगाडिको वनक्षेत्रलाई समेट्दै पश्चिमतर्फ गुण्डुको खहरे खोला, नयाँ बालकोट, बिरुवा सडक, पानी ट्यांकी, पुरानो बालकोट, अमरनगर, थिमी हुँदै अरनिको राजमार्गसम्म फैलिनेछ । त्यस्तै उत्तरतर्फ अरनिको राजमार्ग हुदै दक्षिणतर्फ सिलामगाल, रानीकोट जंगलछेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार, बिरुवा हुँदै खहरेसम्म यो शहर फैलिने गरि सीमा निर्धारण गरिएको सांसद बस्नेतले बताउनुभयो ।


यो शहर निर्माणका लागि १० अर्ब रुपिया भन्दा बढी खर्च हुने प्राधिकरणको भनाई छ । सरकारले उपत्यकाभित्रै झण्डै एक लाख ४० हजार रोपनी क्षेत्रफलमा चार वटा नयाँ शहर निर्माण गरि व्यबस्थित बस्ती विकास गर्ने योजना दुई वर्षअघि घोषणा गरेको थियो । सरकारले नयाँ शहर विकास गर्ने क्षेत्रमा ८ आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाउने र नयाँ भवन निर्माणमा समेत रोक लगाएको छ । यद्यपी भूकम्पले क्षति भएका घरहरुलाई साविकको जग्गामा निर्माण गर्न पुर्ननिर्माण प्राधिकरणले दिएको अधिकारलाई दुरुपयोग गरि स्थानीय तहले घर निर्माणका लागि सहमति दिएका कारण सरकारले अघि सारेको नयाँ शहर निर्माणलाई प्रभाव पारेको छ ।
    स्याटेलाइट सिटी निर्माणका लागि सरकारले स्थानीयको जग्गा एकीकरण गरि  विभिन्न अत्यावश्यक पूर्वाधारहरु निर्माण गर्दै व्यवस्थित वस्ती विकास गर्नेछ । सम्पूर्ण पूर्वाधारयुक्त वस्ती विकास पछि स्थानीयलाई जग्गा हस्तान्तरण गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ । स्याटेलाइट सिटीको डीपीआरलाई प्राधिकरण सञ्चालक समितिले पास गर्नेछ । त्यसपछि शहरी विकास मन्त्रीको संयोजकत्वमा रहेको भौतिक विकास समितिले अनुमोदन गरेसंगै मन्त्रालयले डीपीआर मन्त्रिपरिषदमा पेश गर्नेछ । मन्त्रीपरिषदले पास गरेपछि सम्बन्धित नगरपालिकाको नगर प्रमुखको अध्यक्षतामा व्यबस्थापन समिति गठन गरेर काम अघि बयाउँने कानूनि व्यवस्था छ ।
    प्रत्येक बस्तीमा उपभोक्ता समिति निर्माण गरि शहरी विकास मन्त्रालय, निजी क्षेत्र तथा अन्तराष्ट्रिय लगानीकर्ताहरुको समेत लगानीमा शहर निर्माणको काम सुरु गर्ने लक्ष्य प्राधिकरणले लिएको छ । स्याटेलाइट सिटी विकास पछि यस्ता शहरमा जथाभावी घडेरी टुक्रापारी बिक्री गर्न पाईने छैन । बालकोट, गुण्डु, दधिकोट, सिरुटार आग्नेय कोणका लागि चाईनाको प्रतिष्ठित कम्पनीले लगानी गर्न ईच्छा देखाउदै लगानी बोर्डमा आशयपत्र बुझाएको सांसद बस्नेतले जानकारी दिनुभयो ।
    यस्ता शहरमा साइकल लेनसहितको सडक र पूर्वाधारलाई मुख्य प्राथमिकता दिईने, प्रशस्त खुला क्षेत्रहरु राख्ने, आवश्यक खेल मैदान, पार्क, स्वीमिङ्ग पुल, हरियाली, यातायात सञ्जाल, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्यलगायत पूर्वाधार समेतको विकास गरिने छ । स्याटेलाइट सिटीमा आवासीय, व्यापारिक र औद्योगिक क्षेत्रलाई छुट्टाछुट्टै स्थानमा व्यवस्थित गरिनेछ भने विद्युत तथा ईन्टरनेट, टेफिफोन तारलाई अन्डरग्राउन्ड गर्ने, फोहोरमैला आधुनिक तरिकाले व्यवस्थापन गर्ने योजना रहेको छ ।
    भक्तपुरलाई समेटेर दुईवटा स्याटेलाईट सिटीसंगै सरकारले तेस्रो सिटीका १० हजार रोपनी क्षेत्रफलमा ललितपुरमा अर्को शहर विकास गर्नेछ । ललितपुरको पूर्वमा खोकना बुङमति भएर छम्पी जाने बाटो हुदै तत्कालीन वडा नम्बर २ देखि ६ सम्म, पश्चिम र दक्षिणतर्फ वागमती नदीको सीमासम्म र उत्तरतर्फ साविकको सैँबुसम्म यो शहर विस्तार गरिनेछ । ‘नैऋत्य’ शहर नाम दिएको यस क्षेत्रमा पनि १० हजार रोपनीमा फैलिने छ । काठमाण्डौंमा चौथो शहर ‘उत्तर’ को रुपमा सामाखुसी, टोखा सडक हुँदै बाइपाससम्म सीमा निर्धारण गरिएको छ ।
यसको उत्तरतर्फ सपनतीर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म फैलिने, दक्षिणमा ग्रिनल्यान्ड चोकदेखि महादेवखोला काभ्रेस्थली मूल सडकलाई छुनेछ । त्यस्तै पश्चिमतर्फ काभ्रेस्थलीदेखि बाइपास आउने मूल सडकसम्म १० हजार क्षेत्रफलमा यो शहर फैलिनेछ । तीनवटा प्रस्तावित नयाँ शहरको डिपिआर तयार भएपनि अन्तिम ‘उत्तर’ को  डिपिआर भने चालू वर्षभित्र मात्र तयार हुने जनाइएको छ । चारवटा यी शहर निर्माणका लागि करिब २ खर्ब ४० अर्ब रुपैया लाग्ने अनुमान गरिएको छ । आगामी १० वर्षभित्र स्याटेलाईट सिटी विकास गरि यी चार आधुनिक शहरमा पाँच लाख मानिस बस्न सक्ने गरि व्यबस्थापन गर्ने गरि कार्य अघि बढेको प्राधिकरणले जनाएको छ ।

 



प्रतिक्रियाहरु