वैज्ञानिक आविष्कारमा प्रशासनिक झमेला

 

 

विज्ञानले मानिसलाई नयाँ ज्ञान दिन्छ । ज्ञानलाई प्रविधिको रूपमा विकास गरेर नागरिकको दैनिकीसँग जोड्नुपर्छ । प्रविधिको प्रयोगले मात्रै मानिसको जीवन सफल र समृद्ध बन्छ । हाम्रो देश विज्ञान र प्रविधि दुवै क्षेत्रमा निकै पछाडि छ । पछिल्ला वर्षमा प्रविधिको प्रयोग बढेको छ, तर स्वदेशी लगानीबाट विकास गरिएको प्रविधिलाई प्रोत्साहन गर्ने वातावरण बनेको छैन । बरु विदेशी प्रविधिको नक्कल गर्ने क्रम बढेको छ । विज्ञानको क्षेत्रमा सरकारी लगानी निकै कमजोर छ । 

हामीकहाँ उपलब्ध विज्ञान शिक्षा प्रभावकारी छैन । गाउँ–गाउँका विद्यालयमा तल्लो तहदेखि नै विज्ञान विषय पढाइ त हुन्छ, तर प्राप्त ज्ञानको प्रयोग हुँदैन । विज्ञानको सूत्र विद्यार्थीलाई घोकाएर प्रविधिको विकास हुनै सक्दैन । विद्यार्थीले पढेका वैज्ञानिक ज्ञान आफैँले प्रमाणित गर्न पाउने उचित ल्याब हामीले निर्माण गर्नुपर्ने हुन्छ । हामीले विज्ञान पढेर शिक्षक हुने लक्ष्य राख्छौँ । अझ वर्षभरि पढेको ज्ञानलाई तीन घन्टाको परीक्षामा सीमित गराइएको छ ।

मलाई विज्ञानजस्तो प्रयोगात्मक विषयमा पनि तीन घन्टा परीक्षामा सहभागी भए पुग्ने शैक्षिक प्रणाली नै गलत लाग्छ । विज्ञान विषय पढ्नलाई नेपाल निकै खर्चिलो छ । तर, त्यही विषयको पढाइ सकेर पनि हामीसँग दुईवटा मात्रै विकल्प हुन्छन्, कि विदेश जाने कि मास्टर बन्ने । नेपालमा विज्ञान पढेको जनशक्ति जति छ, उसमा अनुसन्धानको रुचि ज्यादै कम मात्र छ । कसैले प्रेरणा पनि गर्दैन । सरकारी शैक्षिक निकायमै अनुसन्धानका लागि पर्याप्त स्रोत–साधनको व्यवस्था गरिएको छैन । अनुसन्धान केन्द्रित कार्यक्रम एकदमै थोरै सञ्चालित छन् । विद्यार्थीले खोज–अनुसन्धानमा लाग्न चाहे पनि त्यस्तो वातावरण छैन । परिवारले पनि लगानी गरिदिन सक्दैन र सरकारले पनि त्यसतर्फ ध्यान दिएको छैन । 

विज्ञानबाट प्राप्त ज्ञानका आधारमा प्रविधिको विकास गरिन्छ । तर, सरकारले स्वदेशी प्रविधिलाई प्रोत्साहन गरेको देखिँदैन । कतिपय परम्परागत उपकरण नै आधुनिक प्रविधियुक्त छन्, हामीकहाँ । तर, त्यस्ता उपकरणलाई समेत निरुत्साहित गरेर विदेशी प्रविधिलाई बढावा दिइएको पाइन्छ । प्रविधिमा आएका उपलब्धिलाई लागू गर्न सकिएन भने त्यहाँ भएको लगानी निरर्थक हुन्छ । सैद्धान्तिक ज्ञानले मात्रै समाजको विकास हुँदैन । प्राविधिक र व्यावहारिक ज्ञान मात्रै होइन, प्रयोग पनि बढाउनुपर्छ ।

विज्ञान आफैँमा सधैँ नयाँ–नयाँ कुरा सिकिरहनुपर्ने क्षेत्र हो । यो स्रोत, साधन र अभ्यासबाटै नयाँ आविष्कार गर्ने क्षेत्र हो । नयाँ दिन, नयाँ अनुभव र खोज भएको खण्डमा मात्रै आविष्कार सम्भव छ । शक्तिशाली भनिएका देशको मुख्य आधार नै विज्ञान र प्रविधिको प्रयोग हो । नेपालमा त्यो बुझाइ र वातावरण छैन । हामीले बनाएको स्याटलाइटकै कुरा गर्दा पनि यही बनाउन उपयुक्त वातावरण पनि हामीकहाँ छैन । यहाँ आवश्यक स्रोत–साधन पर्याप्त छैन । म आफैँ पनि स्वदेशमै प्रयास गर्दागर्दै देशका लागि केही गर्नुपर्छ भन्ने सोचले प्रेरित भएर यहाँ आएको हुँ । केही वर्षको अध्ययन सकेपछि स्वदेश फर्किने र नेपालमै अनुसन्धानको वातावरण बनाउने मेरो लक्ष्य छ । तर, स्रोत–साधन व्यवस्थापनमा सरकारले वातावरण सहज बनाइदिनुपर्छ । 

नेपालमा तत्कालै नयाँ आविष्कार सम्भव होलाजस्तो छैन । सक्षम जनशक्ति स्वदेशमा बस्न नचाहने एउटा समस्या हो । विदेशमा आएर नेपालीले नै गर्न सक्ने काम नेपालमै किन हुन सक्दैन त ? के नेपाली वैज्ञानिकले स्वदेशमा कामै गर्न नचाहने होलान् ? यस्तो कदापि हुन सक्दैन । थोरै सिकेपछि अरू थप ज्ञान लिन आवश्यक ल्याब र उपकरण नेपालमा छैनन् । न त पढेपछिको भविष्य नै नेपालमा सुरक्षित छ । त्यसै कारण थोरै पढेपछि नेपाली युवा बिदेसिनैपर्ने अवस्था सिर्जना हुन्छ । पिएचडी सकेपछि काम खोज्न भाैँतारिनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले ठोस योजना ल्याउनैपर्छ । कुनै पनि देश छैन, जहाँका नागरिक विज्ञान र प्रविधिको विकासविना समृद्ध बने होलान् ।

आयातीत प्रविधिले कहिलेसम्म धान्ने ? विदेशबाट आयातीत प्रविधिभन्दा सरल र सस्तो खर्चमा स्वदेशी उपकरण बनाउन किन सकिन्न ? यसतर्फ गहिरो अध्ययन गर्न जरुरी छ । हुन त अनुसन्धान मात्रै गरेर पनि पुग्दैन । प्राप्त उपलब्धिलाई परीक्षण र बजारीकरण गर्न सक्नुपर्छ । नेपालमा अनुसन्धान गरे पनि परीक्षण गर्ने निकाय नहुँदा समस्या छ । सामान्य ल्याब टेस्टका लागिसमेत विदेश जानुपर्ने, खर्चिलो हुने आदि कारणले स्वदेशमै खोज–अनुसन्धानका काम अघि बढ्न सकेका छैनन् । अहिले नास्टले नै अध्ययन गरेका कतिपय उपलब्धिको पनि बजारीकरण भएको छैन । हामीले समयको महŒव बुझ्न सकेका छैनौँ । इन्टरनेटको पहुँच बढेको छ, तर त्यसबाट फाइदा लिन सक्ने गरी सिकाइ भएको छैन । 

सैद्धान्तिक ज्ञानले मात्रै समाजको विकास हुँदैन । प्राविधिक र व्यावहारिक मात्र होइन, प्रयोग पनि बढाउनुपर्छ । शक्तिशाली भनिएका देशको मुख्य आधार नै विज्ञान र प्रविधिको प्रयोग हो । नेपालमा त्यो बुझाइ र वातावरण छैन । हामीले बनाएको स्याटलाइटकै कुरा गर्दा पनि हामीकहाँ उपयुक्त वातावरण छैन ।

मैले विदेशमा विज्ञानप्रतिको बुझाइ नै फरक पाएको छु । जाक्सामा हामी आउँदै छौँ भनेपछि उनीहरूले नेपालको झन्डा लिएर स्वागत गर्न बसेका थिए । मुख्य कुरा संस्कार रहेछ । हामीले स्वदेशमा विज्ञान विषय उपेक्षित भएको महसुस गरेका छौँ । तर, जापानमा अन्य क्षेत्रको तुलनामा विज्ञान क्षेत्रमा काम गर्न आउनेलाई फरक दृष्टिकोणले हेर्ने र सम्मान गर्ने संस्कार रहेछ । वर्तमान सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा अघि सारेको छ ।

