२० ज्येष्ठ नागरिकलाई सुर्यबिनायक नगरपालिकाको सम्मान


भक्तपुर । सुर्यबिनायक नगरपालिकाले बिभिन्न वडाका २० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नगरपालिकाले नगरपालिका अन्तर्गत प्रत्येक वडाबाट एक बृद्ध र एक बृद्धा गरी २ जनाका दरले १० वटा वडाबाट २० जनालाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा आफैं ज्येष्ठ नागरिक भए पनि ज्येष्ठ नागरिककै सेवामा सकृय ब्यक्तित्व हिरालाल तिमिल्सिना समेत हुनुहुन्छ । उहाँहरुलाई नगर प्रमुख बाशुदेव थापाले सम्मानपत्र, पोषणयुक्त खानेकुरा र पोशाकसहित सम्मानित गर्नु भएको थियो । नगर प्रमुख थापाले सो सबै भन्दा बढी उमेरका वडा नं.९ बस्ने ९८ बर्षिया कान्छीमाया भण्डारी र वडा नं.६ बस्ने ज्ञानबहादुर धोजुलाई बिशेष सम्मान गर्नु भएको थियो ।


कार्यक्रमलाई सम्बोधनगर्दै नगरपालिकाका प्रमुख बासुदेव थापाले आफु निर्वाचित भएर आएदेखिनै ज्येष्ठ नागरिकको हितका लागि लागि बिशेष पहल गर्दै आएको बताउनुभयो । नगरपालिकाले ज्येष्ठ नागरिकलाई अपमान गर्नेहरुलाई  नगरबाट उपलब्ध हुने सेवाबाट बन्चित गर्ने नपाईने नीति अघि सारेको नगर प्रमुख थापाले बताउनुभयो । नगरपालिकाका प्रमुख थापाले ज्येष्ठ नागरिक अनुभवका पुञ्ज भएको बताउँदै उमेरकै कारण बिभेद गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख जुना बस्नेत, प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, नपाका ८ नं. वडाका वडाध्यक्ष तथा सामाजिक बिकास समिति संयोजक किरण थापा, ७ नं. वडाका वडाध्यक्ष तथा पुर्वाधार बिकास समिति संयोजक रबिन्द्र सापकोटा र ९ नं.वडाका वडाध्यक्ष तथा नपाका प्रबक्ता उपेन्द्र केसी तथा ज्येष्ठ नागरिक टंकनाथ भण्डारी लगायतले ज्येष्ठ नागरिकले समाजमा सम्मानपुर्वक बाँच्न पाउने अवस्थाका लागि सबैले पहल गर्नु पर्नेमा जोड दिनुभयो ।


 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु