कांग्रेस महाधिवेशन प्रतिनिधिलाई भक्तपुरमा प्रशिक्षण, दुई तिहाईको आडमा सरकार निरंकुश बन्दै गयो ःसभापति देउवा


भक्तपुर । नेपाली कांग्रेसका ७ जिल्लाका महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम शुक्रवारदेखि भक्तपुरमा शुरु भएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेश–३ का सात जिल्लाका महाधिवैशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । मध्यपुर थिमिको बोडेस्थित कृषि विकास बेंकको सभाहलमा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दुईतिहाईको आडमा सरकार निरंकुश बन्दै गएको आरोप लगाउनु भयो ।
सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली सबै शक्ति हातमा लिएर निरंकुश बन्दै गएको उल्लेखगर्दै प्रधानमन्त्रीले सेना, प्रहरीलाई आफू मातहत ल्याउन खोजेको र स्वतन्त्र न्यायालयमा समेत हस्तक्षेप गर्न थालेको आरोप लगाउनुभयो । देश र जनताको सेवामा लाग्नु पर्ने सेना, प्रहरी, कर्मचारीलाई सरकारले पार्टीको गुलाम जस्तो बनाउन खोजेको देउवाको आरोप थियो । सरकारले संबिधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गए संसदमा संर्घषरत प्रमुख प्रतिपक्षी दल कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुने देउवाको चेतावनी थियो ।


पार्टीका नेता तथा कार्यकर्तालाई लोकतन्त्रमाथि चुनौतिपुर्ण अवस्था आएको भन्दै त्यस बिरुद्ध संघर्षका लागि तयार रहन निर्देशन दिदै सभापति देउवाले अब कांग्रेसले आसन्न उपनिर्वाचन जसरी पनि जित्नुपर्ने बताउँनु भयो । अन्तरघातीलाई पार्टीले कारवाही गर्ने दोहो¥याउँदै देउवाले अहिलेको अवस्थामा पार्टी एक हुनुको विकल्प नभएको बताउँनु भयो ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि धावा बोल्न थालेको बताउँदै कांग्रेसलाई लोकतन्त्र माथिको हस्तक्षेप कदापी स्वीकार्य नहुने उल्लेख गर्नुभयो । पार्टीलाई ब्यक्तिवादी,चाटुकारी र भक्तिवादी प्रबत्तिबाट माथि उठाएर कांग्रेसलाई जनताको आकर्षणको केन्द्र बनाउनुपर्नेमा पौडेलको जोड थियो ।
उपसभापति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख बिमलेन्द्र निधिले आफ्नै पिंडा र दोषारोपणबाट मुक्त भएर पार्टीलाई जनतासँग जोड्नुपर्ने बताउनुभयो । महामन्त्री डा शशांक कोईरालाले सरकार जनताका स्वतन्त्र सँस्थाहरुको अधिकार खोस्ने पक्षमा देखिएको आरोप लगाउँदै मुलुकलाई समृद्ध बनाउन सरकारमा कांग्रेसको अभाव खड्किएकोले आन्तरिक एकताका साथ  कांग्रेस अघि बढ्नुपर्ने बताउँनु भयो ।
नेता कृष्णप्रसाद सिटौलाले पार्टीका नेता तथा कार्यकर्ताले बिगतका कमजोरी सच्याएर पार्टीमा सन्तुलन कायम राख्दै राज्यका सबै निकायलाई कब्जा गर्ने सरकारको कदममा खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । केन्द्रीय सदस्य अम्बिका बस्नेतले पार्टी एक हुनुको विकल्प नरहेको बताउँदै सरकारले भ्रष्टाचार, महँगी र करको भार मात्र थोपरेर जनताको ढाड सेकेको बताउनुभयो ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पुरुषोत्तम दाहालले कांग्रेसलाई सुदृढ बनउने र नयाँ पुस्तालाई पार्टीमा कसरी आकर्षित गर्ने बारेमा प्रशिक्षण केन्द्रीत हुने बताउनुभयो । कार्यक्रममा कांग्रसका एक दर्जनभन्दा बढी केन्द्रीय सदस्य तथा नेताहरुको सहभागिता रहेको थियो । प्रशिक्षणमा प्रदेश ३ का १३ जिल्लामध्ये सात जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका २ सय ८१ महाधिवेशन प्रतिनिधि सहभागी छन् । प्रतिष्ठानका सचिव मुक्ति आचार्यका अनुसार बाँकी प्रदेश ३ का ६ जिल्लाका महाधिवेशन प्रतिनिधिलाई मकवानपुरमा प्रशिक्षण दिइनेछ ।
प्रदेश नं. ३ का बाँकी ६ जिल्ला रसुवा, नुवाकोट, धादिड., चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिका लागि मकवानपुरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिने सचिव आचार्यले बताउनुभयो । कांग्रेसले प्रदेश १ को धनकुटा र मोरङ, प्रदेश २ को जनकपुरधाम र वीरगन्ज तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिकामा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण दिने जनाएको छ ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु