घुससहित मालपोतका कर्मचारी पक्राउ

सर्लाही । सर्लाहीमा मालपोत कार्यालयका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत कार्यालयका नायव सुब्बा बेदनिधि बराललाई अख्तियारको टोलीले लेखापढी व्यवसायी रामसुन्दर महतोसँग घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले नायव सुब्बा बराललाई घुसरकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।  लालपुर्जामा नाम सच्याउनका लागि एक सेवाग्राहीसँग नासु बरालले व्यवसायी महतोमार्फत ११ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले दुवै जनालाई रंगेहात फेला पारेको जनाइएको छ ।अख्तियारको टोलीले लेखापढी व्यवसायी महतोलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवैजना माथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासले जनाएको छ । -पुस २३ 



प्रतिक्रियाहरु