नेपाल सम्वतको व्यवहारीक प्रयोग र शंखधर संग्राहलय निर्माणमा जोड


भक्तपुर । नेपाल सम्वतलाई सरकारी कामकाजमा तथा ब्यवहारीक प्रयोगमा ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय विभुति शंखधर साख्वा ः प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको नेपाल संवत एवम् राष्ट्रिय शंखधर संग्राहलय बिषयक बृहत् छलफल कार्यक्रममा सरोकारवालाले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा बोल्दै ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नेपाल सरकारले शंखधरलाई राष्ट्रिय बिभूतिको रुपमा स्वीकार गरी सकेको सन्दर्भमा प्रदेश सरकारले आफ्नो तहमा निर्णय गरी नेपाल संवतलाई ब्यवहारीक प्रयोगमा ल्याउन केन्द्र सरकारलाई सिफारीस गर्ने बताउनुभयो ।उहाँले प्रदेश सरकारले नेपाल सम्वतलाई सरकारी कामकाजमा तथा ब्यवहारीक प्रयोगमा ल्याउन र संग्राहलय निर्माणमा चौतर्फी सहयोगको वातावरण निर्माण गर्ने बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले देशकै नामबाट प्रचलित नेपाल संवतलाई ब्यवहारीक प्रयोगमा ल्याउन बनाईने समितिमा सबै समुदायका सरोकारवालालाई समेटेर अगि बढ्नुपर्ने बताउनुभयो । सरकारले प्रदेश ३ मा शंखधर पार्क बनाउने तैयारी गरिरहेको बताउँदै उहाँले जनताको ऋण मोचन गरेर मौलिक संवत चलाउने ब्यक्तित्व कुनै जात बिशेषको मात्र नहुने उल्लेख गर्नुभयो । कार्यक्रममा पुर्वमन्त्री तथा संघीय सांसद महेश बस्नेतले बिक्रम सम्वत र ईस्वी संवतका तिथीमितिमा समेत तालमेल मिलाएर नेपाल सम्वतलाई आमजनताले प्रयोग गर्ने बिधी खोज्नु पर्नेमा जोड दिनुभयो । नेपाल संवतको ब्यबहारीक प्रयोग र राष्ट्रिय शंखधर संग्राहलय निर्माणका लागि स्पष्ट ऐन, कार्यबिधी र नीति बनाएर जानुपर्नेमा जोड दिंदै आफ्नो तर्फबाट यसका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा पुर्वमन्त्री तथा संघीय सांसद भीमसेनदास प्रधानले शंखधर कुनै जात बिशेषको मात्र नभएको बताउँदै उनलाई नेवार समुदायले आफनो पेवा जस्तो मात्र नबनाएर सबैको साझा बनाउन सक्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा प्रदेश सांसद प्रतिमा श्रेष्ठ र सरस्वती बाटीले सरकारले राष्ट्रिय मान्यता दिएर मात्र नहुने बताउँदै यसलाई प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो । राष्ट्रिय अभिलेखालयका प्रमुख शौभाग्य प्रधानाङ्गले दुई तिहाई जनताको मतबाट बनेको सरकारले जनताको ऋणमोचन गरी शंखधरले चलाएको मौलिक संवतलाई राष्ट्रिय रुपमा प्रयोगमा ल्याउनुपर्ने र बन्न लागेको संग्राहलयलाई अनुसन्धान केन्द्रको रुपमा लैजानुपर्ने बताउनुभयो ।
नेपाल पंचाङ्ग निर्णायक समितिका सदस्य दैबज्ञ किर्तीमदन जोशीले सरकारले पर्व सुधार सहित एउटा आयोग बनाएर नेपाल संवतको प्रयोगमा हुन सक्ने र देखिएका अप्ठ्यारा फुकाउँदै यसको पात्रो र क्यालेण्डर बनाउनुपर्ने बताउनुभयो । सुर्यबिनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले संग्राहलय निर्माणमा नगरपालिकाको सहयोग रहने बताउँदै यसलाई पर्यटकको आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बिज्ञ तथा प्रतिष्ठानका निबर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धरले नेपालको संबिधानमा संशोधन गरी नेपाल संवतबारे उल्लेख गर्नु पर्ने बताउनुभयो ।उहाँले शंखधर र नेपाल संवतलाई सरकारले संरक्षण,संरद्र्धन र प्रबद्र्धनका लागि आर्थिक तथा भौतिक ब्यबस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ,उपाध्यक्ष ज्ञानराम श्रेष्ठ,सचिब ज्ञानकृष्ण श्रेष्ठ लगायतले आफुहरुले राष्ट्रिय रुपमा प्रतिष्ठान बनाएर हालको प्रतिष्ठानलाई हस्तान्तरण गर्न चाहेको बताउनुभयो । प्रतिष्ठानले संग्राहलय निर्माणका लागि सार्वजनिक जग्गा उपलब्ध गराईदिनका लागि स्थानीय,प्रदेश तथा केन्द्र सरकारलाई आग्रह गरेको छ ।कार्यक्रममा यस क्षेत्रका बिज्ञ मल्ल के सुन्दर लगायत अगुवा एबं बुद्धिजीवीको सहभागिता रहेको थियो ।
 



प्रतिक्रियाहरु