सभामुखमा फेरि नेम्वाङको सम्भावना, उपसभामुखलाई राजीनामा गराइने

काठमाडौं । बलात्कार आरोपका कारण सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र नयाँ सभामुखको खोजी सुरु भएको छ। दुवै संविधानसभा अध्यक्ष भइसकेका पूर्वसभामुख सुवास नेम्वाङमाथि फेरि सभामुख बन्न दबाब बढेको छ।

अप्ठेरो राजनीतिक समीकरणमा पनि दलहरुबीच कुशलतापूर्वक संवाद गराएर स‌ंविधान निर्माणकाे नेतृत्व गरेका उनी सकारात्मक भाषा र शिष्ट स्वभावको व्यक्तिका रुपमा परिचित छन्। फेरि सभामुख हुने सम्भावनाबारे जिज्ञासा राख्दा उनले घुमाउरो भाषामा जवाफ दिए। उनले यत्ति भने, ‘मेरा केही मान्यता छन्। म त्यसमा अडिग छु। त्यसविपरीत मलाई आएका सबै प्रस्ताव स्वीकारिहाल्छु भन्ने छैन।’

हाल नेकपा संसदीय दलका उपनेता रहेका नेम्वाङले विगतमा आठ वर्ष सभामुख चलाइसकेका छन्। महराको राजीनामा लगत्तै पार्टीभित्र र बाहिरका सबैले नयाँ सभामुखका रूपमा नेम्वाङलाई सम्झेका छन्।

स्रोतका अनुसार, मन्त्री पद अस्वीकार गर्दै आएका पूर्व सभामुख नेम्वाङलाई साढे तीन वर्ष कार्यकाल बाँकी रहेको सभामुख पदमा पठाउन प्रधानमन्त्री ओली सकारात्मक छन्। यो राज्यको चौथो ठूलो पद हो। नेम्वाङले ‘हुन्छ’ मात्र भनेमा उक्त पदमा नेम्वाङ हुने निश्चित रहेको नेकपा स्रोतको दाबी छ।

नेम्वाङलाई सभामुख बनाउन बाटो खुले पनि नेकपाका लागि उपसभामुख पद बाधक बनेको छ। उपसभामुख शिवमाया तुम्बाहाम्फे नेकपाकै सांसद् हुन्। संवैधानिक प्रावधानअनुसार एकै दलको व्यक्ति सभामुख र उपसभामुखमा निर्वाचित हुन मिल्दैन। विगतमा सभामुख महरा माओवादीकेन्द्रबाट र तुम्बाहाम्फे एमालेबाट चुनिएका थिए।

पार्टी एकता भई नेकपा बनेपछि पनि सभामुख–उपसभामुखले पार्टी सदस्यता परित्याग गरिसकेको बताउँदै दुवै पदमा बहाल रहेका थिए। अब भने वर्तमान उपसभामुख पदमा बहाल रहेकै अवस्थामा सभामुख नेकपाबाटै निर्वाचित हुन सक्दैन। नेकपा स्रोतका अनुसार उपसभामुख तुम्बाहाम्फेलाई सभामुख बनाउने संभावनाबारे अहिलेसम्म छलफल भएको छैन।

बरु उनलाई राजीनामा गराउनेबारे अनौपचारिक कुराकानी भइरहेको स्रोतको दाबी छ। उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिन अस्वीकार गरेमा भने नयाँ सभामुख चयनमा अप्ठेरो पर्ने नेकपा स्रोतको दाबी छ।

तुम्बाहाम्फेले नयाँ सभामुख चयन गर्ने प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने र त्यसपछि राजीनामा गर्ने सम्भावना रहेको ती नेताको दाबी छ। नयाँ उपसभामुख भने सम्भवतः सत्तारुढ गठबन्धनको अर्को घटक समाजवादी पार्टीको हुनसक्ने अनुमान थालिएको छ। याे प्रक्रिया भने दशैँ–तिहारपछि सुरु हुने हिउँदे अधिवेशन सुरु भएपछि मात्र प्रारम्भ हुनेछ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु