नक्कली नोट बनाउने मेशिन सहित तीन जना पक्राउ


काठमाडौं । रजाधानीबाट नक्कली नोट बनाउंने मेशिनसहित तीन जना पक्राउ परेका छन् । नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न समानहरू सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ती बिपुल चोक बस्ने दोलखा मेलुङ गाउँपालिका ७ का पृथ्वी राज भन्ने २८ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपाली रहेका छन् ।
    नयाँबस्ती बिपुल चोकस्थित कोठा भाडामा लिई नक्कली नोटहरू छापीरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । उनीहरुबाट नक्कली नोट छाप्ने मेसिन, नेपाली नक्कली नोट र सोको लागि प्रयोग हुने सामाग्री सहित उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट नेपाली रुपैयाँ १ हजार जस्तो देखिने ६५५७१० नम्बर उल्लेख भएको सगरमाथाको चिन्ह, गभर्नरको सहिछाप अंकित भएको र पछाडी भाग सादा भएको कागज पाना १७ थान, अगाडितर्फको भाग खाली अवस्थामा रहेको पछाडितर्फ हात्तीको चिन्ह भएको कागज पाना १५ थान बरामद भएको छ ।
त्यसैगरी अगाडि र पछाडीको भाग केही टाँसिएको ६५५७१० नम्बर उल्लेख भएको कागज १ थान, अगाडिको भाग मात्रै रहेको ६५५७१० नम्बर उल्लेख गरेको कागज १ थान गरी जम्मा ३४ थान विभिन्न दरका सक्कली नेपाली नगद १६ हजार १ सय ९५ रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले पातलो चिप्लो कागज १ सय ४२  थान र काटेको अवस्थाको कागज १ सय ४९ थान, बाक्लो कागज पाना ६० थान, रंगीन फोटोकपी मेसिन, कम्प्युटर २ थान, सियो, क्यामेरा र कैची लगायतका विभिन्न सामान प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु