गुण्डागर्दीविरुद्ध अब उजुरी दिनुपर्दैन : उत्तमराज सुवेदी

राजधानीको  अपराध ट्रेन्ड कस्तो छ ? सुरक्षा चुनौती कस्ता छन् ?  
निश्चय पनि मुलुकमा अपराधको ट्रेन्ड बदलिएका छन् । लागुऔषध, गुण्डागर्र्दी, हत्या, अपहरणलगायत घटनाका शैली बदलिएका छन् । उदाहरणका लागि लागुऔषधलाई लिऊँ । हिजो यसका दुर्व्यसनी सहरमा मात्रै केन्द्रित थिए । तर, आज यसको जालो गाउँसम्म पुगेको छ । त्यसमा पनि तराईका सहर ज्यादा आक्रान्त हुनु सोचनीय विषय हो । गुण्डागर्दी  पनि हिजोजस्तो छैन । व्यक्ति अपहरणका घटना हिजोझैँ संगठित प्रकृतिका छैनन् । सामाजिक अपराध पनि विगतभन्दा फरक छन् । काठमाडौंको अपराध ट्रेन्ड  पनि यहीँ वरिपरि घुमेको देखिन्छ । त्यही भएर हामीले सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम ल्याएका हौँ । 

काठमाडौंमा आर्थिक अपराध सबैभन्दा ठूलो चुनौती बनेको तथ्यांकले देखाउँछ । यसलाई प्रहरीले कसरी लिएको छ ?
काठमाडौं मुलुकको राजधानी हो । मुलुकभरका मानिस यहीँ अटेका छन् । उनीहरू कुनै न कुनै ढंगले आर्थिक गतिविधिसँग जोडिएका छन् । दर्ता भएका मुद्दा र उजुरी विश्लेषण गर्दा आर्थिक कारोबारसँग जोडिएका अपराध सबैभन्दा धेरै छन् । प्रहरीको धेरै शक्ति यसैमा केन्द्रित छ । त्यसबाहेक साइबरसँग सम्बन्धित अपराध पनि धेरै छन् । यसको न्यूनीकरण गर्न प्रहरी सक्रियतापूर्वक लागेको छ । आर्थिक अपराधसँगै जोडिने वैदेशिक रोजगारसँग सम्बन्धित अपराध पनि हुन् । विशेषगरी ठगीका घटना धेरै हुने गरेका छन् । वैदेशिक रोजगार विभाग र हामी मिलेर पीडितलाई राहत दिने गरी नयाँ काम गर्ने योजना छ ।
विगतमा काठमाडौंको सुरक्षा चुनौती गुण्डागर्दीलाई मानिन्थ्यो । अहिले अवस्था कस्तो छ ?
विगतझैँ संगठित गुण्डागर्दी छैन । कोही झडपमा मारिए । कोही जेलमा कैदी जीवन बिताइरहेका छन् । बाहिर भएका पनि सक्रिय छैनन् । गुण्डागर्दी विरुद्ध प्रहरीको कडा कारबाहीकै प्रतिफल यस्तो भएको हो । तर, समाजसेवी र व्यवसायीको आवरणमा यदाकता गुण्डागर्दी हुने गरेको सूचना प्राप्त भएका छन् । यसप्रति प्रहरी सचेत छ । समाजमा भएका कुनै पनि गुण्डागर्र्दी प्रहरीलाई मान्य छैन । प्रहरी आफैँले गुण्डागर्र्दी खोज्नेछ, उजुरी दिन पीडित प्रहरी कार्यालयमा धाइरहनु पर्दैन । गुण्डागर्दी पृष्ठभूमिका अपराधीको सूचीकरण भइरहेको छ । उनीहरूका गतिविधि निगरानीमा छन् । 

चोरी, डकैती, लुटपाटजस्ता घटना झन् जटिल बन्दै गएको देखिन्छ । यसतर्फ प्रहरीको योजना के छ ?
चोरी र डकैतीका घटना भएका छन् । हामीले यसलाई घटनाको प्रकृतिअनुसार वर्गीकरण गरेका छौँ । जस्तो दिउँसो हुने र राति हुने चोरीका घटना फरक–फरक हुन् । यसमा सक्रिय हुने गिरोह पनि फरक छन् । त्यस्तै, सार्वजनिक बसमा हुने चोरी तथा पाकेटमारीमा सक्रिय हुने गिरोह फरक छन् । उनीहरूको पनि सूची बन्दै छ । अबको केही दिनभित्रै उनीहरूविरुद्ध अप्रेसन चल्छ । पटके चोरीको तथ्यांक विश्लेषण हुँदै छ । दोषी भेटिएकाविरुद्ध कानुनी कारबाही हुन्छ । 

संसारका राजधानी चौबीसै घन्टा खुला हुन्छन् । तर, काठमाडौं नौ बज्दा नबज्दै ठप्प बन्छ । यसलाई व्यवस्थित गर्न सकिँदैन ? 
कतिपय विषय राज्यको नीतिमा भर पर्छन् । यद्यपि ठमेल, चाबहिल, दरबारमार्ग, कोटेश्वर, कलंकी, कालीमाटीलगायत क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालन र व्यवस्थित गर्न अन्तरक्रिया गर्ने योजना बनेको छ । कतिपय ठाउँमा त छलफल नै भइसकेका छन् । रात्रिकालीन व्यवसायीले आफ्नो व्यवसाय क्षेत्रमा अनिवार्य रूपमा सिसिटिभी राख्ने, कर्मचारीको विवरण राख्ने, सबैलाई अनिवार्य रूपमा युनिफर्म र परिचयपत्र दिने, घटना हुनासाथ प्रहरीलाई खबर गर्नेजस्ता काम गर्नसके रात्रिकालीन व्यवसाय मर्यादित र सुरक्षित बन्छ । व्यवसायको आडमा देह व्यापार गर्न भने पाइँदैन । कसैले यस्तो हर्कत गरेको भेटिए उनीहरूविरुद्ध मानव बेचबिखन मुद्दामा कारबाही हुन्छ । यसमा हामी प्रस्ट छौँ ।

प्रहरी योजना
 सामुदायिक–प्रहरी साझेदारी
 रात्रिकालीन व्यवसाय सुरक्षित बनाउने  
 गुण्डागर्दीविरुद्ध विशेष अप्रेसन
 चोरको सूचीकरण 
 सार्वजनिक बसमा सेफ्टी पिन
 सडकमा सिसिटिभी

मुख्य पाँच चुनौती
 आर्थिक अपराध 
 साइबर अपराध 
 गुण्डागर्दी
 चोरी 
 लागुऔषध

 

साभार - नयाँ पत्रिका दैनिकबाट ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु