नेपाल ईन्जिनियरिङ्ग कलेज नगरपालिकाले संचालन गर्ने

 
 
 
भक्तपुर । विवादित नेपाल ईन्जिनियरिङ्ग कलेज चाँगुनारायण नगरपालिकाले संचालन गर्ने भएको छ । चाँगुनारायण नगरपालिकाको चौथो नगरसभाले सो कलेज नगरपालिकाबाट सञ्चालन गर्नु पर्ने निर्णय गरेको हो । नगर प्रमुख सोमप्रसाद मिश्रका अनुसार, चौथो नगरसभाले नेपाल ईन्जिनियरिङ्ग कलेज नगरपालिकालेनै संचालन गर्ने गरि कार्ययोजना समेत पारित गरेको हो । 
प्रमुख सोमप्रसाद मिश्रले कलेजका पुराना संचालकसंग नगरपालिकालाई कलेज हस्तान्तरण गर्न पत्राचार गर्ने बताउदै कलेजको सम्पूर्ण स्वामित्व अब नगरपालिकाले ग्रहण गर्ने बताउनुभयो । त्यसैगरि नगरसभाले नगरपालिका क्षेत्र भित्र पर्यटनको विकासका लागि आतिथ्य परियोजना संचालन गर्ने प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव पारित भएसंगै अमेरिकामा रहेका नेपाल हस्पिटालिटी एसएलसी अमेरिकाको तर्फबाट २ अर्बको वैदेशिक लगानी भित्र्याएर पर्यटन क्षेत्रको विकास गर्ने बाटो खुलेको नगर प्रमुख मिश्रले बताउनुभयो । 
त्यसैगरि नगरसभाले चाँगुनारायण नगरपालिका वडा नं. ४ मा १०० रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय खेलकुद मैदान बनाउने प्रस्ताव पारित गरेको छभने नगरसभाले बन्द भएका यहाँका प्राकृतिक श्रोत तथा खानी संचालन गर्ने निर्णय गरेको छ । निर्णयसंगै नगरपालिका क्षेत्र भित्रका बालुवा र माटो खानी संचालन गर्ने बाटो खुलेको छ । सभामा प्रस्ताव भएका विभिन्न विद्येयकहरु माथि दफाबार छलफल गरि सर्वसम्मतले विद्येयक पारित गर्दै नगरसभा सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरिञ्जिवी तिम्सिनाले बताउनुभयो ।
नगरसभाले विनियोजित ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७५, शिक्षा ऐन २०७४ को संशोधन गर्न बनेको विधेयक २०७५, नगरपालिकाबाट कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, चाँगुनारायण नगरपालिकाको विपद जोखिम न्यूनिकरण एवं व्यवस्थापन गर्न बनेको विद्येयक २०७५ र यस नगरपालिका क्षेत्रभित्र आतिथ्य परियोजना विकासको लागि गरिएको सम्झौता अनुमोदनका लागि बनेको विधेयक नगरसभाले सर्वसम्मत रुपमा पारित गरेको तिम्सिनाले बताउनुभयो ।



प्रतिक्रियाहरु