भक्तपुरको सुर्यविनायक नगरपालिका–३ ले साबिक बालकोट गाविसको वडा नं. ७, ८ र ९ लाई समेटेको छ । सानो भूगोल भए पनि वडामा धेरै जनसंख्या छ । वडामा नाम चलेका राजनीतिज्ञ, शिक्षाविद्, कलाकार, सामाजिक अभियन्ताको बसोवास छ । वडाका विकास, निर्माण र समस्यालगायतका विषयमा वडाध्यक्ष शिवशरण खत्रीसँग गरिएको संवाद ।
तपाई निर्वाचित भएपछि वडाका सेवालाई कसरी व्यवस्थित गर्नुभएको छ ?
तत्कालीन बालकोट गाविसका ७, ८ र ९ वडा मिलेर बनेको यो वडा सानो, चर्चित र समस्याग्रस्त छ । यहाँ मुलुककै सामाजिक, आर्थिक प्रभुत्व जमाएका व्यक्तिहरू बस्छन् । यहाँ विशेषगरी न्यायाधीश, सचिव, सहसचिवस्तरका कर्मचारी र अधिकांश निजामती कर्मचारीको बसोवास छ ।
आफ्नो व्यवस्थापनका लागि सबै वडावासी सक्षम छन् । तर, पूर्वाधार र सामाजिक हिसाबले यहाँ थुप्रै समस्या छन् । ती समस्या सुल्झाउन हामी निर्वा्चित भएपछि हरतरहले कोसिस गरेका छौँ । विशेष गरी पूर्वाधारका योजनाको माग बढी छ । संघीयता कार्यान्वयनसँगै स्थानीय तह गठन भएपछि वडालाई थुप्रै अधिकार दिइएको छ । तर, आर्थिक अधिकार दिइएको छैन । हामीसँग बजेट थोरै छ, काम गर्नुपर्ने धेरै छ ।
आर्थिक अधिकारका हिसाबले वडाध्यक्षलाई खुम्च्याइको छ । नगरपालिकाले जे दियो, त्यही हात थापेर वडामा खर्च गर्नुको विकल्प छैन । वडावासीको थोरै–थोरै योगदानबाट लाखौँ रूपैयाँ राजस्व संकलन हुन्छ । तर, त्यति मात्र पर्याप्त हुन्न, समग्र नगरपालिकाको अवस्थालाई हेरेर विकासका कामहरू गर्नुपर्छ । त्यसैले, सोचेजस्तै फटाफट काम गर्न सकिएको छैन । वडावासीलाई एकैपटक धेरै बजेट र योजना चाहिएको छ । माग सबैतिरबाट उही किसिमका आउँछन् । हामीले विभिन्न टोलमा पुगेर समस्याहरूबारे छलफल गरेका छौँ ।
सबैका माग सडक र खानेपानीसँग जोडिएका छन् । प्रदेश र संघीय सरकारमा फरक राजनीतिक नेतृत्व भएका कारण पनि मैले आशा गरे जति बजेट र कार्यक्रम पाउने कुरै भएन । मैले नगरपालिकामा जोड दिएर वडाको विकासका लागि पहल गर्दै आएको छु ।
वडावासीका मुख्य मुख्य समस्या के–के छन् नी ?
वडामा समस्या थुप्रै छन् । तीमध्ये मुख्य समस्या विपद् पर्दा टाउको लुकाउने ठाउँसम्म पनि छैन । खुला क्षेत्र, पार्क, सार्वजनिक चौतारी वा अन्य सार्वजनिक संरचना बनाउने ठाउँ छैन । अलिकति पनि सरकारी, पर्ती वा सार्वजनिक जग्गा नहुँदा हामीले धेरै ठुलो समस्या भोगिरहेका छौँ । वडा कार्यालयलगायत अन्य सरकारी कार्यालय भाडाका घरमा राख्नुपरेको छ । हालै मर्ज भएको विद्यालयको जग्गा र भवनमा वडा कार्यालय सार्ने तयारी गरिएको छ । बजेट भए पनि भवन बनाउँन सकिएको छैन । व्यक्तिले आफ्ना नाममा भएको जग्गा दिँदैनन्, अहिलेको भाउअनुसार जग्गा खरिद गर्न हामीसँग बजेट छैन । पर्ती जग्गा नहुनु हाम्रो विकासको एउटा बाधा नै बनेको छ । अर्को, समस्या खानेपानीको हो । सडक, शिक्षा, ढल व्यवस्थापन, र स्वास्थ्य क्षेत्रमा पनि समस्या छन् ।
वडामा सडकको अवस्था कस्तो छ ? के–के गर्दै हुनुहुन्छ ?
वडामा त्यस्ता घर सायदै होलान्, जहाँ सडक नपुगेको होस् । तर, अहिलेसम्म एउटा पनि कालोपत्रे सडक छैन । हामीले केही सडकलाई कालोपत्रे गर्ने काम थालेका छौँ । अधिकांश सडक मापदण्डबमोजिम विस्तार भएका छैनन् । घर बनाउनेले मापदण्डअनुसार बाटो छाडेर घर बनाएका छन् । जग्गा हुनेले बाटोका लागि जग्गा दिन मान्दैनन् । सीमांकन गर्न समस्या हुने गरेको छ ।
अहिले भएका २–३ मिटरका सडकलाई विस्तार गरेर कम्तीमा ६ मिटर र मुख्य सडकहरूलाई आठ मिटरका बनाउने हाम्रो योजना छ । वडा क्षेत्रका रोजभिलेज हुँदै बालकोट चोक पुग्ने डेढ किमि सडक सीमांकन गरेर कालोपत्रे गर्ने तयारी छ । कालोपत्रेका लागि सडक विभागले ठेक्कासमेत लगाइसकेकाले केही महिनाभित्रै कालोपत्रे हुन्छ । यस्तै, ठिमी बम्हनगर–वडा कार्यालय–मायादोबाटो (१.७ किमि) सडक पनि कालोपत्रेको तयारीमा छ ।
यहाँ प्रदेश सरकारको पाँच करोड रूपैयाँ छ । वडा नं. ३ र ४ को सीमादेखि फलामे पुलबाट पानीट्यांकी हुँदै चित्रपुर जोड्ने करिब एक किमि सडक चौडा गर्नुपर्नेछ । गोदावरी पुलदेखि चित्रपुर सडक कच्ची छ । यहाँ पनि विभागकै करिब १२ करोड बजेटमा विस्तार र कालोपत्रेको तयारी भइरहेको छ । वडाको करिब दुई करोड विकास बजेटमध्ये मोटो रकम सडकमै खर्चिएका छौँ । तर, सीमांकन र मर्मतकै लागि अझै पुगेको छैन । क्रमशः सबै सडकलाई विस्तार गरी कालोपत्रेको काम अघि बढाउँछौँ । मैले नगरपालिका, प्रदेश र सडक विभागसम्म वडाका सडकको स्तरोन्नतिका लागि पहल गर्दै आईरहेको छु ।
खानेपानी र ढलको कस्तो समस्या हो ?
वडामा हरेकजसो घरमा इनार छन् । तर, इनारमा पानी भने पहिलेको तुलनामा घट्दो छ । हामीकहाँ काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पानी वितरण गरेको छैन । दुईवटा उपभोक्ता समितिले खानेपानी वितरण गरेका छन् । तर, पुग्ने पानी वितरण भएको छैन । हप्तामा बल्ल एक–दुईपटक धारामा पानी आउँछ । सबै उपभोक्ताले पिउने पानी किनेरै उपभोग गर्छन् ।
डिपबोरिङ गरेका ठाउँमा पनि पानी निस्कन छाडेकाले समस्या सुरु भएको छ । वडामा यति डिपबोरिङ भएको छ भन्ने कुनै तथ्यांक पनि छैन । यहाँ ८–१० जना मिलेर डिपबोरिङ गर्ने र पानी उपभोग गर्नेहरू पनि छन् । जथाभावी डिपबोरिङका कारण पनि जमिनमुनिको सतहमा समेत पानीको मात्रा कम भएको छ । अब मेलम्ची पर्खिनुको विकल्प हामीसँग छैन ।
अर्कोतर्फ, वडामा ढल निकासको व्यवस्थापन नै भइसकेको छैन । साबिक वडा नं. ९ को ढल सीधै हनुमन्ते नदीमा मिसाइएको छ । ढल निर्माणका लागि सबैतिर माग आएको छ । तर, पर्याप्त बजेट नहुँदा र ढललाई लगेर व्यवस्थित गर्ने ठाउँसमेत नभएकाले समस्या भएको छ । ढललाई लगेर खोलामा मिसाउन नपाइने हो, तर विकल्प दिन पनि सकिएको छैन ।
शैक्षिक सुधारका लागि के–के गर्दै हुनुहुन्छ ?
यहाँ शिक्षित र आर्थिक रूपले सम्पन्न अभिभावक बस्छन् । त्यसैले बच्चाहरू पनि महँगा निजी बोर्डिङ स्कुलमै पढ्ने धेरै छन् । वडामा दुईवटा विद्यालय थिए । त्यसमध्ये विद्यार्थी नभएकै कारण बालकोट आधारभूत विद्यालय मर्ज गरियो । अब गणेश आधारभूत विद्यालय (कक्षा–५) मात्रै छ । त्यहाँ पनि ७०–७५ जना मात्र विद्यार्थी छन् । त्यसलाई व्यवस्थित र गुणस्तरीय बनाउन हामीले वडा कार्यालयबाट निरन्तर पहल गरेका छौँ ।
नगर शिक्षा समितिले सबै सामुदायिक विद्यालयको व्यवस्थापनमा जनप्रतिनिधि नै अध्यक्ष हुने व्यवस्था गरेपछि म आफैँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको छु । सो विदालयमा कक्षा–३ सम्म अंग्रेजी माध्यमबाट पढाइ हुन्छ । शिक्षकलाई नियमित गर्ने, विद्यालयको पठनपाठनको वातावरण सुधार गर्ने र गुणस्तर वृद्धि गर्न हामीले पहल गरिरहेका छौँ ।
यस्ता छन्, वडाका योजना
सडक स्तरोन्नति र कालोपत्रे
खानेपानी र ढल विस्तार
शिक्षाको गुणस्तर वृद्धि
गुणस्तरीय स्वास्थ्य सेवा
स्वास्थ्य केन्द्र विस्तार
वडाका मुख्य समस्या
साँघुरा कच्ची सडक
पिउने पानीको अभाव
कमजोर सार्वजनिक शिक्षा
ढल व्यवस्थापन
भरपर्दो स्वास्थ्य सेवा अभाव