सूर्यविनायक–जडिबुटी सडक खण्डमा लेन प्रयोगको नयाँ नियम

काठमाडौँ । ट्राफिक प्रहरीले सूर्यविनायक–जडिबुटी ६ लेन सडक खण्डमा यात्रुबाहक, मालबाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ लेनबाट मात्र गुड्न पाउने नयाँ व्यवस्ता लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार निजी र साना सवारी साधनहरू भने सधैँ दाहिने लेनबाट मात्र चलाउनु पर्नेछ ।

सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रूपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति बसाउन नयाँ नियम लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

मासिक दुई सयको हाराहारीमा सवारी दुर्घटना
देशकै पहिलो ६ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक दुई सयको हाराहारीमा  सडक दुर्घटना हुने गरेको ट्राफिक प्रहरी महाशाखाको तथ्यांक छ । सात किलोमिटर लम्बाई रहेको उक्त सडक खण्डमा प्रतिमिनेट ५१ वटा मोटरसाइकल र २३ वटा चार पांग्रे सवारी साधन गुड्ने गर्छन् ।

‘सडकमा लेन हुँदा पनि सवारी चालकहरूले सही लेन प्रयोग नगरेको र लेन परिवर्तन गर्दा लापरबाही गरेकाले सडक दुर्घटना हुने गरेको छ,’ महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले भने, ‘सवारी दुर्घटना न्यूनीकरण गरी उक्त सडकलाई नमूना बनाउन लेन अनुशासन नियम कार्यान्वयनमा ल्याइएको हो ।’

नमूना र उदारणीय सडकखण्ड
धुलिखेल–सिन्धुली–बर्दिबास सडक भई पूर्वी नेपालतर्फ जाने सवारी साधनहरू यही सडक भएर गुड्छन् र यही सडक भएर राजधानी पनि भित्रिन्छन् । यस सडकमा सवारी साधनको चाप दिनानुदिन बढिरहेको छ । छिमेकी चीनसँगको व्यापारिक नाका तातोपानी खुलेपछि यो सडकमा अझै सवारी साधनको चाप बढ्ने निश्चित छ । 

ढकालका अनुसार यस ६ लेनको सडकमा लेनअनुसार सवारी साधनहरू गुडाउनका लागि निर्माण गरिएको हो र यस नियमको कार्यान्वयन पश्चात दैशकै नमूना र उदारणीय सडकखण्ड हुनेछ । उनले यसका लागि सम्पूर्ण सडक प्रयोकर्ताहरूले नियम पालना र सरोकारवाला निकायहरूलाई आवश्यक सहयोग र समन्वयका लागि अनुरोध समेत गरे ।

प्रचारप्रसारका लागि १० हजार पर्चा पम्पलेट 
लेन प्रयोग सम्बन्धि जानकारी दिन ट्राफिक प्रहरीले १० हजारभन्दा बढी पर्चा तथा पम्पलेट वितरण गरेको छ भने ८० वटा जानकारीमूलक बोर्डहरू राखिएका छन् । उक्त सडकखण्डको सातवटा चोकहरूमा लेन प्रयोग सम्बन्धि प्ले कार्डहरू बोकेर ट्राफिक प्रहरीहरूद्वारा जानकारी समेत प्रदान गर्ने गरिएको छ ।

महाशाखा प्रमुख ढकालका अनुसार तत्काललाई नयाँ नियम पालनाका लागि प्रहरी नायब उपरीक्षकको कमान्डमा ट्राफिक प्रहरी र जनपद प्रहरीको थप टोली खटाएर सम्झाउने गरिएको छ । केही समयपश्चात नियम नमान्ने सवारी साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सयसम्म जरिवाना गर्न सक्ने र सोभन्दा बढी यातायात व्यवस्था कार्यालयमार्फत कारबाही हुने उनले बताए ।



प्रतिक्रियाहरु