रातो मच्छिन्द्रनाथ उपभोक्ता समितिमार्फत पुननिर्माण हुने


काठमाडौं । ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत गराउने भएको छ । सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, संघीय संसदका सांसद पम्फा भुसाल, प्रदेश सभासद जीवन खडका, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, पुरातत्व विभागका प्रतिनिधि, वडाध्यक्ष लगायत सहभागी हुनुहुन्थ्यो ।
यसअघि श्रीलंका सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण अघि बढाइएको थियो । पूर्वयोजना अनुसार मन्दिर पुनर्निर्माण अघि नबढेपछि ठेक्का तोडिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण प्राधिकरणको विशेष प्राथमिकतामा परेकाले रानीपोखरीको मोडेलअनुसार उपभोक्ता समितिमार्फत पुनर्निर्माण गरिने निर्णय भएको जानकारी दिनुभयो । रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणको अनुगमनका लागि प्राधिकरणको नेतृत्वमा समिति पनि गठन गरिने भएको छ ।
सांसद पम्फा भुसालले उपभोक्तामार्फत पुनर्निर्माण गरिने हुँदा रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण पूरा हुने आशा बढेको बताउनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले समयतालिका बनाएर रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण गरिनु पर्नेमा जोड दिँदै आवश्यक सहयोग गर्न महानगर तयार रहेको बताउनुभयो । त्यसैगरी, बैठकमा बुंगमतीको सार्वजनिक पूर्वाधार एवं सम्पदाहरुको पुनर्निर्माण गर्नका लागि तयार गरिएको अन्य गुरुयोजनाबारे छलफल भएको छ ।
संघीय सांसद भुषालले गुरुयोजनालाई स्वीकार गरी गुरुयोजना अनुसार पुनर्निर्माणको कार्य अघि बढाउन उपर्युक्त हुने धारणा राख्नुभयो । उहाँले त्यसका लागि निर्वाचन क्षेत्र पूर्वाधार कोषबाट अधिकतम बजेट राख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । ललितपुर महानगरपालिकाका मेयर महर्जनले महानगरपालिकाका तर्फबाट गुरुयोजनाको स्वामित्व लिने र त्यसका केही मुख्य भाग पुनर्निर्माण गर्न सहयोग गर्ने आश्वासन दिनुभयो । बैठकमा गुरुयोजनाबारे थप छलफल गरेर अन्तिम रुप दिने समझदारी पनि बनेको छ ।

 



प्रतिक्रियाहरु