भक्तपुरबाट नमस्ते ख्वप टेलिभिजन एचडी शुभारम्भ

 
भक्तपुर । नमस्ते ख्वप टेलिभिजन भक्तपुरको गठ्ठाघरबाट बिधिवत रुपमा संचालनमा आएको छ । सो टेलिभिजनको महिला बालवालिका मन्त्री पार्वत गुरुङ्गले एक समारोह बिच उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधनगर्दै मन्त्री गुरुङ्गले सरकारले सुरु गरेको समृद्ध  नेपाल सुुखी नेपालीको अभियान सफल पार्न संचार माध्यमले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनु भयो । भ्रमण वर्ष २०२० सफल पार्न पार्दै आर्थिक रुपमा समृद्ध नेपाल बनाउने अभियानमा नमस्ते ख्वप टेलिभिजनले अहम भूमिका खेल्ने मन्त्री गुरुङको भनाई थियो ।
देशको अहिलेको अवस्था हिजोको जस्तो नरहेको चर्चा गर्दै मन्त्री गुरुङ्गले अहिलेको स्थायी सरकारले जनताको चाहना पुरा गर्दै देशको समृद्धि, सुखी नेपालीका चाहनालाई पुरा गर्ने काम गरिरहेको बताउनुभयो । स्थानीय सरकारले विकासलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको अवस्थामा सबै संचार माध्यम र सबै पत्रकार एवं सबै नेपालीले विकासका लागि काम गर्नुपर्ने मन्त्री गुरुङको जोड थियो । भक्तपुरलाई विश्वमा चिनाउन यो टेलिभिजन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
 प्रतिनिधीसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले संचार माध्यम समाज र राष्ट्रप्रति उत्तरदायी र जिम्मेवार रहनु पर्नेमा जोड दिदै भक्तपुरमा नमूनाको रुपमा भईरहेको विकासलाई टेलिभिजन मार्फत विश्वभर फैलाउने काममा नमस्ते ख्वप टेलिभिजनको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । सांसद बस्नेतले समाजको ऐनाको रुपमा आमदर्शकमाझ यो टेलिभिजन पुग्ने विश्वास व्यक्त गर्दै समाजमा बिकृती फैलाईरहेका केही अनलाईन र सामाजिक सञ्जालहरु छाडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा नियमन गर्न आवश्यक ठानेर सरकारले ल्याएको विधेयकको विरोध गर्नुभन्दा असहज बुँदा परिवर्तन गर्न तर्फ लाग्नु पर्नेमा जोड दिनुभयो ।
 बागमती प्रदेशका सांसद डा.राजेन्द्रमान श्रेष्ठ र सांसद शशिजंग थापाले पत्रकारिता पेशाप्रतिको आकर्षण बढ्दै गइरहेको तर, प्रकाशन गृह र पत्रकारहरु व्यवसायिक बन्न नसक्दा मर्यादित पत्रकारिता प्रभावकारी हुन नसकेको बताउनुभयो । कार्यक्रममा नेकपाका अध्यक्ष बचन देउजाले नमस्ते ख्वप टेलिभिजन भक्तपुरको मात्र नभई सिंगो देशको दर्पनको रुपमा अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले सो टेलिभिजनलाई स्थानीय तहको सहयोग रहने बताउदै भ्रमण वर्षकै अवसरमा उपत्यकाका मेयर फोरर्मले अन्तर्राष्ट्रिय मेयर सम्मेलनको आयोजना गर्न लागेको बताउनुभयो ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष एवं माउण्ट भ्यूका प्रिन्सिपल राजकुमार महर्जनले भ्रमण वर्ष सफल पार्न आफुनो तर्फबाट ६०० विदेशी पर्यटक नेपाल भित्रयाउने घोषणा गर्नुभयो । उद्घाटन समारोहमा  सकारात्मक परामर्शदाता रविन कटुवाललाई टेलिभिजनको ब्राण्ड एम्बेस्टर घोषणा गरिएको थियो । नमस्ते ख्वप टेलिभिजन संचालन समितिका अध्यक्ष बाबुकाजी श्रेष्ठ, प्रमुख ऋषिकेश श्रेष्ठ लगायतले यो टेलिभिजनलाई सबैले आफ्नो टेलिभिजन बनाउन सक्नेगरि सबैको टेलिभिजनको रुपमा सकारात्मक सन्देश प्रवाह गर्दै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा बिभिन्न सात प्रदेशको कला संस्कृति झल्कने प्रस्तुतीहरु, मयूर नाच लगायत बिभिन्न नाचहरु प्रस्तुत गरिएको थियो । सोहि क्रममा दुई दशकदेखि पत्रकारिता र साहित्यको क्षेत्रमा पु¥याएको भन्दै राष्ट्रिय समाचार समिति भक्तपुरका प्रमुख सम्वाददाता, रेडियो हिमालयन ९९.७ मेगाहर्जका स्टेशन म्यानेजर रमेश गिरी र चारदशकदेखि योगदान पुर्याउनु हुने शिक्षासेवी एवं आदर्श जनप्रेमीका संस्थापक रबि आचार्यलाई सम्मान पत्रका साथ भादगाउँले टोपी र माला लगाएर सम्मान गरिएको थियो ।

 



प्रतिक्रियाहरु