मेयरको धम्कीपछि सुनसरीका पत्रकारले प्रशासनमा सुरक्षा मागे

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई धम्क्याएपछि बुधबार नेपाल पत्रकार महासंघ सुनसरी शाखाले सुरक्षा माग गर्दै प्रहरी र प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

मेयर चौधरीले मंगलबार पत्रकार विराट अनुपमलाई कालोमोसो दल्ने र नाकको हड्डी भाँच्ने भन्दै धम्क्याएका थिए । मेयरको उक्त धम्कीपछि सुनसरीका पत्रकार असुरक्षित भएको भन्दै महासंघले सुरक्षाको प्रत्याभुति गराउन जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष अमर खड्काले सुरक्षाको वातावरण नबनेसम्म इटहरी उपमहानगरपालिकको सम्पूर्ण कार्यक्रम बहिष्कार गर्न सञ्चार जगतलाई आवहन गरिएको बताए । ‘समग्र सुनसरी जिल्लाका पत्रकार असुरक्षित बनेका छौं,’ खड्काले भने, ‘इटहरीका पत्रकार थप जोखिममा छन् ।’

शाखाको बैठकले उपमहानगरपालिकाको प्रेस प्रतिको दृष्टिकोण सार्वजनिक गर्न माग गर्ने निर्णय गरेको छ । त्यसैगरी मेयर चौधरी आवद्ध नेपाल कम्युनिस्ट पार्टीको प्रेस प्रतिको दृष्टिकोणसमेत सार्वजनिक गर्न बैठकले माग गरेको खड्काले बताए ।



प्रतिक्रियाहरु