मध्यपुरथिमि नगरपालिकाले नयाँ प्रविधिबाट शुरु गरेको फोहोर व्यवस्थापन छोटो अवधिमै लोकप्रिय



भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले नयाँ प्रविधिबाट शुरु गरेको फोहोर व्यवस्थापन छोटो अवधिमै लोकप्रिय बनेको छ । नगरभित्रको फोहोर उठाउन नसकेको नगरपालिकाले नेपालमै पहिलो पटक जापानीज प्रविधि अपनाएर फोहोर व्यवस्थापनकालागि पहल गरेको थियो । फोहोरलाई श्रोतमै कुहिने र नकुहिने गरेर दुई भागमा वर्गीकरण गराउने र कुहिने प्रकृतिका फोहोरबाट जापानीज प्रविधि अपनाई कम्पोष्ट मल उत्पादन गर्ने लक्ष्यसहित नगरपालिका आफैँले फोहोर व्यवस्थापनको पहल गरेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताउँनु भयो ।
सो योजना अन्तर्गत नगरपालिकाले अहिले वडा नं. ४ बाट जापानीज प्रविधिबाट फोहोर संकलन गर्ने र व्यवस्थापन गर्ने काम सुरु गरेको छ । यीबाहेक अरु वडामा भने नगरपालिकाले फोहोर उठाउदैन । नौ वटा वडा रहेको नगरपालिकाका अन्य आठ वडाको फोहोर स्थानीय आफैँले पैसा तिरेर निजी कम्पनीमार्फत उठाउँछन् । ‘फोहोरमा ठूलो पैसा खर्च हुन्छ, त्यसैले ढिलै भएपनि प्रविधियुक्त र व्यवस्थित रुपमा फोहोर व्यवस्थापन गर्ने लक्ष्य राखेका छौँ,’ नगर प्रमुख श्रेष्ठले भन्नु भयो ।


प्रमुख श्रेष्ठका अनुसार, नगरपालिकाले फोहोर व्यवस्थापनकालागि रिकिशी कम्पोष्ट प्रालिसँग सहकार्य गरेको छ । रिकिशीले जापानी वैज्ञानिकले पत्ता लगाएको सीएनबीएम प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने गरेको छ । नगरपालिकाले ४ नं. वडाबाट फोहोर व्यवस्थापन थालेको र अब क्रमशः ५, ६ हुँदै अन्य वडाबाट पनि सोही प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने तयारी रहेको श्रेष्ठको भनाई छ ।
फोहोर उठाउनकालागि नगरपालिकाले ३ वटा गाडी खटाएको छ । संकलित फोहोर जम्मा गर्ने र प्रशोधन गरी मल बनाउनकालागि विष्णुकुण्ड नजिकै नगरपालिकाले दुई वटा ट्रष्ट निर्माण गरेको छ । फोहोर उठाउन र प्रशोधन लगायत काममा रिकिशी कम्पोष्ट प्रालिले कर्मचारी परिचालन गरेको छ । ‘प्रविधि, सीप र प्रयोग कम्पनीको हो, हामीले पुर्वाधार र सहजीकरणमात्रै गर्दैछौँ,’ प्रमुख श्रेष्ठले भन्नुभयो ।
नगरपालिकाले नयाँ ढंगले फोहोर व्यवस्थापन गर्न थालेसंगै अन्य धेरै नगरपालिकाका जनप्रतिनिधिहरु यो प्रवधिको अध्ययन गर्न आउँन थालेका छन् । यहाँको फोहोर व्यवस्थापन गर्न दुई जापानी नागरिकसमेत यही खटिएका छन् । ‘प्रविधि उनीहरुको हो, लगानी पनि,’ मेयर श्रेष्ठ भन्नु हुन्छ, ‘हाम्रो फोहोर उठाउन हामीले थोरै सहयोग गरे डम्पिङ पनि कम हुने, स्थानीयलाई रोजगारी र भोलि आम्दानीको श्रोत पनि बन्छ भने किन सहयोग नगर्ने ?’


नगरपालिकाले फोहोर व्यवस्थापनकालागि वर्षेनि खर्च गर्नुपर्ने रकमको केही हिस्सामात्रै खर्च गरे सहजै फोहोर व्यवस्थापन हुने भएपछि यस्तो प्रविधि थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिकालाई जापानी प्रविधिबाट फोहोर व्यवस्थापन गर्न प्रदेश सरकारले ५० लाख रुपैयाँ शशर्त अनुदान उपलब्ध गराएको थियो । सोही बजेटबाट ट्रष्ट निर्माण गरिएको नगरपालिकाले जनाएको छ । यसैबीच सो कम्पोष्ट मलको प्रवर्धन तथा सोहि स्थानमा निर्माण हुने बहुउदेश्सीय भवनको प्रदेश नं. तीनका कृषि मन्त्री दावा लामाले सिलान्यास गर्नु भएको छ ।
 



प्रतिक्रियाहरु