महाराजगंज र सोह्रखुट्टे प्रहरी वृत्त अव नयाँ कार्यालयमा



काठमाडौं । महानगरिय प्रहरी बृत्त महाराजगंज र सोह्रखुट्टे प्रहरी वृत्तले अव नयाँ कार्यालयबाट सेवा दिन थालेका छन् । ती दुवै भवनको मंगलवार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गर्नुभयो । भवन उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक खनालले दुवै भवन निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने प्रहरी कर्मचारी तथा विभिन्न महानुभावलाई प्रशंसापत्र, नगद पुरस्कार तथा मायाको चिनो प्रदान गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधनगर्दै प्रहरी महानिरीक्षक खनालले सुन्दर भवनको निर्माणसँगै प्रहरीले प्रदान गर्ने सेवा पनि उत्तिकै सुन्दर हुन जरुरी रहेको बताउँनु भयो । खनालले नेपाल प्रहरी राष्ट्र र नागरिक सेवा प्रदान गर्न राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्न सक्षम रहेको उल्लेखगर्दै नेपाल प्रहरी नगरिकको सुरक्षाको लागि अहोरात्र खटिएको र प्राप्त सुविधाहरुको अधिकतम प्रयोग गरेर आगामी दिनमा पनि अझ सुन्दर सेवा दिन प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो  ।


सुरक्षा नै सबै भन्दा पहिलो सर्त रहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, ‘जहाँ सुरक्षित समाज हुन्छ, अनि मात्र त्यहाँ विकास एवम् आर्थिक गतिविधिका क्रियाकलाप हुन्छन् । सुरक्षाको सर्त पूरा गर्नका लागि नेपाल प्रहरी सदैव दृढ एवम् दत्तचित्त भई नागरिकसँग हातेमालो गर्दै अगाडि बढेको छ ।’ नागरिकसँग हातेमालो कार्यक्रमको परिस्कृत रुपमा नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारीको अवधारणा अन्तर्गत विभिन्न गतिविधि समेत संचालन गरेको र स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा ती गतिविधि मार्फत समाजमा शान्ति सुरक्षा कायम साथै अपराध नियन्त्रण गर्न सहयोग प्राप्त भएको समेत उहाँले उल्लेख गर्नुभयो ।
विकास निर्माणका काममा अबरोध पु¥याउने अवाञ्छित क्रियाकलापलाई निस्तेज गर्दै निर्माण सहजीकरण पार्न नेपाल प्रहरी दृढ संकल्पित भई आगडि बढिरहेको प्रहरी महानिरीक्षक खनालको भनाई थियो । अपराध नियन्त्रणमा प्रविधिको प्रयोगका साथसाथै मानवीय उपस्थिति समेत आवश्यक रहेको उल्लेख गर्दै प्रविधियुक्त नवनिर्मित्त भवनबाट उत्कृष्ट सेवा प्रवाह हुने विश्वास प्रहरी महानिरिक्षक खनालको भनाई थियो । भवन उद्घाटन समारोहको अवसरमा महानगरीय प्रहरी वृत्त महाराजगंजमा आयोजित समारोहमा नेपाल प्रहरीको आधुनिकरण तथा सुदृढिकरण परियोजनाका प्रमुख कोमल कार्कीले वृत्तको भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै  डिएफआईडीको सहयोग र युएन ओपिएसको सहकार्यमा करिब ११ करोड रुपैयाँको लागतमा आधुनिक प्रविधियुक्त ५ तले भवन निर्माण भएको जानकारी दिनुभयो ।
समारोहमा धन्यवाद ज्ञापन गर्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले नवनिर्मित्त प्रविधियुक्त भवनहरुले प्रहरी कर्मचारीमा मनोबल बढ्नुका साथै थप क्रियाशील भई कार्य सम्पादन गर्न हौसला प्रदान गर्ने बताउनुभयो ।  महानगरीय प्रहरी वृत्त लैनचौर, सोह्रखुट्टेको भवन उद्घाटन समारोहमा सो वृत्तका प्रहरी नायव उपरीक्षक सन्तोष सिंह राठौरले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै लक्ष्मेश्वर गुठीको नाममा रहेको कार्यालय भवनको जग्गा खरिद कार्यको लागि ११ करोड ३० लाख ५० हजार भुक्तानी गरी गत असार ३० गतेबाट जग्गा समेत बृत्तको स्वामित्वमा आएको जानकारी दिनुभयो । साथै नेपाल सरकारको नियमित बजेटबाट कूल ७ करोड ९३ लाख ७६ हजार ३ सय ७२ रुपैयाँ ९२ पैसाको लागतमा ३१ वटा कोठा सहितको ५ तले उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।
वरिष्ठ नायक राजेश हमालले समेत मन्तव्य व्यक्त गर्नुभएको उद्घाटन समारोहमा काठमाडौं महानगरपालिका वडा नम्बर ३ र १६ का वडा अध्यक्षहरुले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा पुर्व प्रहरी महानिरीक्षकहरु, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, चलचित्रकर्मीहरु, संचारकर्मी एवम् वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको  थियो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु