विमानस्थलकालागि कास्कीको रिट्ठेपानी डाँडा काटिँदै

कास्की । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल अबको ६ महिनाभित्र निर्माण सकिने भएको छ । हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माण कार्य ६ महिनाभित्र सकिने विमानस्थल आयोजनाले जनाएको छ ।
 
हालको निर्माण प्रगतिलाई हेर्दा पोखरा अन्तरराष्ट्रिय विमानस्थल कोभिड महामारी भए पनि तोकिएकै समयमा सम्पन्न हुने देखिन्छ । यो विमानस्थल भैरहवामा निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थलभन्दा पहिले नै सञ्चालनमा आउने आँकलन गरिएको छ । भैरहवा विमानस्थलको ९३ प्रतिशत भौतिक प्रगति छ । यो विमानस्थलमा पनि प्राविधिक जनशक्ति अभावमा उपकरण जडानको कार्य ढिला भइरहेको छ । अहिलेसम्मको कामको समग्र प्रगति हेर्दा भैरहवाभन्दा पोखरा नै चाँडै सञ्चालनमा आउने देखिएको हो । पोखरा विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति र करीब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ । तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक्तानी दिइने भएकाले वित्तीय प्रगति कम देखिए पनि त्यो भुक्तानी गर्दा स्वतःवित्तीय प्रगति माथि पुग्ने विमानस्थल आयोजनाले जनाएको छ ।
     
विमानस्थल निर्माण हालको प्रगति र उपकरण जडानसहित अबको छ महिनाभित्र विमानस्थल निर्माण सम्पन्न हुने विमानस्थल आयोजना प्रमुख इञ्जिनीयर विनेश मुनकर्मीले जानकारी दिए । “अहिलेसम्म निर्माण व्यवसायीले म्याद थप्नुपर्ने भनेका छैनन् । उपकरण जडानको काम चारदेखि छ महिना लाग्छ । पचास प्रतिशतभन्दा बढी उपकरण बाँकी पनि केही समयभित्रै आउने भएकाले छ महिनाभित्रै जडानको काम सकिनेछ”, उनले भने । पुस २४



प्रतिक्रियाहरु