लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोज्दै सरकार ः नेता पौडेल


भक्तपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउनु भएकोे छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं .१ ले दुवाकोटमा आयोजना गरेको प्रजातन्त्र सेनानी स्व.जानकी प्रसाद कुईंकेलको स्मृति दिवस तथा चियापान कार्यक्रममा बोल्दै ले नेता पौडेलले सो कुरा बताउनु भएको हो । कांग्रेसलाई लोकतन्त्र माथिको हस्तक्षेप कुनै हालमा स्वीकार्य नरहेको उल्लेख गर्दै पौडेलले दुईतिहाईको आडमा सरकार निरंकुश बन्दै गएको आरोप लगाउँनु भयो ।
पार्टीलाई ब्यक्तिवादी,चाटुकारी र भक्तिवादी प्रबत्तिबाट माथि उठाएर एक ढिक्का बनाई जनताको आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिदै नेता पौडेलले सबै एक भएर आगामी उपनिर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन लाग्नुपर्ने बताउनुभयो । सरकारका गतिविधि संघियता विरोधी भएको र सरकारले काम गर्ने ठोस योजना पनि प्रस्तुत गर्न नसकेको दाबी गदै पौडेलले शान्ति सुव्यवस्था कायम हुनुको बदला मुलुकमा हत्या, हिँसा, बलात्कार, भ्रष्टाचारका घटना अझ बढेर गएको बताउँनु भयो ।
नेता पौडेलले वर्तमान सरकारका गलत कामको विरोध गर्नुपर्ने बेलामा काँग्रेस एक भएर आन्तरिक कलहमा नफसी अघि बढ्नुपर्ने बताउनुभयो । चुनावको बेलामा देशलाई आर्थिक समृद्ध दिने घोषणा गरेको कम्युनिष्ट सरकारले अहिले जनतालाई करको भार थोपार्नु बाहेक अन्य कुनै महत्वपुर्ण काम गर्न नसकेको पौडेलको आरोप थियो । जहिले कांग्रेस कमजोर भयो तहिले लोकतन्त्र कमजोर भएको इतिहाँस रहेको बताउँदै उहाँले पार्टीलाई बलियो बनाउन विधान सम्मत जानुपर्ने उल्लेख गर्नुभयो ।
कांग्रेसले महँगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्या, अलोकतान्त्रिक बिधेयक, कम्युनिष्ट सरकारको कुशासन र स्थानीय सरकारले बढाएका अत्याधिक कर र शुल्कका बिरुद्ध देशब्यापी बिरोध गरेको पौडेलको भनाई थियो । आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेलले पार्टीलाई एक ढिक्का पार्न र जनसमुदायमा घुलमिल गराउनुपर्ने बताउनुभयो । कार्यक्रममा कांग्रेस नेता कन्चनचन्द्र बादे, लोकेश ढकाल, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा , तरुण दलका पुर्व अध्यक्ष बिनोद कायस्थ, तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं ,क्षेत्र नं.१ का सभापति जीवन खत्री, सचिब उद्धब खड्का लगायतले स्व.कुईंकेलले पार्टी र देशमा दिएको योगदानको चर्चा गर्दै कांग्रेस गुट उपगुट नभनी एकजुट भएर अघि बढे कसैले पराजित गर्न नसक्नेमा जोड दिनुभयो ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु