विन्दवासिनी खानेपानीको ऋण सम्झौता सम्पन्न

 
भक्तपुर । विन्दवासिनी बृहत (लिफ्ट) खानेपानी जल उपभोक्ता संस्थाले नगर विकास कोषबाट ऋण लिने भएको छ ।  भक्तपुरस्थित चांगुनारायण नगरपालिका–९ को बिन्दवासिनी र नगर विकास कोष काठमाडौं बीच ऋण लिने सम्बन्धमा संझौता सम्पन्न भएपछि विन्दवासिनी बृहत (लिफ्ट) खानेपानी जल उपभोक्ता संस्थाले ऋण लिने बाटो खुलेको हो । समझौता अनुसार, बिन्दवासिनीले नगर विकास कोषबाट २ करोड २८ लाख २८ हजार ३ सय ७९ रुपैयाँ ऋण पाउँनेछ ।
सम्झौतामा विन्दवासिनी (बृहत लिफ्ट) खानेपानी जल उपभोक्ता संस्थाका अध्यक्ष नकुल राउत र नगर विकास कोषका कार्यकारी निर्देशक मणिराम सिंह महतले  हस्ताक्षर गर्नु भएको थियो । संझौता कार्यक्रममा कोषका अन्य उच्च पदस्थ कर्मचारी र संस्थाका पदाधिकारीको समेत उपस्थिति रहेको थियो । विन्दवासिनीले  भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली तथा आसपासका स्थानीयलाई लक्षित गरी खानेपानी आयोजना निर्माण गर्दै आएको छ । 
करिब १४ करोड रुपैयाँको लागतमा सम्पन्न हुने खानेपानी आयोजनामा नेपाल सरकारको ७० प्रतिशत र जनसमुदायको ३० प्रतिशत लगानी रहेको अध्यक्ष नकुल राउतले बताउँनु भयो । जनसमुदायले लगानी गर्ने ३० प्रतिशत रकम उठाउन समय लाग्ने भएकाले नगर विकास कोषबाट ऋण लिइएको संस्थाका अध्यक्ष राउतले बताउँनु भयो । आयोजनाबाट ताथली र आसपासका गरी १ हजार ५ सय घर धुरीले स्वच्छ खानेपानी सुविधा प्राप्त गर्ने जनाइएको छ । 
आगामी साउन भित्र सम्पन्न गर्ने लक्ष्य दिइएको आयोजनाले ५ लाख लिटरको ट्याङकी र २ वटा डिप बोरिङ गर्ने काम सम्पन्न गरिसकेको छ भने कार्यालय भवन र पाइपलाइनको काम धमाधम भईरहेको छ । यो ऋण संझौताले संस्थाले निर्माण गरिरहेको खानेपानी आयोजनालाई सम्पन्न गर्न ठूलो मद्दत पुग्ने अध्यक्ष राउतले बताउनु भयो । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु