भारतको मुम्बईमा ५३ जना पत्रकारमा कोरोना संक्रमण


नयाँदिल्ली । भारतको मुम्बईमा कार्यरत ५३ जना सञ्चारकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अमेरिकी समाचार संस्था सिएनएनले पछिल्लो पटक गरिएको परीक्षणमा ती सञ्चारकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको उल्लेख गरिएको छ । गत साता मुम्बईमा कार्यरत १ सय ६७ जना पत्रकारको स्वास्थ्य परीक्षण गर्दा ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको सिएनएनले जनाएको छ ।
कोरोना भाइरस देखिएका पत्रकारहरुलाई अहिले आइसोलेसनमा राखिएर उपचार अघि बढाइएको जनाइएको छ । कोरोना भाइरसको संक्रमण देखिएका पत्रकारहरुमा सम्वाददाता, क्यामरापर्सन र फोटोग्राफर रहेका छन् । जसमध्ये इलेक्ट्रोनिक मिडियामा काम गर्ने ५० जनाभन्दा बढी पत्रकार, क्यामरापर्सनमा कोरोना भाइरस देखिएको हो ।
मुम्बईको प्रेस क्लबले महाराष्ट्रका मुख्यमन्त्रीलाई पत्र लेखी पत्रकारहरुको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ समाचारमा जनाइएको छ । क्लबले पत्रकारितालाई अत्यावश्यक सेवाभित्र राखी पीडितलाई ५० लाख भारतीय रुपैयाँ उपलब्ध गराउनसमेत अनुरोध गरेको छ । मुम्बई भारतमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यको राजधानी हो । मुम्बईमा ४ हजार ६ सय ६६ जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २ सय ३२ जनाको मृत्यु भइसकेको छ ।



प्रतिक्रियाहरु