साना–होटल व्यवसायीका समस्यै–समस्या, अपराध नियन्त्रणकालागि आचारसंहिता बनाइने


भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रमा अपराध नियन्त्रणकालागि एकै किसिमको आचारसंहिता निर्माण गरी लागू गर्न व्यवसायी तयार भएका छन् । खाजा घर र साना होटलमा विक्री हुने मदिराका कारण अपराध बृद्धि भएको भन्दै महानगरी प्रहरी वृत्त ठिमीले अपराध नियन्त्रण र न्युनिकरणकालागि नगर क्षेत्रका व्यवसायीसँग बुधबार अन्तरक्रिया गरेको थियो । कार्यक्रममा सहभागी साना होटल र खाजाघर सन्चालक÷व्यवसायीले आचार संहिता निर्माण गरी लागू गर्न सहमत भएका डिएसपी शान्तिराज कोइरालाले बताए ।
प्रहरीले पहिलो पटक आयोजना गरेको यस्तो प्रकृतिको छलफलमा सहभागी व्यवसायीले व्यवसाय सञ्चालन गरेर खाने वातावरण नरहेको गुनासो गरे । सहभागीमध्ये अधिकांश व्यवसायीले पसल खोल्ने समय, पसल दर्ता, प्यान दर्ता, कर चुक्ता जस्ता विभिन्न विषयमा आफुहरुलाई दुःख दिने गरेको गुनासो गरे । ‘सानो बजार छ, यहाँ ठूलो व्यवसाय गर्ने सम्भावना छैन, न त हामीसँग त्यति धेरै पुँजी नै छ,’ एक व्यवसायीले भने, ‘विहानै जाँड खान कोही आउदैन, साँझ पर्न नपाई प्रहरी बन्द गर भन्दै आइपुग्छन् ।’
व्यवसायीले साना व्यवसायीलाई व्यापार गरेर दुई पैसा आम्दानी गर्ने र परिवार पाल्ने बातावरण बनाइदिन जनप्रतिनिधि र प्रशासनसँग आग्रह गरे । सहभागी धेरैले एकै किसिमका समस्या सुनाए । कार्यक्रममा नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, महानगरी प्रहरी परिसर प्रमुख एसपी सविन प्रधान र आन्तरिक राजस्व कार्यालयका प्रतिनिधि समेत देखेपछि स्थानीयले दर्जनौँ समस्याको पोको खोलेका हुन् । नगर क्षेत्रका अधिकांश पसलहरु नगरपालिकामा समेत दर्ता छैनन् । साना व्यवसायीले नियमविपरीत एकै ठाउँमा किराना सामान, चुरोट, सुर्ती, खैनी, मदिराजन्य पदार्थ र खाजा परिकारसमेत विक्री वितरण गर्छन् ।
कानुनतः चुरोट र किराना सामाग्री एकै ठाउँमा विक्री गर्न पाइदैन । चुरोट र मदिराकालागि छुट्टा–छुट्टै अनुमति लिनुपर्छ । ‘उहाँहरुका धेरै समस्या रहेछन्, जुन हामीले पनि बुझ्न पर्ने थियो,’ डिएसपी कोइरालाले भने, ‘अब व्यवसायीलाई पनि सहज र प्रहरीलाई पनि सहज हुने गरी सुरक्षा व्यवस्था मिलाउन आचारसंहिता बनाउने निर्णय भएको छ ।’ व्यवसायीले पसलमा ग्राहकले समेत देख्नेगरी आचारसंहिता बनाएर टाँस्ने सहमति गरेका हुन् । प्रहरीले व्यवसायीका प्रतिनिधिसँग पुनः छलफल गरेर निर्णय गर्ने र आचारसंहिता तय गर्ने डिएसपी कोइरालाले बताए । हाल सुरक्षाको दृष्टि भन्दै प्रहरीले ९ बजेसम्म मात्रै पसल खुला गर्न दिने गरेको छ । तर, साना होटल र खाजाघरमा साँझ परेपछि मात्रै ग्राहक आउने व्यवसायीको गुनासो छ ।
व्यवसायीसँग बालबालिकालाई श्रममा नलगाउने, झै–झगडा र शंकास्पद गतिविधि गर्ने ग्राहक आए प्रहरीलाई खबर गर्ने, साँघुरा सडकमा पसलअघि हुने पार्किङले समस्या हुने भएकाले पार्किङको व्यवस्थापन गर्नुपर्ने लगायत विषयमा समेत छलफल र मौखिक सहमति भएको छ । व्यवसायीलाई रातिसम्म पसल खोल्ने भए पसल अगाडि सीसीटीभी जडान गर्न प्रहरीले सुझाव दिएको छ । प्रहरीले व्यवसायीलाई पसलमा आउने र खाने ग्राहकको पहिचान गर्न समेत आग्रह गरेको छ । ‘हामीले अपराधिक सूचना पाएर कतिपय ठाउँमा पुग्छौँ, तर खाजा खाएर बसेको ग्राहकलाई व्यवसायीले चिन्दैनौँ भनिदिनुहुन्छ,’ डिएसपी कोइरालाले भने, ‘त्यसैले ग्राहकका बारेमा सामान्य परिचय अनिवार्य लिन आग्रह गरेका छौँ ।’
कार्यक्रममा नगर क्षेत्रका चार सय जनाभन्दा बढी साना होटल र खाजाघरका सन्चालक÷व्यवसायीहरु सहभागी थिए । व्यवसायीलाई आन्तरिक राजस्व कार्यालयले करको दायरामा आउन गरेको छ । नगर प्रमुख मदनसुन्दर श्रेष्ठले व्यवसायीले आफ्नो पसल वडा कार्यालयमा गएर दर्ता गरेरमात्रै सन्चालन गर्न आग्रह गरे । उनले व्यवसायीलाई व्यवसाय गरेर खाने बातावरण बनाउन नगरपालिका र प्रहरीले सहकार्य गर्ने बताए । व्यवसायीले भने घरबेटीले लालपुर्जाको फोटोकपी दिन र घरभाडाको सम्झौता गर्न नमान्ने गरेका गुनासो गरेका थिए ।  

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु