स्टार्टअप एण्ड इन्नोभेसन मेलामा रोबोटको फुटवलदेखि सेटेलाइटसम्म


 काठमाडौं । लिभिङ विथ आइसिटीले आयोजना गरेको फ्युजमेशिन आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला सम्पन्न भएको छ । दुई दिन सम्म चलेको मेला शनिवार सम्पन्न भएको हो । थापागाँउस्थित प्रेसिडेन्टियल स्कुलमा आयोजना भएको कार्यक्रममा ५० भन्दा बढि स्टार्टअप तथा कलेजका विद्यार्थीहरुका प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको थियो ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव दिपक सुवेदीले मेला उद्घ्घाटन गर्दै सरकार डिजिटल नेपालको अभियानमा हिडिरहेको र यस प्रकारका कार्यक्रमले सो उदेश्य पुरा गर्न सहयोग गर्ने बताए । कार्यक्रममा सुचना प्रविधि मन्त्रालयका  सह सचिव बिरेन्द्र मिश्र क्यान महासंघका पूर्व अध्यक्ष विनोद ढकाल र प्रोफेसर डा. सुवर्ण शाक्यले उद्यमशिलता र सरकारको डिजिटल नेपालको अभियानको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रम संयोजक राजन लम्सालले पुर्वको पाँचथर देखि पश्चिम रोल्पा सम्म पुगेर आइटीका कार्यक्रम गरेको उल्लेखगर्दै स्टार्टअप, उद्यमिलाई प्रवद्धन गर्दै डिजिटल नेपालको अभियानलाई सहयोग पु¥याउनको लागि कार्यक्रम आयोजना गरेको बताए । मेलामा स्टार्टअप कम्पनीका नयाँ प्रडक्टहरु, विद्यार्थिले बनाएका इन्नोभेटिभ प्रोजेक्ट, रोबोटहरुको फुटवल प्रतियोगिता, जब फेयर तथा काउन्सिलिङ, रकेट विज्ञान तथा अन्तरिक्ष प्रविधि, नेपालको पहिलो नानो स्याटेलाइट, ड्रोन रोबट तथा नेपालीका नयाँ इन्नोभेसनहरु विशेष आकर्षण रहेका छन ।
 शिर्ष प्रायोजन फ्युज मेसिन्सले गरेको कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणको विशेष सहयोग रहेको थियो । आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेलामा ६ हजारवढिले अवलोकन गरेको आयोजकको दावी छ । लिभिङ विथ आइसिटीले यस अघि नै बैशाख र जेठमा बिराटनगर, बुटवल र नारायणगढमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला आयोजना गरिसकेको छ भने विगत ४ वर्षदेखि आइसिटी अवार्ड आयोजना गर्दै आइरहेको छ ।  

 



प्रतिक्रियाहरु