पञ्चदान पर्वलाई दान दिवसको मान्यता दिनु पर्ने माग


पुष्कर बुढाथोकी
भक्तपुर । बौद्ध धर्ममा विशेष महत्वका साथ वर्णन गरिने पञ्जरां पर्व (पञ्च दान पर्व) लाई नेपालमा दान दिवसका रुपमा मनाइनु पर्नेमा जोड दिइएको छ । भक्तपुरको नपुखुमा नेपाल परम्परागत बौद्धधर्म संघ, भक्तपुर शाखा, सम्यक महादान व्यवस्थापन समिति र नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाद्वारा आयोजित ‘पन्च दान’ विषयक अन्तरक्रिया कार्यक्रममा पञ्जरां पर्व (पञ्चदान पर्व) लाई दिवसकै स्वरुप दिइनुपर्नेमा जोड दिइएको हो ।
हरेक वर्ष गुंलागा त्रयोदशी (भाद्र कृष्ण त्रयोदशी) मा नेपाल मण्डलका बौद्ध धर्मावलम्बी नेवार समुदायले मनाउने यो पर्व हिन्दु धर्मावलम्बीले पनि महत्वपूर्ण पर्वको रुपमा मान्दै आएको र यसले दानलाई महत्व दिएकोले सर्वहिताए दान अभ्यासको प्रवर्दन गर्न यसलाई बृहतरुपले सम्पन्न गर्नुपर्ने विज्ञहरुको भनाइ छ । कार्यक्रममा बौद्ध धर्म विज्ञ पुष्परत्न शाक्यले बुद्ध धर्ममा पञ्जरां ( पञ्चदान ) दिनाले प्राप्त हुने फल का बारेमा व्याख्या गर्दै दान गर्नाले लोभ नाश भई मनमा शान्ति प्राप्त हुने बताउनुभयो ।
महायान बौद्ध सिद्धान्त अनुरुप बुद्ध बन्नको लागि आवश्यक गुण धर्ममा दान सर्वप्रथम आउने हुनाले बौद्ध चर्याको प्रथम अभ्यासको रुपमा यसको परम्परा बसि आएको बताउनुभयो ।उहाँले भननुभयोर्, यसलाई राष्ट्रिय पर्वको रुपमा प्रवर्धन गरिनु पर्दछ । यो दिनमा प्रत्येक घर घरमा बौद्ध झण्डा र बुद्ध मूर्ति राखेर एक राष्ट्रिय पर्वको रुपमा मनाउनु आवश्यक छ । किनकि यस प्रकारको दानपर्व संसारमै कतै पनि देखिदैन ।’ अर्का विज्ञ शान्तरत्न बज्राचार्यले भक्तपुरमा पञ्चदानको हजार वर्ष अघिको प्राचिनता भएपनि राष्ट्रिय अन्तराष्ट्रिय रुपमा यसको प्रचार प्रसार हुन नसकेको भन्दै यसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले भन्नुभयो,–नेपालको सास्कृतिक नगर भक्तपुरको मौलिक र प्राचिन पर्व र जात्राको रुपमा भए पनि यसको उचित प्रचार प्रसार भएको देखिदैन । त्यसैले यसको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार हुनु पर्दछ ।
भाद्र कृष्ण त्रयोदशीका दिन भव्यरूपमा मनाइने पञ्चदान पर्व  बौद्ध धर्मावलम्बीको महत्वपूर्ण एवम् ठूलो पर्वका रूपमा मनाइने गरिन्छ ।पञ्चदान पर्वमा भक्तपुरका पाँच बिहारबाट निस्केका दिपङ्कर दिनभर नगरको विभिन्न तथा बौद्ध बिहारहरुमा परिक्रमा गराई मनाउने परम्परा रहेको छ ।दिपङ्कर बुद्ध भनेर पुजिने बुद्धको पाँच स्वरूपमध्ये भक्तपुरको क्वाठन्डौको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवैही महाविहार, साकोथाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थधुबही महाविहार र दूधपाटीको कथुबही महाविहारबाट निस्किएर बिहानैदेखि नगरको परिक्रमा गरिन्छ । स्थानियले बिहानैदेखि पञ्चदान दिने परम्पराअनुसार शाक्यन, वाहवाही भिक्षुलाई भिक्षा दान दिन्छन् भने पाँच दीपङ्कर बुद्धलाई जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास, ढिके नून, सुन, कपडा, सुपारी आदि गच्छे अनुसार चढाउने परम्परा छ । पञ्चदानलाई स्थानीय भाषामा पंजदान (पंजरां) भनिन्छ । पंजदान भन्नुको मूलकारण ‘पं’ को अर्थ पृथ्वी र ‘ज’ को अर्थ उत्पन्न भएको भन्ने हो । यसदिनमा पृथ्वीबाट उब्जेको अन्न र फलपूmल गरि पाँच प्रकारका वस्तु दान गरिन्छ ।
पूजामा धुप, दीप, गन्ध, र रस, भोजन साममाग्रीमा धान, चामल, गहुँ, क्वाटि, केराउ, मास, पिंडालु, मुला आदि, पेय पदार्थमा सख्खर पानी (सखत), सिसाफल, (फलपूmल), औषाधिमा हल, अवला (अमला), गुलः (औषधि, नून, तेल) तथा अन्य आवश्यक वस्तुमा सियो, धागो, डोरी, कुचो, सेतो कपडा (पानी छान्नें), काषाय वस्त्र, आसन, खरी ढुंगा (चक, दतिवन आदी दान गर्ने परम्परा रहेको छ । बौद्ध धर्मावलम्बीहरू दीपङ्कर बुद्धलाई पञ्चदान गरिसकेपछि साना बालबालिकादेखि वृद्धवृद्धासमेत पञ्चदान भिक्षाग्रहण गर्न लामबद्ध भएर नगर परिक्रमा गरि भिक्षा ग्रहण गर्ने परम्परा छ । परम्परागत गँुला धाँ ः बाजा, दाफा भजन, श्रृङ्गभेरी बाजा बजाएर नगर परिक्रमा गर्ने गर्दछन् । बौद्ध धर्मावलम्बीले यसदिनमा भिक्षाग्रहण गर्नाले धन वृद्धि हुनुका साथै बुद्धत्व प्राप्त हुने जनविश्वास रहेको शाक्य समुदायले जनाएको छ । भक्तपुरमा बुधवार पञ्जरां पर्वको दिन परेको छ ।
पाँच वटा दिपंकर बुद्धलाई भक्तपुरको सूर्यमढी टोलमा ल्याएर राखिन्छ । करिव २ घण्टा राखेर बिभिन्न टोलबाट आएका भक्तजनहरुले पुजा गरिसकेपछि त्यहाँबाट नजिकको टोल टोलमा घुमाउने चलन छ । यतिबेलै तःमार्हीमा गुंलां पर्वमा बजाउने बाजाहरुको प्रदर्शनी गर्ने गरिन्छ । त्यस पछि साकोठाको तिन दोवाटोमा पाँच वटा दिपंकरहरु आ आफ्नो स्थान तिर लगे पछि पंञ्जरां पर्व सम्पन्न हुन्छ ।यो परम्परालाई सहि रुपमा सुसंस्कृत गर्नको लागि दान गर्ने समूहले पनि स्वच्छ र शुद्ध मनले दानको महत्व बुझी दान दिनुपर्ने स्थानीय संघरत्न शाक्यले बताउनुभयो ।
दान लिने व्यक्तिले पनि शुद्धको शील सदाचारलाई अपनाई शीलवान भई दानगाथा पढी दान गहण गर्नु पर्नेर यसका अलावा प्राप्त भएको दानलाई सहि रुपमा सदुपयोग पनि गर्नुपर्नेमा स्थानीय बासिन्दा तथा भक्तपुर एफएम का अध्यक्ष देबचन्द्र बज्राचार्यले बताउनुभयो ।भक्तपुरमा विशेष गरेर दीपंकर बुद्धको नगर परिक्रमा गरिने हुनाले बाटो सफा सुग्घर हुनु आवश्यक रहेको र यसको लागि सम्बन्धित सबैले ध्यान दिनुपर्ने देखिन्छ ,उहाँले भन्नुभयो । स्थानीय, प्रदेश र संघीय सरकारले यो पर्वलाई महत्व दिनुपर्ने आवश्यकता औल्याउदै स्थानीय पदमसुन्दर शाक्यले भक्तपुरका दीपंकार बुद्धहरु १ हजार बर्ष भन्दा पनि बढी प्राचिनता रहेको हुनाले यसको सुरक्षा गर्नको लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी रहेको औल्याउनुभयो ।कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जन, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी,भक्तपुर शाखा दबुका अध्यक्ष रामगोपाल तमखु लगायतले पर्वको महत्व बारे चर्चा गर्नुभयो ।


 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु