आगलागीमा परेर तीन जनाको मृत्यु


काठमाडौं । पछिल्लो पटक आगलागीमा परेर तीन जनाको ज्यान गएको छ । काठमाडौं महानगरपालिका १३ टंकेश्वर डेरा गरी बस्ने सिन्धुपाल्चोक सानोसिरुवारी नगरपालिका घर भएकी ७८ वर्षीया धनमाया श्रेष्ठको आगलागीमा परी मृत्यु भएको हो । चुरोट सल्काउने क्रममा पर्दामा आगो सल्कन गई आगलागी हुँदा जलेर गम्भीर घाइते भएकी उनको शहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो ।
    दैलेख, नौमुले गाउँपालिका ६ गोगनपानी बस्ने प्रेम बहादुर थापाको घरमा दीपावलीको लागि मैनबत्ती बाल्ने क्रममा आगलागी हुँदा उक्त आगोमा जलेर सोही नगरपालिका १ बस्ने गणेश बहादुर थापाकी ४ वर्षीया छोरी ईश्वरी थापाको मृत्यु भएको   छ । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
    यस्तै मोरङ, केराबारी गाउँपालिका १ सेल्डिङ बस्ने ४९ वर्षीया हस्तमाया मगरको घरमा आगलागी हुँदा सोही आगलागीमा जलेर उनको मृत्यु भएको छ । आगलागीबाट घर, घरभित्रका सम्पूर्ण सरसामान जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  
उता पाँचथर र दाङका विभिन्न स्थानमा भएका आगलागीबाट करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । पाँचथर, याङवरक गाउँपालिका ४ थर्पु बजार बस्ने धन बहादुर सिगुको घरमा मंगलबार दिउँसो आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । दाङ, गढवा गाउँपालिका ४ अजगढवा बस्ने राकेश नेपालीको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु