‘अड्डा’ को छायाँकन सुरु हुने

काठमाडौं ।  कलाकार किशोर भण्डारी पनि हास्यश्रृंखला ‘अड्डा’ को तयारीमा जुटेका छन् । यसअगाडि गत ९ भदौबाट प्रसारमा आउने तय भएको यो श्रृंखला सरकारले ३ भदौबाट जारी गरेको  निषेधाज्ञाका कारण छायाँकन हुन नसकेपछि प्रसारण स्थगित भएको थियो । अब भने असोजको पहिलो साताबाट यो श्रृंखला प्रसारणमा आउने भएको छ । त्यसका लागि निर्देशक किशोर निर्माण युनिटसहित छायाँकनमा जुटिसकेका छन् ।
 
 
‘केही दिनदेखि स्वस्थ्य सुरक्षाको सम्पूर्ण उपाय अपनाएर ‘अड्डा’ छायाँकनमा जुटेका छौ’ किशोरले भने– ‘केही दिनमा यसको प्रसारण तालिका समेत फिक्स हुनेछ ।’ सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राखेर थोरै ब्यक्तिको उपस्थितिमा श्रृंखला छायाँकन भइरहेको किशोरले जानकारी दिए । किशोरकै लेखन तथा निर्देशन रहने यो श्रृंखला डिस होमको कमेडी प्लस च्यानलबाट प्रसारणमा आउनेछ ।  लामो समयदेखि कमेडी श्रृंखलाहरुमा आफ्नो कलाकारिता पस्किँदै आएका भण्डारीले यस अगाडि ‘डिट्ठा साब’ निर्माण गरेका थिए । श्रृंखला प्रसारण भएपछि उनको उपनाम नै ‘डिठ्ठा साप’बनेको छ । धेरैले उनलाई वास्तविक नामले भन्दा यहि परिचयले चिन्ने गर्दछन् ।
 
सामाजिक कथामा निर्माण हुने ‘अड्डा’ले हरेक मानिसको सरोकारको विषयवस्तु उठाउने छ । ‘हरेक मानिस आफ्नो जीवनमा कुनै न कुनै रूपमा अड्डा पुगेकै हुन्छ । त्यसरी अड्डा पुग्दा कर्मचारीबाट गरिने व्यवहार कस्तो हुन्छ, सेवाग्राहीले सेवा पाउछन् कि दुःख । यी सबै बिषय रमाइलो ढंगबाट श्रृंखला देखाउने प्रयास गरिनेछ’ भण्डारीले श्रृंखलाको कथाको बिषयमा बताए ।
 
श्रृंखलामा किशोरको अलवा, रेश्मा तिमल्सिना ‘बुनुमैँचा’, कृष्णभक्त महर्जन, राम प्र।श्रेष्ठ, लीला केसी, पुष्प अवस्थी, समीर मिया सुमा लामिछाने, कृष भण्डारी, शुभेच्छा पाण्डेय, सञ्जय लामालगायतको कलाकारको अभिनय देख्न सकिनेछ । सरकारले निषेधाज्ञा केही सहज बनाएलगतै अन्य क्षेत्र जस्तै कलाकर्मी फेरि जुर्मुराउन थालेका छन् । ठुला पर्दाका फिल्म छायाँकन हुन नसके पनि अहिले म्युजिक भिडियो र साना पर्दाका श्रृंखला निर्माण भने कलाकार धमाधम जुट्न थालेका छन् ।
भदौं २८ 



प्रतिक्रियाहरु