सूर्यविनायक ७ नं. वडा गुण्डू पूर्णसरसफाइ वडा बन्ने



 
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं.७ (गुण्डू) पूर्णसरसफाइ वडा निर्माण हुने भएको छ । शनिवार गुण्डू स्वास्थ्य चौकीमा भएको वडास्त्तरीय खानेपानी सरसफाइ तथा स्वच्छन्दता समन्वय समितिको आयोजनामा भएको  वडाभित्रका सबै संघ संस्थाको बृहत भेलाले आगामी २०७७ सालभित्र ७ नं. वडालाई पूर्णसरसफाइ युक्त वडा बनाउने कार्यायोजना पारित गरेको हो ।
 पूर्णसरसफाइ कार्ययोजनामा वडाध्यक्ष रबिन्द्र सापकोटाको संयोजकत्वमा १९ सदस्यीय मूल  वडास्त्तरीय स्वच्छता समन्वय समिति, उक्त समिति अन्तर्गत साविक गुण्डू १, २ र ३ समेटिएर गुण्डू सहकारी बचत तथा ऋण सहकारी संस्थाका गणेशबहादुर गिरीको संयोजकत्वमा १५ वटा संस्था सदस्य रहेको सरसफाइ समिति, ५, ६ र ७ समेटिएर किवाचोक युवा अभियान संस्थाका नविन माकजु संयोजक रहेको उपसमितिमा १३ वटा संस्था सदस्य रहेका छन् ।
त्यस्तै साविक गुण्डूकै वडा नं. ४, ८ र ९ समेटिएर पाथीभरा माता वैर्णोदेवी व्यवस्थापन समितिका तर्फबाट सरद बस्नेतको संयोजकत्वमा १७ वटा संघ संस्था सदस्य रहेको उपसमिति निर्माण गरिएको छ । “स्वस्थ जीवन, स्वच्छ खोलानाला, सम्पदा र धरोहर उठौं जागौं पूर्ण सरफाइ उन्मुख सूर्यविनायक नगर” भन्ने नारा तय गर्दै कार्ययोजना तयार गरिएको हो । उक्त समितिले सरसफाइ र स्वच्छन्दतालाई उच्च प्राथमिकता दिइ बजेट विनियोजन गर्ने, फोहोरलाई अनिवार्यरुपमा कुहिने र नकुहिने गरी घरबाटै बर्गिकरण गर्ने र कुहिने फोहोरलाई घरमा नै व्यवस्थापन गर्ने, सबै घरमा हात धुने स्थान, फोहोर सढाउने खाडल बनाउने, कुकुर लगायत घरपालुवा जनावारले गर्ने फोहोर घरको पर्खालभित्रै व्यवस्थापन गर्नेपर्ने कार्ययोजनमा उल्लेख गरिएको छ ।
त्यस्तै पूर्णसरसफाइ अभियानमा आमा समूह, टोल समूहलाई सक्रिय गराउने,  खानेपानीको मुहानदेखि मुखसम्म शुद्ध बनाउन सरसफाइ र शुद्धिकरण विधि अपनाउने, विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि व्यावहारिक ज्ञान प्रदान गरी शौचालको दैनिक सफा गरी सुरक्षित पिउने पानीको व्यवस्थापन गरिनेछ । हरेक शनिवार आआफ्नो टोल, सार्वजनिक स्थल सफा गर्ने र घर तथा सार्वजनिक स्थलमा फूल बिरुवा रोप्ने, विद्यालय र समुदायमा महिनावारी स्वच्छता व्यस्थापन सम्बन्धि खुलेर छलफल गर्ने र महिलामैत्री शौचालय निर्माण गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ ।
 वडा स्त्तरीय समन्वय समिति र उपसमितिले नियमितिरुपमा अनुगमन गर्ने, पूर्ण सरसफाइ गर्ने उत्कृष्ट व्यक्ति, घर र समुदायलाई पुरस्कृत गर्ने कार्ययोजना तयार गरिएको छ । सूर्यविनायक नरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले वडाको प्रत्येक घरलाई पूर्ण सरसफाइ महाअिभयानमा सहभागि गराई आगामी २०७७ सालभित्र वडालाई पूर्णसरसफाइयुक्त वडा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा सहभागि मूलसमारोह समिति र उपसमितिका पदाधिकारी र सदस्यलाई वडाध्यक्ष सापकोटाले आजकै मितिदेखि मन, बचन र कर्मले पूर्ण सरसफाइ अभियानमा लाग्ने अठोटका साथ सपथ ग्रहण समेत गराउनुभएको थियो ।
 सूर्यविनायक नगरपालिकाका  १० वटा वडामध्ये वडास्त्तरमा पूर्णसरसफाइ कार्ययोजना बनाइ कार्यान्वयन गर्ने ७  नं.वडा पहिलो भएको  छ । सरसफाइलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्नका लागि  रञ्जना खुलीमूलिलाई सरसफाइ सहजकर्तामा नियुक्ती गरिएको समितिले जनाइएको छ ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु