दिनहुँजसो बलात्कार हुन्छ प्रदेश २ मा

जनकपुरधाम । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका– २ सिनरजोडाकी १३ वर्षकी बालिका २० भदौमा बलात्कृत भइन् । स्थानीय किराना पसले बद्री साहले पसलमै बोलाई बलात्कार गरेको भन्ने उजुरी परेपछि ५५ बर्षीय उनी महोत्तरीको मठियानीमा पक्राउ परे । २० भदौमा धनुषाकै जनकपुरधाम उप–महानगरपालिका– २१ की १७ बर्षीया किशोरी आफ्नै घरमा बलात्कृत भइन् । आधा रातमा आएका तीन जनाले उनलाई ढोका खोल्न लगाई बलात्कार गरेका थिए । किशोरीको उजुरीमा बलात्कार आरोप लागेकामध्ये छिमेकका ३० वर्षीय मुनुवा राउत पक्राउ परेका छन् ।
 
 
त्यसअघि भदौ पहिलो साता बाख्रा चराउन गएकी धनुषाकै गणेशमान चारनाथ नगरपालिकाकी १५ बर्षीया बालिका बलात्कारको शिकार भइन् । त्यस घटनामा तीन जना पक्राउ परेका छन् ।धनुषामा भदौमा मात्र बलात्कारका सात घटना भएको तथ्यांक छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एसपी कृष्ण प्रसाइँका अनुसार, प्रदेश २ का आठवटै जिल्लामा बलात्कारको घटना बढेको छ ।
 
आर्थिक वर्ष २०७७/०७८ को पहिलो दुई महिनाको तथ्यांकले प्रदेश २ मा ६५ जना महिला तथा बालिका बलात्कृत भएको देखाउँछ । भदौ २७ गतेसम्म सिरहामा १२, धनुषा र महोत्तरीमा १०–१०, सप्तरीमा ९, सर्लाहीमा ८, रौतहटमा ७, पर्सामा ६ र बारामा ३ वटा बलात्कारको घटना भएका छन् ।
 
प्रदेश २ मा पछिल्लो २६ महिनामा ६५३ वटा बलात्कारको घटना भएका छन् । तीमध्ये ६५ वटा बलात्कार चालू आवको दुई महिनाको हो । त्यस्तै, ०७६/७७ मा २९२ र ०७५/७६ मा २९६ वटा बलात्कार अपराध भएको तथ्यांक प्रदेश प्रहरी कार्यालयसंग छ । आव ०७६/७७ मा सबभन्दा बढी ५३ वटा बलात्कार धनुषामा भएको थियो । त्यस्तै, सिरहामा ४८, बारामा ४५, पर्सामा ३९, सप्तरी र सर्लाहीमा ३१–३१, रौतहटमा २९ र महोत्तरीमा १६ जना महिला तथा बालिका बलात्कारको शिकार भए । आव ०७५/७६ मा पनि सबभन्दा बढी ५० वटा बलात्कारका घट्ना धनुषामै भएका थिए, पछिल्लो ६ महिनामा बन्दाबन्दीको अवधीमा बलात्कारको घट्ना झनै वृद्वि भएको छ । यो अवधीमा १५२ वटा बलात्कारको घटना प्रदेशमा भएको छ ।
 
भदौ २९



प्रतिक्रियाहरु