यसरी नापिँदैछ सगरमाथाको उचाइ

 

काठमाण्डौ । नेपालले पहिलो पटक आफैले आधिकारिक रुपमा सगरमाथाको उचाइ मापन गर्न लागेको छ ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका चारजना कर्मचारीको टोली एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजनाका साथ त्यसतर्फ लागेका हुन् ।

सगरमाथाको उचाइ नाप्न जाने टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल हुनुहुन्छ । 

नेपाल सरकारको तर्फबाट पहिलो पटक आधिकारिक रुपमा सरगमाथाको उचाइ मापन हुने भएको हुँदा पनि यसलाई विशेष महत्व र उत्साहका साथ हेरिएको छ ।

प्रधानमन्त्री ओलीले टाेलीलाई बिदाइ गर्ने क्रममा ती टोलीले मापन गरेर ल्याएको उचाइलाई नै आधिकारिक मानिने बताउनुभएको छ । ‘इञ्च/इञ्चको ख्याल गरेर मापन गर्नुहोस् र स्वास्थ्यलाई पनि ख्याल राख्नुहोस्,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ । 

 

तिब्बततर्फबाट देखिएकाे सगरमाथातिब्बततर्फबाट देखिएकाे सगरमाथा

 

विश्वको सर्वाेच्च शिखर सगरमाथा मापनको काम ७०/८० प्रतिशत काम सकिएको नापी विभागका प्रवक्ता दामोदर ढकालले उज्यालो अनलाइनलाई बताउनुभयो ।

‘सिरहाको मडारदेखि सोलुखुम्बुको पतालेसम्मको मापन कार्य सकिएको छ, अब को १० /१५ दिनमा टोलीले सगरमाथाको आधार शिविरबाट उचाइ नाप्न सुरु गर्नेछ’ , उहाँले भन्नुभयो ।  

‘प्रिसाइस लेभलिङ, ट्रिगोनोमेट्रिक लेभलिङ, ग्र्याभिटी सर्भे र जीएनएसएस (ग्लाेबल नेभिगेसन स्याटेलाइट सिस्टम सर्भे) यी चार प्रविधिको प्रयोग गरेर सगरमाथाको उचाइ मापन गरिनेछ । यसका लागि १२ छुट्टै सर्वेक्षण स्टेशनमा २ सय ८५ प्वाइन्ट तोकिएको छ’ , प्रवक्ता ढकालले भन्नुभयो । जसमध्ये १५३ प्वाइन्टको मापन सकिएको छ । उहाँका अनुसार, ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम रिसभरको माध्यमबाट यी मेसिनले सगरमाथाको चुचुरोमा स्याटेलाइटले पठाएका डाटाहरु संकलन गर्नेछ । 

‘यो आर्थिक वर्षमा सगरमाथाको उचाइ मापन गरिसक्ने लक्ष्य राखेका छौं । केही अवरोध नभएमा आगामी कार्तिक–मङ्सिरसम्ममा फिल्डको सबै काम सकिनेछ । केही अवरोध भएमा ३/४ महिना लम्बिन सक्छ’, उहाँले भन्नुभयो । फिल्डको काम सकिएपछि संकलन गरिएको तथ्यांकलाई काँटछाँट र विश्लेषण गर्ने विभागको योजना रहेको छ । यो विधि सकिएपछि विशेष कार्यक्रम गरेर सगरमाथाको नयाँ उचाइको बारेमा जानकारी गराइने प्रवक्ता ढकालले बताउनुभयो ।  

प्रवक्ता ढकाल भन्नुहुन्छ, ‘भौगोलिक विकटता र उचाइका कारण त्रिकोणमितीय समतुलन नापी विधिले सगरमाथाको चुचुरोमा पुग्न असम्भव हुने हुँदा जीएनएसएस रिसिभरको सहायता लिन्छौं ।’ रिसिभरको माध्यमद्वारा डाटा संकलनका साथै सगरमाथाको तापक्रम, आद्रता र गुरुत्वाकर्षणजस्ता मौसमजन्य तथ्यांक संकलन गरिनेछ ।  

पहिलाे पटक नेपाल आफैले सगरमाथाकाे उचाइ नाप्दै

२०७२ सालको भूकम्प गएसँगै आमनागरिकमा सगरमाथाको उचाइमा के भयो भनेर एउटा चासो उब्जिएको थियो । आधिकारिक रुपमा सगरमाथाको उचाइ समुद्र सतहदेखि २९ हजार २९ फिट (८ हजार ८ सय ४८) भए पनि जमिनमुनि रहेको टेक्टोनिक प्लेटमा हलचलका कारण १ इञ्च (२.५४) खुम्चिएको आशंका गरिएको छ । त्यसपछि सरकारले आधिकारिकरुपमा नै सगरमाथाको उचाइ नाप्ने योजना बनाएको थियो ।  

यसअघि पनि अमेरिका र चीनले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए । सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ समुद्र सतहदेखि ८ हजार ८ सय ४८ मिटर रहेको बताएको थियो ।

 

सर जर्ज एभरेष्टसर जर्ज एभरेष्ट

 

फेरि सन् १९९९ मा अमेरिकी टोलीले मापन गर्दा सगरमाथाको उचाइ बढेर ८ हजार ८ सय ५० मिटर भएको देखाएको थियो । ‘सर्वेक्षक तथा भूगोलका ज्ञाता सर जर्ज एभरेष्टले सन् १८४० को दशकमा पटक पटक गरेर सगरमाथाको उचाइ मापन गरेका थिए । उनको मापनमा सगरमाथाको उचाइ २९ हजार फिट (८ हजार ८ सय ३९ मिटर) देखिएको थियो’, लाइभ साइन्सले लेखेको छ । 

यसपटक भने नेपाल सरकारले आफै सर्वाेच्च शिखर सगरमाथाको उचाइ मापन गर्न लागेको हो । यसलाई विश्वले नै चासाेका साथ हेरिरहेकाे छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु