‘बेबिलोन स्रष्टा सम्मान सम्पदा संरक्षणवीद् पुरीलाई दिईने


काडमाडौं । ‘बेबिलोन स्रष्टा सम्मान २०७६’सम्पदा संरक्षणवीद् एवम् शिक्षासेवी रवीन्द्र पुरीलाई दिइने भएको छ । शिक्षा, साहित्य, कला, संस्कृति, इतिहास, सम्पदा र विकास र खेलकूदमा उल्लेखनिय योगदान गरेको भन्दै पुरीलाई सो सम्मान दिन लागिएको हो । बेबिलोन नेशनल स्कुल शान्तिनगर, मिनभवनले नगद १५ हजार ५ सय ५५ राशीसहितले पुरीलाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
बेबिलोन नेशनल स्कुल, बेलायती शैक्षिक नियोग ब्रिटिस काउन्सिलबाट सन् २०१५ देखि २०२० सम्मका लागि दुईपटक ‘इन्टरनेशनल स्कुल एवार्ड (आईएसए)’ बाट पुरस्कृत भईसकेको २४ वर्ष पुरानो विद्यालय हो । काठमाडौं उपत्यकाका प्राचीन र ऐतिहासिक सम्पदाहरुको संरक्षणमा अहोरात्र खटिनुका साथै विभिन्न सामुदायीक विद्यालयहरुको निर्माण, जिर्णाेद्वार र शिक्षा विकासमा महत्वपुर्ण योगदान गरेवापत संरक्षणवीद् तथा शिक्षासेवी पुरीलाई ‘बेबिलोन स्रस्टा सम्मान २०७६’ प्रदान गर्न लागिएको हो ।  
यसअघि राष्ट्रगानका रचनाकार व्याकुल माइला र इतिहास तथा संस्कृतिवीद् डा.सत्यमोहन जोशीलाई सो सम्मान प्रदान गरिएको थियो । बेबिलोन नेशनल स्कुल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश आचार्यको अध्यक्षतामा बसेको वैठकले सम्पदा संरक्षणवीद् तथा शिक्षावीद् पुरीलाई नगदसहितको सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो । मंसीर २७ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुन लागेको बेबिलोन नेशनल स्कुलको २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा सम्पदा संरक्षणवीद् पुरीलाई सो सम्मान प्रदान गरिने विद्यालयका प्रिन्सिपल राजु राईले बताए ।
सम्पदा संरक्षणवीद् पुरीले भक्तपुर नगरपालिका वडा नं ३ दत्तात्रयस्थित एउटा कुखुराको खोर किनेर सो घरलाई परम्परागत शैलीमा पुननिर्माण गरि भक्तपुरकै ‘नमुना घर’ बनाएका कारण संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा सांस्कृतिक संगठन युनेस्कोबाट सन् २००४ मा युनेस्को एसिया प्यासिफिक कल्चर हेरिटेज एवार्ड जित्न सफल भएका थिए । यसको अलावा उनी विभिन्न संघसंस्था र सरकारबाट समेत गरि दुई दर्जनभन्दा बढी पुरस्कारबाट पुरस्कृत भईसकेका छन् ।
नेपालमा २०४९ सालमा कानून, इतिहास, चित्रकला र व्यवस्थापन गरि एकैपटक चारवटा विषयमा स्नातक उतिर्ण गरी जर्मनीको ब्रेमेन विश्वविद्यालयबाट विकास नीतिमा स्नातकोत्तरमा विश्वविद्यालय प्रथम भएका पुरी, रवीन्द्र पुरी फाउण्डेशनका संस्थापक अध्यक्ष समेत हुन । सो फाउण्डेशनले प्राचीन सम्पदा संरक्षणको साथै व्यवसायीक शिक्षा र सामुदायीक विद्यालयको उत्थान, शिक्षाको विकास र स्तरोन्नतिको साथै प्राचीन चित्रकला र सम्पदा संरक्षणको लागि संग्रहालय स्थापनाको काम गर्दै आएको छ ।
 



प्रतिक्रियाहरु