सुरक्षा चुनौति समाधान गर्न प्रहरी सक्षम ः प्रहरी महानिरीक्षक खनाल

 
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, अपराध नियन्त्रणका साथै विकासका गतिविधिमा देखिएका सुरक्षा चुनौतीमा सामना गर्न प्रहरी सक्षम रहेको बताउनुभएको छ  । २०७५ सालमा नेपाल प्रहरीबाट सम्पादन भएका कार्य र हासिल उपलब्धीहरु सम्बन्धमा प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सो कुरा बताउनुभएको हो । 
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सुरक्षाको चुस्तता, शान्ति सुरक्षाको राम्रो अवस्था सिर्जना गर्ने, अपराध अनुसन्धान तथा समाजमा हुने अवान्छित गतिविधिहरु नियन्त्रणका साथै त्यस्ता गतिविधिहरु निर्मूल गर्नेतर्फ प्रहरी सदैव केन्द्रित रहेको बताउनुभयो । अपराध नियन्त्रणमा २०७५ सालमा उल्लेख्य काम भएको चर्चा गर्दै खनालले शान्ति सुरक्षालाई चुस्त, दुरुस्त र सुढृढ बनाउन र अपराध नियन्त्रण गर्न प्रहरीले पूर्ण व्यवसायिक रुपमा पारदर्शी ढंगले काम गरिरहेको उल्लेख गर्नुभयो । 
राष्ट्र निर्माणको दायित्व सबैको उत्तिकै भएकोले यस कार्यमा साथ र सहयोग गर्न खनालले संचारकार्मीहरुलाई आग्रह समेत गर्नुभयो ।  प्रहरी महानिरीक्षक खनालले अपराध अनुसन्धान तथा नियन्त्रणमा समुदायको भूमिका अहम रहने र समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध नियन्त्रण तथा अपराधिक क्रियाकलाप नियन्त्रणमा समुदायको सहयोग भइरहेको चर्चा गर्नुभयो । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन तीन महिने अभियान सुरु गरिएको जानकारी दिँदै खनालले यसका लागि सबै सरोकारवाला निकायले समन्वयात्मक रुपमा आ–आफ्नो जिम्मेवारी एवम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 
निर्मला हत्या प्रकरणमा प्रहरी अनुसन्धान सम्बन्धी संचारकर्मीद्वारा राखिएको जिज्ञासाको जवाफदिदै प्रहरी महानिरीक्षक खनालले घटना अनुसन्धानमा नेपाल प्रहरीको प्रयास जारी रहेको बताउनुभयो । खनालले संघीय प्रहरी ऐन, प्रहरीको भूमिका लगायत अन्य पक्षमा सरकारमा सुझाव पेश गरिएको जानकारी दिनुभयो । प्रहरी संगठन थप सुदृढ गर्ने निरन्तर प्रकृया भएको बताउँदै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, ‘हामी पारदर्शी हुन चाहन्छौं, संगठनलाई नेपाल प्रहरीमा यस्तै थियो भन्ने जस्ता नकारात्मक धारणालाई न्यून हैन शून्य बनाउन चाहन्छौं ।’  नेपाल प्रहरीमा प्रविधिको विकास गर्दै नीतिगत एवं प्रशासनिक गतिविधिमा उपलब्धीमूलक कार्य गर्न प्रहरी संगठन दृढ रहँदै आएको समेत उहाँले चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रवक्तारसूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले २०७५ सालमा नेपाल प्रहरीबाट सम्पादन भएका कार्य र हासिल उपलब्धीहरु सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो । पछिल्लो समय नेपाल प्रहरीबाट भएका समसायिक बिषयमाथि प्रकाश पार्दै सुवेदीले हालै कार्यान्वयनमा ल्याइएको समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत भएका कार्यक्रम संचालन भएको जानकारी दिनुभयो । कार्यक्रममा सुवेदीले साझेदारीका संरचनाहरू, समुदाय–प्रहरी साझेदारी कार्यान्वयनका लागि साझेदारहरूको अभिमूखीकरण, सामुदायिक सचेतना कार्यक्रम, सिसिटिभि जडान साथै सो कार्यक्रम लागू भए पछि फरार अभियुक्त पक्राउ, अवैध हातहतियार नियन्त्रण, लागूऔषध तथा अवैध मदिरा नियन्त्रण सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । 
अपराध अनुसन्धान र नियन्त्रणतर्फ मानव बेचबिखन र साइबर अपराधको बढ्दो चुनौतिलाई सम्बोधन गर्नका लागि बिशिष्टिकृत इकाईको स्थापना तथा क्षमता अभिबृद्धि गरिएको सुवेदीको भनाई थियो । प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले शान्ति सुरक्षामा प्रहरीको गतिशीलता, अपराध अनुसन्धानतर्फ पक्राउ विवरण, मुद्दा दर्ता, लागूऔषध बरामद, अवैध हातहतियार तथा विस्फोटक पदार्थ बरामद, अवैध सुन बरामद, राजस्व चुहावट नियन्त्रण, राजस्व योगदान तथा इन्टरपोलबाट जारी भएका नोटिस, विपद् उद्धारमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका सम्बन्धी जानकारी दिनुभयो । नेपाल प्रहरीका प्रशासनिक गतिविधि, तालिम कार्यक्रम, कार्वाही तथा पुरस्कार, प्रहरी कल्याण कोषबाट सञ्चालित कल्याणकारी कार्यक्रमहरू, भौतिक पूर्वाधार, अन्तर्रा्ष्ट्रिय समझदारी र उपलब्धी, स्रोत व्यवस्थापन, आर्थिक सुशासन, सूचना तथा सञ्चार प्रविधि एवम् भावी योजनाबारे भएका पछिल्लो विवरण सुवेदीले प्रस्तुत गर्नु भएको थियो । 

पुरस्कार तथा प्रशंसापत्र वितरण 

यसैबीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको बेरुजु फर्छ्यौगटमा उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभएको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा खनालले उनीहरुलाई पुरस्कृत गर्नु भएको हो । पुरस्कृत हुने प्रहरी कर्मचारीहरुमा प्रहरी नायव महानिरीक्षक कमल बहादुर जिटी, प्रहरी बरिष्ठ उपरीक्षक दिपक थापा, प्रहरी नायव उपरीक्षकद्वय टेकबहादुर कार्की तथा मदन कुमार थापा, प्रहरी निरीक्षकहरु मातृका प्रसाद गुरागाई, सुमन कुमार थापा, नवराज सापकोटा तथा दिनेश तिमिल्सिना र प्रहरी जवान फनाधर खनाल रहनुभएको छ । 
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सर्वोत्कृष्ट काम गरेमा इज्जत र प्रतिष्ठा बढ्ने चर्चा गर्दै संगठनको कामलाई मर्यादित बनाउन आफ्नो ज्ञान, विवेक लगाई अझ बढी उर्जाका साथ काम गर्नुपर्ने बताउनुभयो । उत्कृष्ट कामको उच्च कदर हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले आगामी दिनमा पनि त्रुटीरहित तरिकाले काम गर्नुपर्नेमा जोड दिनुभयो । आ.व. २०७३÷७४ सम्म नेपाल प्रहरीमा कायम कूल बेरुजुमध्ये समग्रमा ८५.१४ प्रतिशत बेरुजु फर्छ्यौट गरिएको र गृह मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरुमध्ये बेरुजु फर्छ्यौरटमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएपछि नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णय अनुसार उहाँहरुलाई पुरस्कृत गरिएको हो । 
यसअघि वैशाख ५ गते गृह मन्त्रालयमा आयोजित समारोहमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट भए अनुरुप नगद ८ हजार रुपैयाँ सहित प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु