वरिष्ठ उपाध्यक्ष ढकाल गृह जिल्लामा सम्मानित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल बागलुङ जिल्लाका विभिन्न संघसंस्थाबाट सम्मानित भएका छन् । ग्रुपका विभिन्न कम्पनीले आयोजना गरेका व्यावसायिक कार्यक्रमलाई सम्बोधन गर्न गृह जिल्ला बागलुङ पुगेका ढकाललाई त्यहाँका स्थानीय संघ(संस्थाले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी सम्मान गरेका हुन् ।
 
बागलुङ जिल्लाकै पुरानो विद्यालय विद्या मन्दिर माध्यमिक विद्यालयले एक कार्यक्रमको आयोजना गरी स्वस्तिवाचनसहित ढकाललाई सम्मान गरेको छ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले विद्यालय समुदायसँग नजोडिँदा गुणस्तर र विद्यार्थीको शैक्षिक चरित्रमा असर परेको बताए । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।
 
जिल्लाको गहनाको रूपमा रहेको विद्या मन्दिर माविका विद्यार्थीलाई भविष्यमा आउने हरेक चुनौतीसँग जुध्न सक्ने बनाउने र उनीहरूको शैक्षिक क्षमता बलियो बनाइदिने महान् कार्य शिक्षकहरूको हातमा रहेको उनको धारणा थियो । यसका लागि गुणस्तरीय शिक्षामा जोड दिँदै त्यसलाई अझ प्रभावकारी बनाउने दायित्व विद्यालयको भएको उनले बताए । -पुस २०



प्रतिक्रियाहरु