नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण शुरु


काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्य अघि बढेको छ । निर्माण कम्पनिले आयोजनास्थलमा आवश्यक तयारी अघि बढएको आयोजनाले जनाएको छ । मुलुककै पहिलो सुरुङमार्ग र ‘ओभरफ्लाइ’ का रुपमा निर्माण हुन लागेको आयोजना सडक यातायातमै नयाँ मानिएको छ ।  
निर्माणको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनीले हाल माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन, जनशक्ति व्यवस्थापन लगायतका काम अघि बढाएको छ । कम्पनीले अहिले आयोजनास्थलसम्म पुग्ने पुहँच मार्ग निर्माण शुरु गरिसकेको छ । आयोजनाअन्तर्गत काठमाडौँतर्फ बलम्बुसम्म दुई दशमलव पाँच किलोमिटर र धादिङतर्फ ५०० मिटर सडक निर्माण हुँदैछ । आयोजना हेर्ने गरी क्याम्प कार्यालय निर्माण र निर्माणस्थललाई पर्खालले घेर्ने काम भइसकेको छ ।

निर्माणस्थलमा नेपाली र चिनियाँ गरी ८० जनशक्ति कार्यरत छन् । सुरुङ निर्माण नेपालका मुलुकका लागिनै पहिलो अनुभव  भएकाले सडक विभागले तीन जना इञ्जिनीयर अनुभवका लागि पठाउने भएको छ । पछि अन्य स्थानमा सुरुङ बनाउन सहयोग पुग्ने जनाउँदै बिभागले तीन नेपाली ईन्जिनीयरलाई पठाउँन लागेको हो । निर्माणस्थलमा स्थानीयलाई मुआब्जा वितरण गरेर घर हटाउने, बिजुली, खानेपानीलगायतका संरचना हटाउने काम भइरहेको आयोजना प्रमुख श्यामप्रसाद खरेलले बताउनुभयो ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा सुरुङमार्गको लगानी आगामी सात वर्षमा उठ्ने उल्लेख छ । प्राविधिक दृष्टिकोणबाट ५०० मिटरभन्दा बढी लम्बाइको सुरुङमार्गलाई आधुनिक मानिन्छ । यस्ता सुरुङमार्गमा हावाका लागि भेण्टिलेटर र प्रकाशको व्यवस्था गरिने छ । नेपालमा ५०० मिटरभन्दा कम लम्बाइका तीन सुरुङमार्ग भए पनि त्यसभन्दा बढी लम्बाइका छैनन् ।
आयोजना सम्पन्न गर्न जापान सरकार अन्तर्गत जाइकाको सफ्ट लोन (०.०१ प्रतिशत ब्याजदरको सहुलियत ऋण) सहयोगमा साढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भएको थियो । सुरुङ मार्गका लागि कुल २२ अर्ब लाग्नेमा जाइकाले १६ अर्ब उपलव्ध गराउने छ भने बाँकी छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने जनाइएको छ । सुरुङमार्गको निर्माण अवधि ४२ मध्ये ४० महिना बाँकी छ ।
सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरुपमा हुने जाम हट्ने छ । सुरुङको कूल लम्बाइ दुई दशमलव सात किमिको हुनेछ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई वटा सुरुङ निर्माण हुनेछन् । सोहि आयोजना अन्तर्गत दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर तथा तीन किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ ।

 



प्रतिक्रियाहरु