सबै नेपाली सुखी हुने र समृद्ध देश बन्ने कुरा विज्ञान र प्रविधिको प्रयोग नगरी सम्भव होला ? यसतर्फ अहिलेको सरकारको ध्यान पुग्नु जरुरी छ । कतिपय विषयमा नीतिगत परिवर्तनकै खाँचो छ । हामीकहाँ एउटा विद्यार्थीले अनुसन्धानका लागि छात्रवृत्ति प्राप्त गर्ने हो भने अनुसन्धानमा भन्दा त्यो रकम प्राप्त गर्न धेरै धाउनुपर्ने हुन्छ । कागजी प्रक्रियामै बढी समय लाग्छ । अहिले भइरहेको विज्ञान क्षेत्रको लगानीलाई मात्रै सदुपयोग गर्ने हो भने पनि धेरै उपलब्धि हासिल गर्न सकिन्छ । विज्ञान क्षेत्र निरन्तर प्रयासपछि मात्रै उपलब्धि प्राप्त गर्न सकिने क्षेत्र हो ।

निरन्तर लगानीको वातावरण नभएसम्म उपलब्धि प्राप्त हुँदैनन् । हामीबीच छलफल पनि भइरहेको हुन्छ, सरकारले स्वदेशमै लगानी गरिदिने र स्रोत–साधनको व्यवस्था गरिदिने हो भने विदेशमा अध्ययनरत धेरै वैज्ञानिक साथी स्वदेश फर्किन राजी छन् । सरकारले सानो कक्षादेखि नै प्रयोगात्मक शिक्षाको व्यवस्था गर्नुपर्छ । तब मात्र पढेपछि काम गर्नुपर्छ भन्ने सोचको विकास हुन्छ । विश्वविद्यालयको पाठ्यक्रममा समेत सुधार गर्नुपर्ने आवश्यकता छ । विद्यार्थीको ज्ञानलाई तीन घन्टाको परीक्षाबाट कहिल्यै पनि मूल्यांकन गर्न सकिँदैन । के यस प्रणालीलाई हामीले परिवर्तन गर्न सक्छौँ ?

नेपालमा अनुसन्धानका लागि पर्याप्त स्रोत–साधन छैनन् । वैज्ञानिक खोज तथा अनुसन्धान पेसाका रूपमा स्थापित हुन सकेको छैन । यहाँ प्रविधिमा लगानी गर्ने ठूला उद्योगधन्दा छैनन् । अनुसन्धानबाटै कसैले पनि गुजारा चलाउन सक्दैन । तर, पनि मलाई लाग्छ, विज्ञानको क्षेत्रमा राम्रो सम्भावना छ । निजी लगानी पनि बढ्दो छ । रुचि देखाउने विद्यार्थी र अभिभावकको चाहना पनि बलियो छ ।

खोज र आविष्कारका काम प्रशस्तै हुन सक्छन् । त्यसका लागि सरकारले स्रोत–साधन र उपकरणको व्यवस्था गरिदिनुपर्छ । सरकारी नीति बनेका छन्, तर कार्यान्वयन भएको छैन । नेपालमा विज्ञानको क्षेत्रमा भएको लगानी एकमुष्ट गर्ने हो भने मोटो हुन आउँछ । तर, विभाजित भएका कारण लगानीअनुसारको उपलब्धि छैन । नास्ट, नार्कलगायत संस्थाले अनुसन्धानमा लगानी गरेका छन् । तर, अनुसन्धानकर्ता स्वतन्त्र छैनन् । प्रशासनिक बन्देज छ, झमेला छ । प्रशासनिक घेराबन्दीभित्र बसेर अनुसन्धान सम्भव छैन । अनुसन्धान त होला, तर त्यो भद्दा र बोझिलो हुन्छ ।

लामो समय लाग्छ र खर्चिलो पनि हुन्छ । विदेशमा २४ घन्टा ल्याब खुल्छन् । तर, हाम्रा ल्याब प्रशासनको अर्डरमा चल्छन् । अनुसन्धानकर्ताको चाहनाबमोजिम ल्याब चल्दैनन् । अनुसन्धान गर्दै गरेको व्यक्तिमा यसले ठूलो प्रभाव पारिरहेको हुन्छ । छरितो रूपमा उपलब्धि हासिल गर्न अनुसन्धानकर्ताले चाहेबमोजिमको वातावरणमा अध्ययन गर्न पाउनुपर्छ ।  

आयातीत प्रविधिले कहिलेसम्म धान्ने ? विदेशबाट आयातीत प्रविधिभन्दा सरल र सस्तो खर्चमा स्वदेशी उपकरण बनाउन किन सकिन्न ? यसतर्फ गहिरो अध्ययन गर्न जरुरी छ । हुन त अनुसन्धान मात्रै गरेर पनि पुग्दैन । प्राप्त उपलब्धिलाई परीक्षण र बजारीकरण गर्न सक्नुपर्छ । नेपालमा अनुसन्धान गरे पनि परीक्षण गर्ने निकाय नहुँदा समस्या छ ।

त्यसैगरी, नेपालको पहिलो स्याटलाइट नास्टको सहकार्यमा क्युसेक विश्वविद्यालयमा अध्ययनरत हाम्रो आठजनाको समूहले ‘बर्ड्स–३’ परियोजनाअन्तर्गत बनाएको हो । त्यसमा मसहित नेपालकै आभाष मास्के र भुटान, फिलिपिन्स र जापानका साथी थिए । अहिले ‘बर्ड्स–४’ परियोजना चलिरहेको छ । अहिले पनि हामी स्याटलाइट निर्माणकै लागि अध्ययन–अनुसन्धानमा व्यस्त छौँ । सरकारको झन्डै दुई करोड रुपैयाँ खर्च भएको ‘नेपाली स्याट–१’ नामको नानो स्याटलाइट यही वैशाख ४ मा प्रक्षेपण भयो ।

एक किलो तीन सय ग्राम तौलको स्याटलाइटको लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर मात्रै छ । नेपालको हकमा भूउपग्रह बन्नु नै पहिलो सफलता हो । आफ्नै जनशक्तिसमेत भूउपग्रह निर्माणमा संलग्न हुनुले नेपाललाई थप फाइदा पुगेको छ । थप प्रविधिको विकास र लगानी गर्ने हो भने नेपालमै स्याटलाइट निर्माणका लागि अध्ययनको वातावरण बनाउन सकिन्छ । पहिलो सफलतास्वरूप बनेको नानो स्याटलाइटबाट नेपाललाई धेरै फाइदा छैनन् । तैपनि यसको प्रयोग गरेर मौसम, जलवायु र प्रकोपसँग सम्बन्धित तथ्यांकमाथि अध्ययन र सूचना प्राप्त गर्न सकिन्छ । अन्तरिक्षमा छाडिएको स्याटलाइट पृथ्वीभन्दा करिब चार सय किलोमिटरमाथि रहन्छ । त्यसले करिब ९० मिनेटमा एकपटक पृथ्वीलाई परिक्रमा गर्छ । जसअनुसार एक दिनमा नेपालको आकाशमा ५ देखि ८ मिनेटसम्म त्यो रहिरहेको हुन्छ । त्यतिवेला अन्तरिक्षबाट त्यसले नेपालको तस्बिर खिच्छ । जुन तस्बिरबारे हामीले ग्राउन्ड स्टेसनमा बसेर अध्ययन गर्न सक्छौँ । 

स्याटलाइटको प्रयोगबाट थुपै्र काममा गर्न सकिन्छ । त्यसका लागि ठूला स्याटलाइटकै प्रयोग गर्नुपर्छ । सरकारले लगानी गरेर वातावरण बनाइदियो भने नेपालमै पनि स्याटलाइट बनाउन असम्भव छैन । अहिले अन्तरिक्ष र स्याटलाइटबारे नेपालकै कलेजले पनि पढाउँछन् । यहीँ अध्ययन–अनुसन्धान गर्ने वातावरण बन्यो भने नेपालले छिट्टै आफैँ स्याटलाइट बनाउन सक्छ । स्याटलाइटले अन्तरिक्षमा संकलन गर्ने सूचना प्राप्त गर्न ग्राउन्ड स्टेसन विश्वभर थोरै मात्र छन् । त्यस्तै, राम्रो ग्राउन्ड स्टेसन नेपालमा पनि बन्न लागेको छ  । यो अर्को खुसीको कुरा पनि हो । 

(श्रेष्ठ युवा वैज्ञानिक हुन्)



प्रतिक्रियाहरु