चैत २५ देखि नेकपाको महाधिवेशन गर्ने निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । त्यसको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बोलाइएको छ ।
 
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने निर्णय भएको छ । 
 
 
बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने निर्णय गरेको छ । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षको कार्यविभाजन टुंगो लगाइएको भन्दै प्रधानमन्त्री समेत रहेका ओली सरकारका काम कारबाहीमा केन्द्रीत रहने निर्णय भएको बताए ।
 
 
यस्तै अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी कामको नेतृत्व गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार सरकारका कामकारबाहीमा पार्टीले कुनै हस्तक्षेप गर्ने छैन । तर महत्त्वपूर्ण सवालमा पार्टीका मार्गनिर्देशनलाई केन्द्रमा राखेर सरकारले निर्णय गर्नुपर्ने हुन्छ । 
 
 आजको बैठकमा स्थायी समिति सदस्यहरु रघु पन्त, लिलामणि पोख्रेल, भीम आचार्य, माधव नेपाल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, घनश्याम भुसाल, मातृका मात्रिका यादव, भीम रावल अमृत बोहरा, झलनाथ खनाल र नारायणकाजीले धारणा राखेका थिए । 
 
ती सदस्यले धारणा राखेपछि प्रचण्डले प्राप्त  सुझावका सन्दर्भमा आफ्नो धारणा राखेका थिए भने त्यसपछि विभिन्न निर्णय गर्दै बैठक सकिएको थियो । श्रेष्ठका अनुसार छलफलका क्रममा उठेका सुझावलाई समेत प्रचण्ड र ओलीले अघि सारेको १५ बुँदे प्रस्तावमा समावेश गर्ने निर्णय भएको छ । 
 
पारित प्रस्तावमा राष्ट्रियताको विषयमा एकढिक्का भएर अघि बढ्ने, पार्टीलाई गतिशील बनाउने, विधि र पद्धतिअनुसार अघि बढ्ने, पार्टीका निर्णयलाई कार्यान्वयनमा लैजाने जस्ता विषय रहेका छन् । 
भदौं २६



प्रतिक्रियाहरु