जोखिममा एसईईको गरिमा

 
   बाबुकाजी कार्र्की
                                                                                 
 
विगतका एसएलसीको र अहिलेको एसईइको गरिमामा आकाश जमिनको फरक पाइन्छ। गुणस्तरीय शिक्षाको सुनिश्चितताको लागि सरकारले अनेक प्रयाश गर्दा पनि एसईईको गरिमा जोखिममा पर्नु पक्कै पनि चिन्ता र चिन्तनको विषय बन्नु पर्दछ।  एसईईमा प्रश्नपत्र आउट र चिटको चर्चा किन व्यापक हुन्छ ? कारण खोजिनु पर्दछ । चिट चोर्न चोराउन विद्यार्थी शिक्षक र अभिभावक किन मरिहत्ते गर्छन् ? बहसको विषय बन्नु पर्दछ । परीक्षा सञ्चालन समयमा गरिने कडाई चिट निराकरणको एक मात्र उपाय हो त ? सार्थक अध्ययन अनुसन्धानबाट समस्याको जरो र समाधानको चुरो पहिल्याउन विलम्व भैसकेको छ । शैक्षिक विकृति विसंगतिरुपी रोगको एक लक्षण मात्र  हो सदाबहार चिट लोकप्रीयता । पाठ्यक्रमले तोकेको सिकाई उपलव्धी हाँसिल गर्ने गरी तोकिएको समयावधी पठनपाठन गरेर विद्यार्थीलाई सहज परीक्षा दिने गरी सक्षम बनाउन असफल हुनुको विकल्प हो चिट । यस प्रकार चिटको दोषी विद्यार्थीलाई मात्र बनाएर अन्य सरोकार पक्ष उम्किन खोज्नु अक्षम्य भूल हो । अर्कोतर्फ चिट चोर्नु चोराउनु र चोर्न विवस बनाउने सबै गतिबिधी एक प्रकारको शैक्षिक भ्रष्टाचार हो । चिट चोरर पास हुनु र सुन्नियर मोटाउनु एकै हो । चिट चोरेर अधिक अंक ल्याएर सफल भए पनि पछि व्यवहारमा असफल हुंदाको ग्लानीयुक्त यर्थातता व्यहोर्दाको क्षण पश्चातापपूर्ण हुन्छ । तसर्थ वास्तवमा चिटले गर्दैन कसैको हित ।
 
विगतमा एसईईका प्रश्नपत्रहरु फाट्टफुट्ट बाहिरिए पनि अहिले योजनाबद्ध र श्रृंखलाबद्धरुपमा बाहिरिनु व्यवस्थित र मर्यादित परीक्षा संचालनमा गंभिर चुनौति देखिएको छ। कक्षा १०को एसईई प्रदेश र कक्षा १२को परीक्षा संघले संचालन गर्ने कानुनी प्रावधान भएता पनि यस वर्ष अनिवार्य विषयको प्रश्नपत्र प्रदेशअनुसार फरक र ऐच्छिक विषयको अधिराज्यभर एउटै प्रश्नपत्रबाट परीक्षा हुने गरी पनिकाले व्यवस्थापन गरेको् थियो । प्रदेश २ का ७० हजार भन्दा बढी परीक्षार्थीको परीक्षा पुनः लिनु पर्ने भएको छ । अन्य प्रदेशका परीक्षार्थीहरुमा पनि प्रश्नपत्र र परीक्षाको बारेमा कति खेर के हुने हो भन्ने आशंका र अन्यौलताले संशकित पार्नु अस्वभाविक हैन्। विभिन्न तहमा गठित छानविन समितिले   अहिले प्रदेश २ को प्रश्नपत्र आउट प्रकरणलाई प्रदेश र केन्द्रका पदाधिकारी बीच जिम्मेवारी पन्छाउने आरोप प्रत्यारोप गर्नु सट्टा साझा समस्या र चुनौतिकोरुपमा समाधानको उपाय खोजिनु जवाफेहिता र दुरदर्शिता हो।   
 
विद्यालय शिक्षाको अन्तीम परीक्षाको रुपमा विगत ८ दशक भन्दा लामो समय देखि राष्टियस्तरमा संचालन हुदै आएको एसएलसी परीक्षा विगत दुई वर्ष देखि एसईईको नामबाट संचालन हुन थालेको छ।  शिक्षा ऐनमा आठौं संशोधन भए पश्चात कक्षा १०मा एसईई र कक्षा १२ मा एसएलएसी परीक्षा हुने भएको छ । एसईईको नतिजा प्रकाशन कोही पनि फेल भनेर घोषणा नगरिने गेडिंग प्रणालीमा रुपान्तरण गरिएता पनि चिट चोर्ने चोराउने संस्कारमा कमी आउने छाँट देखिंदैन । फलामे ढोकाको रुपमा चित्रित यस परीक्षामा अधिकतम अङ्क ल्याएर उत्कृष्ठ स्थानमा हांसिल गर्न कतिपय परीक्षार्थी र अभिभावक शिक्षक समेतले परीक्षामा अमर्यादित गतिविधी गर्ने गरेका उदाहरण बग्रेल्ति पाइन्छ।  परीक्षा संगसंगै चिट चोर्ने चोराउने प्रसंग विगत देखि नै उतिकै चर्चाको विषय बन्ने गरेको छ । यसवर्षको एसईई परीक्षामा प्रदेश २ माइतिहासमा नै रेकर्ड कायम गर्ने गरी विज्ञान र सामाजिक विषयको प्रश्नपत्रहरु श्रृंखलाबद्धरुपमा आउट हुनुले प्रश्नपत्रको सुरक्षा र गोपनियतामा चरम लापर्वाही भएको उजागर भएको छ। परीक्षा अनुशासित एवं मर्यादित किसिमले संचालन गर्न भन्दै अनुगमनको नाममा केन्द्र देखि स्थानीय तहका विभिन्न पदाधिकारी, राजनीतिकर्मीहरुको लावालस्कर परीक्षा केन्द्रमा गएका फोटोहरु सामाजिक संजालमा बग्रेल्ति देखिएता पनि  चिट चोर्ने चोराउनेको चर्चा र संख्यामा कमी आएको छैन्। बर्षभरी हुने पठनपाठनको गति र प्रगतिको बारेमा विद्यालयमा अनुगमन नगर्ने तर परीक्षा समयमा मात्र अनुगमन रवाफ देखाउने नीति र नियत प्रति टीठ लाग्दछ।  राष्ट्रियस्तरमा सञ्चालित लाखौं परीक्षार्थीलाई हजारौंसंगकोा सहकार्य र सहयोग सम्पन्न हुने एसर्ईईको बेथितिको व्यवस्थापन अहिले पर्याप्त कर्मचारी विना नै कामचलाउ अवस्थामा रहेको  पनिकाले मात्र गर्न सक्दैन। प्रदेश र स्थानीय तहमा समयमा नै पर्याप्त कर्मचारीको व्यवस्था नहुनु, एसईई संचालनको जिम्मेवारी कानून र व्यवहारमा फरक भएकोले अन्यौलता बढ्नु पनि यस वर्षको परीक्षा संचालनमा अन्यौलता र व्दिविदा बढेको हो।    
चिट चोर्ने चोराउने तथा परीक्षालाई विथोल्ने जो कोहीलाई कसुर अनुसार परीक्षा बाट निस्कासन तथा ६ महिना सम्म जेल सजाय वा एक लाख सम्म जरिवाना गर्ने प्रावधान रहेको छ । अनि मर्यादित परीक्षा सञ्चालन गर्ने उत्कृष्ट विद्यालयलाई पुरष्कृत गर्ने नीतिले परीक्षा सञ्चालनमा सुधार आउने अपेक्षागर्न सकिन्छ । शैक्षिकशत्र भरी हुने पठनपाठनलाई प्रभावकारी बनाउन सरोकार पक्ष उदासिनताको प्रतिफलहो चिट। शिक्षक, अभिभावक, विद्यालय तथा नीति निर्माताले विद्यार्थीलाई केन्द्रविन्दुमा राखेर इमान्दारीपूर्वक शैक्षिक गतिबिधी सञ्चालनले मात्र परीक्षाको समयमा धेरै चर्चामा आउने चिटींग संस्कारलाई निरुत्साहित गर्न बल पुग्दछ ।  
परीक्षालाई अधिकतम उपलब्धीमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहन्छ । छोराछोरीलाई अनावश्यक दवाव नदिने, उनीहरुको आहार विहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको सहजता प्रदान गर्ने  तथा उत्साह र ढाढस दिएर मर्यादित रुपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारी भित्र पर्दछ । जसले विद्यार्थीलाई परीक्षा देखि डराउने रोग एक्जामफोविया हुनबाट बचाउंछ । यस मानेमा एसईई अभिभावकको लागि पनि एक समझदार अभिभावक भए नभएको जाँचिने परीक्षा हो भन्दा अन्यथा नहोला ।
विद्यालयले पनि विद्यार्थीको रुची क्षमता अनुसारको विषयको छनौट तथा परीक्षालाई सहजरुपमा सामना गर्नसक्ने योग्यताको विकास गराउनु पर्दछ । विद्यार्थीको वैयक्तिक विभिन्नता तथा उसको प्रगतिको गति र क्षमताको आधारमा पठन पाठनको  अभ्यास गर्ने अवसरको चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धी  उच्च हुने यर्थाथता हो । किनकि एसईई नतिजाको आधारमा विद्यालयको छवी  सरकार र समुदायमा कायम हुने गरेको छ । तसर्थ आफ्ना विद्यार्थीको उपलव्धिस्तर उच्चतम बनाउन अधिकाधिक सकारात्मक प्रयास गर्नुपर्ने हुन्छ।
प्रश्नपत्र निर्माणमा बैज्ञानिकता, बस्तुनिष्ठता  तथा गुणस्तरियताले पनि परीक्षाको नतिजालाई असर पार्द छ। व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहाद्र वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवं उनीहरुले परीक्षार्थीलाई गर्ने व्यवहारबाट  परीक्षाको गुणस्तरीयताको हैसियत निक्र्यौल गर्दछ । विद्यार्थीले परीक्षालाई सामान्यरुपमा आत्मसात गर्ने खालको वातावरण बनाउन सकेमा पनि चिट संस्कारलाई निरुत्साहित गर्न टेवा पुग्दछ ।
एसईई प्रत्यक्षरुपमा विद्यार्थीको लागि मात्र फलामे ढोका भए जस्तो लागेता पनि परोक्ष रुपमा राज्यले विद्यालय शिक्षा सम्बन्धि अख्तियार गरेको नीति नियम तथा कार्यव्रmम  जाँच्ने कसी पनि हो । त्यस्तै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकले विद्यार्थीको पठनपाठनमा कतिको योगदान पु¥याउन चासो देखाए भन्ने  कुराको एकिन गर्ने एक  सशक्त सूचक  विद्यार्थीले प्राप्तगरेको प्राप्ताङ्क र उत्तीर्ण प्रतिशत नै हो । तसर्थ एसईई विद्यार्थीको लागि मात्र परीक्षा नभएर  सम्बन्धित निकाय, विद्यालय, शिक्षक, अभिभावक लगायत सरोकारपक्षको पनि परीक्षा हो । असफलताको प्रत्यक्ष क्षतिको भागेदार विद्यार्थी भएता पनि परोक्ष रुपमा अन्तत्वगत्वा समग्र राष्ट्रलाई पर्छ ।  यसको सही विश्लेषण र व्याख्या गरी आ आफनो जिम्मेपारी र जवाफदेहिता बहनगर्न ढिलो भैसकेको छ। एसईईलाई मर्यादित एवं अनुशासित रुपमा सञ्चालन गर्न ंसबै क्षेत्रबाट इमान्दारीपूर्वक आ–आफ्नो भूमिका निर्वाह गर्न सक्यौें भने  विद्यार्थीले कर र डर ले नभइ रहरले परीक्षा दिन उत्साहित हुन्छन् ।



प्रतिक्रियाहरु