कागेश्वरी मनोहरामा विश्वकै ठूलो काग निर्माण हुने


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा विश्वकै ठूलो पञ्चरत्न धातुको काग निर्माण गरिने भएको छ । नगरपालिकाको लोकतान्त्रिक सहिद पार्कमा दुई हजार किलोको काग निर्माण गर्न लागिएको हो । फागुन ७ गते मनाइने कागेश्वरी महोत्सवमा उक्त पञ्चरत्न धातुको काग राखिने नगर पालिकाले जनाएको छ ।
शनिवार एक मलेसियन नागरिकले नगरपालिका वडा नं. १ गागलमा विश्वकै ठूलो काग निर्माणका लागि पञ्चरत्न जडित बाला र डा. राम उप्रेतिले तामाको ग्रागी काग निर्माणका लागि  नगरपालिकालाई प्रदान गर्नुभयो । मलेसियन नागरिकलाई सानै उमेरमा उहाँको आमाले हातमा लगाइदिएको पञ्चरत्न जडित बाला र डा. उप्रेतिले आफ्नो बिबाहमा दाइजो स्वरुप प्रदान गरिएको तामाको ग्रागी नगरपालिकाका प्रमुख कृष्णहरी थापामार्फत वडा नं. १ का वडाध्यक्ष मुकुन्द गजुरेललाई प्रदान गर्नुभएको हो ।
वडाध्यक्ष गजुरेलले मलेसियन नागरिक र डा.उप्रेतिलाई काग निर्माण गर्ने पवित्र कार्यका लागि प्रदान गरिएको बाला र तामाको गाग्री प्रदान गरिएकोमा सराहना गर्नुभयो । उहाँले भन्नुभयो, “यस अभियानमा लागौं  र हामी सँगसँगै अगाडि बढौं  ।” नगरपालिकाका प्रमुख थापाले नगरपालिकाले विश्वकै ठूलो दुई हजार किलोको काग  निर्माण गरेर इतिहास रच्न लागेको बताउनुभयो ।
अहिले इन्डोनेशियामा एक हजार चार सय किलोको धातुको काग निर्माण भएको छ ।  कागेश्वरी मनोहरा नगरपालिकाले नै कागेश्वरी मन्दिरमा २२७ किलोको काग यस अघिनै निर्माण गरिसकेको छ । नगर प्रमुख थापाका अनुसार, नगरपालिकालाई पर्यटकीय गन्तव्यको केन्द्र बनाउँन पनि  नगरपालिकाले पर्यटन प्रबद्र्धन गर्ने विभिन्न कार्य गर्ने योजना बनाएको छ ।


 



प्रतिक्रियाहरु