‘ए प्लस’भन्दा ‘बी प्लस’ राम्रो

मिलन पाण्डे,

प्रख्यात कम्पनी अलिबाबाका संस्थापक ज्याक माले आफ्नो छोरालाई भनेका थिए, ‘तिमीले कक्षामा टप गर्नुपर्दैन, औसत छात्र भए पुग्छ । औसत विद्यार्थीसँग मात्र आफ्नो सीप विकासका लागि पर्याप्त समय हुन्छ । टपरले धेरै कुरा गुमाएका हुन्छन् ।’ उनको यो बुझाइ निकै महत्वपूर्ण छ । हामी आज परीक्षाको नतिजा नै सबथोक हो भन्ने भ्रममा छौँ । परीक्षामा कम नम्बर आउँदा वा असफल हुँदा जिन्दगी नै हारेझैँ गर्छौं । हामी सबैलाई प्रथम हुनु छ । टप गर्नु छ । हाम्रो परिवार, आफन्त, स्कुल, शिक्षक सबैलाई राम्रो ग्रेड चाहिएको छ । तपाईं कति सफल वा असफल भन्ने पनि त्यही ग्रेडबाट नै निर्धारण हुने गरेको छ ।

ग्रेड सबथोक होइन
विद्यार्थीले टप गर्न वा राम्रो ग्रेड ल्याउनका लागि धेरै कुरामा ‘कम्प्रमाइज’ गरेका हुन्छन् । कतिले स्वास्थ्यलाई ख्याल नगरी निरन्तर पढेका हुन्छन् । ‘परीक्षा’ भन्दै आफ्नै दिदी–दाइको बिहेमा पनि पूजा कोठामा थुनिएर पढेका हुन्छन् । मामाघर, आफन्तकहाँ नगएको वर्षौं भइसकेको हुन्छ । हामीलाई राम्रो ग्रेड ल्याउने भूत चढेको हुन्छ । हामी टप नै गर्नुपर्छ, पर्फेक्ट नै हुनुपर्छ भनेर बसेका छौँ । हामीलाई यही नै सिकाइएको छ । ठूलो कम्पनीमा जागिर खाने, घर बनाउने, गाडी किन्ने सपना बुनेका हुन्छौँ । त्यसका लागि उत्कृष्ट हुने दौडमा लाग्छौँ ।

म पनि यही रोगको सिकार भएको व्यक्ति हुँ । मलाई याद छ, कक्षा १० मा पढ्दा टाइफाइड हुँदा पनि औषधि खाएर विद्यालय पढ्न गएको । धेरै आफन्तको बिहे अनि मलामी छाडेर पढेको थिएँ । मलाई धेरै नम्बर ल्याउनु थियो, टप गर्नु थियो । म कक्षा १० मा निकै राम्रो पढ्ने विद्यार्थीमा पर्थें । गणित, विज्ञान, कम्प्युटर साइन्स, अप्सनल म्याथजस्ता विषयमा पूर्णांक ल्याउँथे । तर, आज जीवनलाई फर्केर हेर्दा ती अंक शून्य लागिरहेछन् । दिदीको बिहेमा जाँदा दुई–चार अंक कम आउँथ्यो होला, तर ती पल यी दुई–चार अंकभन्दा ठूला थिए । मेरो स्वास्थ्य ती नम्बरभन्दा महत्वपूर्ण रहेछ । पढ्नुपर्दैन भन्ने आशय होइन तर, जीवन अनि हाम्रा सम्बन्धभन्दा ठूलो पढाइ बनाइनुहुँदैन । परीक्षा महत्वपूर्ण हुन्छन्, तर पढाइका नाममा जसरी हामी बालापन अनि जवानी त्याग गर्दै छौँ, जुन मूल्य चुकाउँदै छौँ, त्यसमा प्रश्न हो ।

पढाइको अंकले मात्र करिअरको उत्कृष्टता मापन गर्न सक्दैन । हाम्रो विचार, सोच प्रत्येक दिन बदलिन्छ भने तपाईंले कुनैवेला लेखेको उत्तरले कसरी तपाईंको मापन गर्न सकिन्छ ? हाम्रो वरिपरिको वातावरण क्षण–क्षणमा बदलिन्छ भने मेरो १४ वर्षअघिको नतिजाले आज मेरो मापन किन गरिँदै छ ? त्यो नतिजाले मेरो त्यो दिनसम्मको केही ज्ञान जाँच्न सक्ला, तर मेरो भविष्यको क्षमता निर्धारण गर्न सक्दैन । तपाईं–हाम्रो मूल्य त्यो नतिजा होइन, हामीमा रहेको इच्छाशक्ति हो ।

यो कुरा नै हामीले बुझ्न सकिरहेका छैनौँ । शैक्षिक ग्रेडले तपाईंको सिर्जनशीलता, नेतृत्व क्षमता, सामूहिक भाव, सामाजिक सक्रियता अनि राजनीतिक चेत दर्शाउन सक्दैन । तर, पनि हामी सब ए प्लसका पछि कुद्दै छौँ । ए प्लस महत्वपूर्ण होइन भन्न खोजेको होइन, तर त्यो नम्बर तपाईंको असली मापक होइन । तथ्य घोकेर परीक्षामा धेरै नम्बर ल्याउनु मात्र सफलता होइन । यो भनिरहँदा टप गर्ने विद्यार्थीको अवमूल्यन गर्न खोजेको पनि होइन । तर, परीक्षामा धेरै नम्बर ल्याउनु मात्र सफलताको मापन होइन भनेर टप गर्दै गरेका विद्यार्थीलाई बुझाउने प्रयास गर्न खोजेको हुँ । मिहिनेत नै नगर्ने विद्यार्थीलाई नपढेर ठीक भयो भन्ने आशय पनि होइन, तर हाम्रो सफलता समस्याको समाधान खोज्नुमा मात्र छैन, समस्या पहिचान गर्नुमा पनि छ । यो कुरा हामी भुल्दै छौँ । त्यो कला किताबले मात्र सिकाउँदैन । परीक्षाले मात्र मापन गर्दैन ।

केही दिनअघि एकजना भाइसँग कुरा गर्दै थिएँ । उनी आफ्नो प्रेमकथा सुनाउँदै थिए । उनलाई एकजनाले मन पराउने रहिछन् । केटाले पनि मन पराउन थालेछन् । तर, उनीहरू प्रेम प्रस्ताव राख्न परीक्षा कहिले सकिन्छ भनेर कुर्दै रहेछन् । उनीहरू स्नातकका विद्यार्थी थिए । अरे यार, मन मारेर पढाइमा सफल हुनुको के मूल्य ? तपाईंको साँचो प्रेम तपाईंको पढाइभन्दा महत्वपूर्ण छ । प्रेम गरेर पढाइ बिगारौँ भनेको होइन । पढाइको नाममा मन मारेर प्रेम नत्यागौँ भनेको । प्रेम सम्बन्ध अनि पढाइबीच सन्तुलन आवश्यक छ । मैले धेरै मानिस पढाइका कारणले प्रेमबाट पन्छिएको देखेको छु । केही मानिसले पढाइ सकेर बिहे गर्छु भनेर निकै ढिलो बिहे गरेको पनि देखेको छु । यसले हाम्रो जीवन खल्बलिएको छ ।

शिक्षाले जीवनलाई सहज बनाउने हो खलबल्याउने होइन भन्ने मेरो बुझाइ हो । शैक्षिक शोधकर्ता क्यारन आरनोर्डले गरेको अनुसन्धानमा टपरको करिअर सफल हुने गरे पनि उनीहरू माथिल्लो दर्जामा कमै मात्र पुग्ने गरेको देखिएको थियो । डा. आरनोर्ड, स्वर्णपदक विजेता विद्यार्थीमा दूरदर्शिताको कमी रहने बताउँछन् । यी विद्यार्थी प्राय: सिस्टमकै सहयोगी बन्छन्, सिस्टम हल्लाउने तागत राख्दैनन् । त्यसैले टपर मात्र सफल हुन्छन् भन्ने होइन । त्यो सफलताको मापन केले गर्ने भन्ने हो । परीक्षाको नतिजाले वा जीवनको यात्राले ?स्टिभ जब्सले उच्च शिक्षा सक्दै गर्दा २.६५ जिपिए ल्याएका हुन् । हाम्रै हरिवंश आचार्य एसएलसी फेल भएका हुन् ।

चर्चित मार्टिन लुथर किंग जुनियरले कलेजको चार वर्षमा एकचोटि एउटा मात्र ए ल्याएका थिए । खोक्रो ग्रेडका लागि कुद्नेभन्दा पनि आफूलाई ‘अपग्रेड’ गर्न तपाईं कति सक्रिय हुनुहुन्छ ? प्रश्न यहीँनेर उठ्छ । नम्बर घट्ला, ग्रेड कम आउला, तर हाम्रो लक्ष्यप्रतिको ऊर्जा ग्रेडकै कारणले घट्नुहुँदैन भन्ने हो । मैले एसएलसीमा डिस्टिङ्सन ल्याएँ । बिरामी हुँदा पनि, कालो चिया अनि थिनआरोट बिस्कुट खाएर स्कुल गएर दिनभरि पढेँ । आज फर्केर हेर्दा, म यदि १४ वर्षअघि फर्कन पाउँथेँ भने, म बरु कम नम्बर ल्याउन तयार हुन्थेँ, तर त्यसरी स्वास्थ्य मारेर स्कुल जाँदिनथिएँ । आज फर्केर हेर्दा, नम्बरका लागि मेरा सानो–सानो खुसीमा सम्झौता गर्दिनथिएँ होला । अझ कम पढ्थेँ होला । बाहिरी ज्ञान बटुल्थेँ होला ।

आफ्नो रुचिका लागि अझ समय दिन्थेँ होला । आज मैले विज्ञानमा चित्र छापेर कटाएको समयमा आफ्नो नेतृत्वकला अनि लेखन सुधार्न सक्थेँ होला । जीवन जिउने कलाबारे अझ बुझ्थेँ होला । खासै माने नराख्ने परीक्षाको उत्कृष्टताको पछि दौडिँदैन थिएँ होला । त्यसैले, यो लेख पढ्दै गरेका भाइबहिनी अनि साथीमा जीवनलाई अनि तपाईंको उद्देश्यलाई त्यो मार्कसिटको सानो घेराबाट मात्र नहेर्न अनुरोध गर्छु । त्यो पढाइको साटो तपाईंले सिकेको सीप अनि भोगाइले भविष्यमा अर्कै सफलताको मार्गचित्र कोर्न सक्छ । सायद तपाईंको कम नम्बरले नै तपाईंलाई जीवनमा बढी उपलब्धिको मार्ग तय गर्दै छ कि ? कहिलेकाहीँ परीक्षामा खाएको आलुले भोलि ठूलो फल पो दिन्छ कि ?

१० वर्षपछिको तपाईं
हाम्रा विद्यालयहरूको मुख्य दायित्व, केटाकेटी केमा राम्रो छन् भनेर उजागर गरिदिने हो । हाम्रा विद्यालय यहीँ चुकेका छन् । अधिकांश विद्यार्थीलाई आफू केमा राम्रो छु अनि के बन्न चाहन्छु भन्ने नै थाहा हुँदैन । विद्यालयले झन् द्विविधा थपिदिएको छ । बन्न मन छ कलाकार, विज्ञानमा राम्रो नम्बर आयो भनेर स्कुल अनि परिवारले नै विज्ञान पढ्न दबाब दिन्छन् । एसइई नतिजा आएसँगै कुन विषय पढ्ने अनि कहाँ पढ्ने भन्ने ठूलो अन्योल थपिने गर्छ । यसमा सबैभन्दा ठूलो सहयोगी बननुपर्ने परिवार अनि विद्यालय नै हामीलाई असहयोग गरिरहेका हुन्छन् ।

कुन विषयमा कति नम्बर आयो, त्यसमा तपाईंले के पढ्ने भन्ने माने राख्दैन । तपाईंले १० वर्षपछि आफूलाई कहाँ देख्नुहुन्छ, त्यो आकृति तपाईंको आँखामा नजरबन्द हुन जरुरी छ । त्यही आकृतिले तपाईंलाई डोहो-याउनेछ । मार्ग देखाउनेछ । डाक्टर बन्न चाहनुहुन्छ भने तपाईंको आँखाअगाडि सेतो कोट लगाएको तस्बिर आउन जरुरी छ । क्रिकेटर बन्ने हो भने तपाईंले वल्र्ड कप खेलेको तस्बिर अगाडि आउन जरुरी छ । तपाईंले तपाईंको जीवनको सार्थकता ‘किन’ भन्ने प्रश्नको उत्तर खोज्न जरुरी छ । त्यही सपनामा फोकस हुन जरुरी छ । अर्जुनले केवल चराको आँखा देखेजस्तै, तपाईंले पनि आफ्नो लक्ष्य देख्न जरुरी छ ।

यो भनिरहँदा तपाईंको एउटा मात्रै लक्ष्य हुनुपर्छ भन्ने पनि छैन । तपाईंको प्रोफेसन र प्यासन सकेसम्म एउटा नै भए राम्रो, तर तपाईं विज्ञान पढ्दै क्रिकेट पनि खेल्न सक्नुहुन्छ । तपाईं इन्जिनियर बन्दै नेपाल आइडलमा पनि भाग लिन तयारी गर्न सक्नुहुन्छ । तपाईंको प्रोफेसन अनि प्यासन फरक हुन सक्छ । तपाईंको प्रोफेसन के हो, प्यासन के, योचाहिँ तपाईंलाई थाहा हुन जरुरी छ । फेरि सधैँ लिएको लक्ष्यमा सफलता मिल्छ भन्ने छैन । तपाईं आफूले कल्पेको जस्तै बन्नुहुन्छ भन्ने पनि छैन ।

तपाईंले चाहेको कुरा तपाईंले सोचेकै समयमा पाउनुहुन्छ भन्ने पनि छैन । आफ्नो पथमा लम्कँदै गर्दा, तपाईंको लक्ष्य नै परिवर्तन हुन पनि सक्छ । डाक्टर भएका मन्त्री बनेका छन् । इन्जिनियरिङ गरेका गायक बनेका छन् । चर्चित कलाकार बोमन इरानीले आफू कलाकार बन्नकै लागि जन्मेको कुरा ४३ वर्षको उमेरमा मात्र थाहा पाए । तपाईंलाई आफू केमा राम्रो छु भन्ने थाहा पाउन समय लाग्न सक्छ, केही छैन । तर, तपाईं जे लक्ष्य निर्धारण गरेर हिँड्नुभएको छ । त्यसमा तपाईंले बेस्ट दिन भने सक्नुपर्छ । त्यसमा नै समय र शक्ति लगाउनुपर्छ । फेरि तपाईंको बेस्ट, अरूसँग दाँजेर होइन, आफैँलाई तिखारेर आउन जरुरी छ । त्यति गर्दागर्दै पनि यदि तपाईं सफल हुनुभएन भने पनि तपाईंलाई आत्मसन्तुष्टि मिल्नेछ, दुःख लाग्ने छैन । त्यसले तपाईंलाई अर्को सफलताका निम्ति उत्साह थप्नेछ ।

एसइई ‘आइरनगेट’ होइन
पहिले एसएलसीलाई, अहिले एसइईलाई फलामेढोका भनिन्छ । एसइई फलामेढोका होइन । यो परीक्षालाई यसरी ब्रान्डिङ गरिएको छ कि एसइई पास गरेपछि सबै कुरा जितियो । यो परीक्षाले तपाईंको जीवनमा त्यस्तो ठूलो केही असर पार्दैन । तपाईंले ल्याएको नम्बरले तपाईंको दक्षता दर्शाउँदैन । यो हौवाले बेकारमा विद्यार्थीलाई आतंकित पारेको छ । केही शैक्षिक संस्थाको व्यापारको साधन बनेको छ ।

कलेजका बोर्ड रंग्याएर पत्रिकाको विज्ञापनका लागि विद्यार्थीको नम्बर प्रयोगको माध्यम बनेको छ । हामीले एसइईलाई यस्तो आतंक बनाइदिएका छौँ कि आज विद्यार्थी परीक्षाको नतिजासँगै आत्महत्या गर्छन् । त्यो हत्याको दोषी को ? खोइ हाम्रो शिक्षा प्रणाली बोलेको ? जीवनभन्दा पढाइ ठूलो होइन भन्ने कुरा हाम्रो शिक्षाले सिकाउनै सकेन । हामीलाई हाम्रो शिक्षाले ‘कम्फोर्ट जोन’भित्र बसेर काम गर्न सिकायो । प्रगतिका लागि प्रयोग जरुरी छ । रिक्स जरुरी छ । जुन हाम्रो शिक्षाले सिकाउनै सकेन । एसइईलाई सधैँ खिया लाग्ने फलामेढोका बनाइयो ।

एसइई कक्षा १० को किताब पढेर दिइने सामान्य परीक्षा हो । अहिले १२ सम्मलाई आधारभूत शिक्षा भनिरहँदा, हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई एसइईको अनावश्यक बोझ बोकाउँदै छ । तसर्थ, एसइई खारेज गर्न जरुरी छ । शिक्षाले जीवनमा संघर्ष सिकाउनुपर्नेमा उल्टै शिक्षामै अनावश्यक संघर्ष सिर्जना गर्दै छ । १३ वर्षको भारी बिसाउँदै गर्दासमेत विद्यार्थीलाई आतंकित तुल्याइँदै छ । यो समयमा, प्रधानमन्त्री रोजगार योजनाको नाटकको सट्टा सरकारले नै भत्ता दिएर एसइईका भाइबहिनीलाई देश–विदेश घुमाउने काम गरेर उनीहरूको जीवनमा उत्साह भर्न सकेको भए देशलाई कति फाइदा हुने थियो ।

स्कुलले पनि १० पछि भ्रमण लैजान अनि अतिरिक्त सीपमूलक काम सिकाउन सकेको भए कति फाइदा हुने थियो । एसइई दिएर बसेका हाम्रा भाइबहिनी आराम गर्न चाहन्छन् । कैयौँ महिनाको अधुरो–अपूरो निद्रा सुत्न चाहन्छन् । घुम्न चाहन्छन् । मन परेको मान्छेसँग आफ्ना भावना साट्न चाहन्छन् । एसएलसीपछि भन्दै बारम्बार खोसिएको मोबाइल र ल्यापटपमा खेल्न चाहन्छन् । तर, हामीले यो महत्वपूर्ण समय पनि डर अनि त्रासमै अल्झाउने काम गरिरहेका छौँ ।

निष्कर्ष
मैले दुईवटा जीवन बाँचेको छु । प्लस टुसम्म सफलता पाएको छु । टपर बन्ने मौकासमेत पाएको छु भने स्नातकमा गएर फेल भएको छु । कम नम्बर ल्याएको छु । तर, जीवन बुझ्न अनि समाज बुझ्न मैले स्नातकसम्म पुगेर किताबभन्दा बाहिर निस्कनै प-यो । त्यतिवेला मेरो नम्बर घट्यो, तर ज्ञान बढ्यो । हामी भने, एसइई वा अन्य परीक्षालाई नै सर्वस्व मानेर बसेका छौँ । यसका लागि हाम्रा अभिभावकको अल्प बुझाइ पनि महत्वपूर्ण छ ।

आमाबुबाको अनि आफन्तको प्रतिस्पर्धाको शृंखलामा हाम्रा बाबुनानी पिल्सिएका छन् । कसैलाई देखाउन वा परिवार–परिवारको प्रतिस्पर्धामा हाम्रा विद्यार्थी थिचिएका छन् । अब हाम्रा अभिभावकले आफ्ना बच्चालाई बुझ्न जरुरी छ । परीक्षामा कम नम्बर ल्याउनु भनेको असफल हुनु होइन । विद्यार्थीले कम नम्बर ल्याउँदा उनीहरूलाई परिवारले साथ दिन जरुरी छ । बुझाउन जरुरी छ । इन्जिनियर बनाउने होडमा तपाईंको छोराभित्र लुकेको क्रिकेटरको हत्या गर्न तपाईंले पनि पाउनुहुने छैन । डाक्टर बनाउने होडमा, तपाईंले तपाईंकी छोरीको मिस नेपाल बन्ने सपनालाई कुल्चिन पाउनुहुने छैन ।

दोष समाजको अनि शिक्षाकै छ । हाम्रो शिक्षा ‘कस्मेटिक’ बन्दै छ । फोटो राम्रो निकाल्न फोटो एडिट गर्ने हो कि, मान्छे राम्रो बनाउने हो ? हाम्रो शिक्षाले फोटो एडिट गर्ने बाटो रोजेको छ । धेरैलाई पास गराउनलाई राम्रो शिक्षा दिनेभन्दा पनि अन्य बाटो खोज्छ । धेरैलाई पास गराउँछ । गेस पेपरमा प्रश्न बाँड्छ अनि चिट चोराएरै भए पनि शतप्रतिशत पास गराउँछ । अनि, फेरि त्यही नतिजालाई नै सर्वस्व मान्छ । हामीले शिक्षालाई सुधार्न जरुरी छ । शिक्षाप्रतिको धारणा बदल्न जरुरी छ । शिक्षालाई जीवनसँग जोड्न जरुरी छ



प्रतिक्रियाहरु