चियर्स अस्पतालमा जीवनयोग प्रयोगशाला


भक्तपुर । मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीस्थित चियर्स अस्पतालमा जीवनयोग प्रयोगशाला संचालनमा आएको छ । विपी नेत्र प्रतिष्ठानद्वारा संचालित सो अस्पतालमा सो प्रयोगशाला शुरु गरिएको हो । अस्पताल निर्माणका परिकल्पनाकार एवं संस्थापक अध्यक्ष प्रा.डा. मदन उपाध्यायले प्रस्तावमा सो प्रयोगशाला संचालनमा ल्याइएको हो ।
प्रयोगशालाको बुधवार जीवन विकास विशेषज्ञ गुरु एल पी भानु शर्माले उद्घाटन गर्नुभयो । उद्घाटनका अवसरमा अध्यात्म विज्ञान प्रवचन समेतको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै शर्माले भगवान गौतम बुद्धका महावाणीका साथ अध्यात्म र विज्ञानका जोडिएको बताउनुभयो । मनुष्यमा अध्यात्मको अभाव भएमा हिनताबोध र हिनताबोधबाट नै लोभ जन्मिने बताउँदै शर्माले लोभले मानिस भयग्रस्त हुने बताउँनु भयो ।
जसको जीवनमा लोभ हुँदैन उ मात्र संसारमै अद्भुत कर्म गर्ने साहसी व्यक्ति हुने उल्लेखगर्दै शर्माले यो केवल योगाध्यानमय वा आध्यात्मिक जीवनमा मात्रै संभव हुने बताउँनु भयो । अध्यात्मले आन्तरिक खुशी र शान्तिको अनुभूति दिने उल्लेखगर्दै शर्माले अध्यात्म र विज्ञानको संतुलनबाट जीवनमा सुख, शान्ति एवं समृद्धि हासिल हुने भएकाले सबैलाई निरन्तर योगध्यान गर्दै आफ्ना दैनिक कर्म सम्पादन गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
योगध्यान र बिज्ञानको चर्चा गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अस्पताल र चिकित्सा विज्ञानले मनुष्यमा देखिने दुई आँखाको उपचार गरेपनि नदेखिने तेस्रो आँखाको उपचार जीवन विज्ञानले योगध्यानको माध्यमबाट गरिरहेको बताउँनु भयो । सर्वोच्च अदालतका न्यायधिश हरि फुँयालले अध्यात्मको माध्यमबाट मात्र मनुष्य जीवन सन्तुलित हुने बताउनुभयो । हाँस्य कलाकार जितु नेपालले अस्पताल परिसरमा दैनिक हुने योगध्यानको महत्वकोबारेमा चर्चा गर्नुभयो ।
कार्यक्रममा अस्पतालका अध्यक्ष डा. गौरीशंकरलाल दास, डा. संजीव उपाध्याय लगायतले मानिसले अध्यात्म ज्ञानको अभावमा जीवनलाई चिन्न नसक्दा भौतारिरहेको बताउदै जीवनको वास्तविक पहिचान र महत्वकाबारेमा बुझेपछि मानिसले शान्ति पाउने उल्लेख गर्नुभयो । जीवन बिज्ञानकी अभियन्ता बिष्णुकुमारी भट्टराईले आजबाट संचालनमा आएको प्रयोगशालामा दैनिक ध्यान, योग र अध्यात्म मार्फत मानवीय जीवनलाई परिवर्तन एवं आध्यात्मिक सुख प्रदान गर्ने कार्य गरिने बताउनुभयो ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु