वडामै करोडभन्दा बढी कर उठाउँछौ, तर दश रुपैयाँ खर्च गर्ने अधिकार छैन : उत्तम थापा

भक्तपुरस्थित सूर्यविनायक नगरपालिका–४ ले साबिक दधिकोट गाविसको वडा नं. ४ देखि ९ सम्मलाई समेटेको छ । पहाडी र भिरालो जमिन रहेको वडामा ग्रामीण बस्ती धेरै छन् । तर, सहरीकरण र जनसंख्याको चाप भने बर्सेनि तीव्रगतिमा बढिरहेको छ ।

दुई हजार पाँच सय ४६ घरधुरी रहेको वडाको जनसंख्या १५ हजार दुई सय ७६ छ । वडाको विकास, समस्या र समाधानका लागि वडाध्यक्ष उत्तम थापासँग गरेको संवाद ।

 स्थानीय सरकार गठन भएपछि वडा कार्यालयको सेवालाई कसरी व्यवस्थित गर्नुभएको छ ? 
दुई दशकसम्म जनप्रतिनिधिविहीन भएका जनताको आशा र अपेक्षा हामीमाथि भयो । जनताका माग र आवश्यकता यति धेरै छन् कि स–साना भए पनि एकैपटक पूरा गर्न सकिने अवस्था रहेन । अहिले कमसेकम विगतभन्दा फरक महसुस गराउन कोसिस गरिरहेका छौँ । वडामा अधिकृतसहित ८–१० जना कर्मचारी आवश्यक छन् । तर, अहिले कार्यालय सहयोगीबाट खरीदारको काम लिनुपरेको छ । म आफैँ कर्मचारीझैँ वडा कार्यालयमा खटिएको छु ।

प्रायः बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म वडा कार्यालयमा बसेर काम गर्छु । बाँकी समय नगरपालिकामा बैठक, कार्यक्रम र गोष्ठीलाई दिन्छु । कहिलेकाँही त वडामै साँझ पर्छ । संघीयता कार्यान्वयनसँगै स्थानीय तह गठन भएपछि वडालाई थुप्रै अधिकार दिइएको छ । तर, आर्थिक अधिकार दिइएको छैन । हामीले वडाबाट एक करोड रुपैयाँभन्दा बढी राजस्व उठाउँछौँ, तर वडाका लागि चाहिने दुईवटा कुर्सी आफैँले खर्च गरेर खरिद गर्न पाउदैनौँ । दुई रुपैयाँ कसैलाई सहयोग गर्न प-यो भने गोजीबाटै खर्च गर्नुपर्ने अवस्था छ ।

पहिलेका स्थानीय निकायमा बजेट थोरै आउँथ्यो, तर आन्तरिक आम्दानीको खर्च गर्ने अधिकार थियो । अहिले बजेट बढेको छ । आन्तरिक आम्दानी पनि बढेको छ । तर, हामीलाई आफ्नो आवश्यकताअनुसार खर्च गर्ने अधिकार दिइएको छैन । केही समस्याहरू छन्, तर संघीयताको नयाँ अभ्यास भएकाले क्रमशः सुधार गर्दै लैजानुपर्छ भन्ने मत राख्दै आएको छु । 

 वडामा देखिएका मुख्य समस्याहरू के–के हुन् ?
वडामा समस्या थुप्रै छन् । तीमध्ये खानेपानीको समस्या मुख्य हो । हरेकजसो टोलमा सडकको ट्र्याक पुगेको छ । तर, सडक साँघुरा र कच्ची मात्रै छन् । धुलाम्मे र हिलाम्मे हुँदा वडावासीलाई सास्ती छ । बढ्दो सहरीकरणका कारण ढल व्यवस्थापनमा चुनौती थपिएको छ । सरकारी शैक्षिक संस्थाहरूको गुणस्तर गिरेको छ । स्वास्थ्य क्षेत्रमा पनि समस्या छन् । 

धुलो र हिलोमुक्त सडक कहिलेसम्म बनाइसक्नुहुन्छ ?
हामी निर्वाचित भएपछि वडामा मात्रै हैन, सिंगो नगरपालिकामा नै सडकको विकासलाई जोड दिएका छौँ । वास्तवमा विकासको मेरुदण्ड भनेकै सडक हो । वडा क्षेत्रका अधिकांश टोलमा सडक पुगेको छ । तर, कुनै पनि सडक कालोपत्रे छैनन् । हामीसँग अहिले जम्मा दुई किमि सडक मात्रै कालोपत्रे छ । गत वर्ष दुई वर्षको बजेटमध्ये मोटो रकम सडकमै खर्च भएको छ । हामीले हिङचोक–गाम्चा सडकको सीमांकन गर्ने र वाल लगाउने काम गरिरहेका छौँ । अब सडक विभागबाट ६ करोड रुपैयाँमा थप निर्माणको काम अघि बढ्दै छ ।

आव ०७५/७६ मा हाम्रो वडाको, नगरपालिकाको र प्रदेश सरकारको समेत गरी तीन करोडमा सडकको डेढ किमि खण्डमा सीमांकन वाल लगाइएको छ । चित्रपुर–सिरुटार सडक र सिकारीटार–उत्तिसघारी सडकमा पनि सीमांकनको काम भएको छ । ठिमी–तरखाल, महेन्द्रशान्ति–घ्याम्पेडाँडा, कटुन्जे–गाम्चा–लुभु सडक, दक्षिणबाराही–सिरुटार सडक, गुन्डु–तरखाल–जिल्ला चक्रपथ सडक, हर्षचोक–मगरगाउँ सडक आदि हाम्रो प्राथमिकतामा छन् । क्रमशः यी सडकको सीमांकन गर्ने र कालोपत्रे गर्ने काम अघि बढाउँछौँ । मैले नगरपालिका, प्रदेश र सडक विभागसम्म वडाका सडकको स्तरोन्नतिका लागि निरन्तर पहल गरिरहेको छु । 

 खानेपानी र ढलको अवस्था कस्तो छ ?
प्राकृतिक रूपमा रहेका मुहान अब कमै मात्र बाँकी छन् । अझै पनि करिब २० प्रतिशत वडावासीका घरमा धारो छैन । उपभोक्ताको संख्या र माग दुवै बढ्दै गर्दा हामीले पानीको मुहानलाई उसैगरी व्यवस्थित गर्न सकेका छैनौँ ।

वडा क्षेत्रमा करिब १० वर्षदेखि प्रयोग गरिरहेको उत्तिसघारी मुहान अझै बाँकी छ । तर, पानीको मात्रा बर्षेनि घट्दो छ । अन्य चरखण्डी, उत्तिसबारी र जोगीपाटी नजिकै हामीले विगतदेखि नै डिपबोरिङ गरेर पानी वितरण गरेका थियौँ । तर, अहिले त्यहाँ पनि पानी घटेको छ । पहिले आठ लिटर प्रतिसेकेण्ड आउने गरेकामा अहिले प्रतिसेकेण्ड तीन लिटर मात्रै पानी आउने गरेको छ । जमिनमा पानी रिचार्जका लागि पोखरीहरूको निर्माण र संरक्षण थालेका छौँ । फेरि पनि डिपबोरिङ गर्ने र पानी वितरण गर्नेबाहेक तुरुन्तै अर्को समाधानको बाटो छैन । 

अर्को, ढल व्यवस्थापनको विषय अझै जटिल बनेको छ । बर्षेनि सरदर ५–७ सय घर थपिनेक्रम छ । तर, त्यहाँबाट निस्किने ढल र फोहोरको व्यवस्थापनमा समस्या छ । विशेष गरी हर्षचोक, दक्षिणबाराही, चख्खुफाँटलगायत बाक्लो बस्ती भएका ठाउँमा ढलको समस्या छ । ढल व्यवस्थापनका लािग फिल्टर प्लान्ट चाहिने हो, तर हामीकहाँ त्यसका लागि उपयुक्त जग्गा छैन । अहिले हनुमन्ते नदीमा लगेर मिसाइएको छ ।

 पर्यटन विकासका लागि के–के गर्दै हुनुहुन्छ ? भक्तपुर भ्युप्वाइन्ट बनाउने योजना कहाँ पुग्यो ? 
हामीले वडाको पर्यटन विकासका लागि अनन्तलिंगेश्वर मन्दिरसँगै भक्तपुर भ्युप्वाइन्ट निर्माणको योजना अघि सारेका छौँ । यहाँको कैलाश डाँडा आफैँमा भ्युटावरझैँ छ । हामीले अझै एउटा सुविधा सम्पन्न भ्युप्वाइन्ट निर्माण गरी पर्यटन विकासका लागि योजना बनाएका हौँ । ४२ फिट अग्लो तीनतले टावर निर्माण गर्न दुई करोड रुपैयाँमा टेन्डर लागिसकेको छ ।

अब सम्झौता भएर काम सुरु हुन बाँकी छ । टावर बनेपछि मनोरम हिमशृंखलासहित सूर्योदयको दृश्य, उपत्यकाका तीनवटै जिल्लाको दृश्य एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । यो भ्युटावर मेरै कार्यकालमा पूरा गर्ने र यहाँको लिच्छविकालीन अनन्तलिंगेश्वर मन्दिरसँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने सोच छ ।

वडामा अरू पनि धार्मिक, सांस्कृतिक सम्पदा छन् । हालै दक्षिणबाराही पार्क निर्माण थालेका छौँ । करिब दुई रोपनी क्षेत्रमा बन्ने पार्कमा अहिले ५० लाख रुपैयाँ खर्च भइसकेको छ । अब २० लाख रुपैयाँ चालू वर्षमा खर्च हुँदै छ । केटाकेटी र युवायुवतीका लागि छुट्टाछुट्टै पार्क निर्माण गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने योजना छ । 

 शैक्षिक सुधारका लागि के–के गर्दै हुनुहुन्छ ?
ग्रामीण बस्ती भए पनि नजिकै सहर भएकाले यहाँका अभिभावकमा छोराछोरीलाई निजी विद्यालयमा पढाउने प्रतिस्पर्धा छ । यहाँ रहेका एक माध्यमिकसहित चारवटा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीको संख्या अत्यन्तै गिर्दो अवस्थामा छ । त्यसलाई सुधार गर्न नगरपालिकाले स्थानीय शिक्षा ऐनमार्फत विशेष योजना बनाएको छ । जनप्रतिनिधि नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था लागू भएपछि विद्यालयको शैक्षिक गुणस्तर सुध्रिँदो छ । 

 तपाईंको वडामा नगरकै एक मात्र अस्पताल बनाउने योजना छ । कसरी काम भइरहेको छ ? 
सूर्यविनायक नगरपालिकामा स्वास्थ्यको भरपर्दो पहुँच विस्तार भइसकेको छैन । नगरपालिकामै एउटा पनि भरपर्दो स्वास्थ्य सेवा उपलब्ध हुने अस्पताल नभइरहेका वेला ग्रामीण क्षेत्र रहेको हाम्रो वडामा स्वास्थ्य सेवा प्रवाह गर्नु चुनौतीपूर्ण छ ।

नगरपालिकाले अहिले हाम्रै वडामा रहेको दधिकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको आधुनिक दधिकोट सामुदायिक अस्पताल बनाउने योजना अघि सारेको छ । तर, पूर्वाधारको समस्या छ । हामीले हालै एउटा नयाँ भवन बनाएका छौँ । चारजना डाक्टर छन् । सेवा राम्रो छ ।

उपकरण खरिद र व्यवस्थापनमा पनि जोड दिएका छौँ । तर, अब थप चाहिने पूर्वाधार विस्तारमा समस्या छ । भवन बनाउन जग्गा छैन । जग्गा कसैले दिदैन । जग्गा किनेर भवन बनाउन र अस्पताल सञ्चालन गर्न सकिँदैन । हामीले जग्गा नभएकै कारण अस्पतालका लागि आएको पाँच करोड रुपैयाँ गुमायौँ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु